काठमाडौँ । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको बीस वर्षपछि सुकिलुम्बा विमानस्थलमा साताको आइतबार र बिहीबार काठमाडौँदेखि उडान भर्न लागेको तारा एयरका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयूक्त पहलमा उक्त विमानस्थलमा साताको दुई नियमित उडान हुन लागेको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि २०७५ जेठ २१ गते तारा एयरको ट्विनेटर जहाजले परीक्षण उडान गरेको थियो । फागुन ११ देखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२:३० बजे उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राको लागि हाल एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ ।
इलाम नगरपालिका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एयरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेको बताए । आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने उनको भनाइ छ । इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ ।
नेपाल पर्यटन बोर्डका सदस्य एवम् पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे । पूर्व जान चाहने आन्तरिक पर्यटकको संख्या बढिरहेपनि सडक यातायात झञ्झटिलो र समय लाग्ने भएकोले हवाई यात्राबाट पर्यटक संख्या बढ्ने उनकाे भनाइ छ। इलाममा सन्दकपुर, माइपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन, पशुपतिनगर लगायतका पर्यटकीय आकर्षणका केन्द्र हुन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्किम लगायत क्षेत्रका स्थानीयलाई हवाई यात्राको लागि सहज हुनेछ ।
कान्तीपुर