काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे फेरिरहने बोलिका कारण देउवा उनीहरूप्रति सशंकित बनेका छन्। माओवादीको ४ फागुनमा बसेको बैठकले यथास्थितिमा एमसीसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरेको थियो। एमसीसी टेबुल भएको छ। तर, माओवादी अहिले पनि सरकारमै छ।
एकीकृत समाजवादीका निरन्तरका बैठकले पनि एमसीसीको विपक्षमा उभिने नै निर्णय गरेका छन्। एकीकृत समाजवादीको सोमबार बसेको सचिवालय बैठकले त झनै एमसीसीका विपक्षमा रहने निर्णय नै गरेको छ। एमसीसीका पक्षमा मतदान गर्दा पार्टीमा ह्विप भने नलगाउने एकीकृत समाजवादीको निर्णय छ।
एमसीसीका विषयमा सत्ता साझेदार जनता समाजवादी पनि अनिर्णीत छ। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका पक्षमा छन्। तर, अर्का अध्यक्ष उपेन्द्र यादवले मंगलबार माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग एमसीसीको विपक्षमा उभिने सहमति गरेका छन्। अर्को सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चा एमसीसी खारेज हुनुपर्ने पक्षमा छ।
पाँच दलीय गठबन्धनका पाँच थरी विचारका कारण गठबन्धन अप्ठ्यारोमा परेको छ। गठबन्धनको भविष्य धरमराउँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ रणनीतिका साथअघि बढ्ने मनस्थितिमा देखिन्छन्। सत्ता गठबन्धनबाट साथ नपाए पनि पार्टीभित्रबाट साथ पाएका देउवा गठबन्धन भत्किनेभन्दा पनि एमसीसी जसरी पनि पास गर्ने तयारीमा छन्।
त्यसैले एमसीसी संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा पेस भएपछि प्रधानमन्त्री देउवाले सत्ता र सत्ताबाहिर रहेका दलका नेताहरूको भेटघाट र छलफललाई तीव्रता दिएका छन्।
सत्ता गठबन्धनका तीन दलले एमसीसीमा मतदान हुँदा विपक्षमा उभिने अभिव्यक्ति दिँदै विपक्षमा छलफल गर्न नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। सोही अनुरूप सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार संयुक्त छलफल गरेका थिए। मंगलबार नै मोहन वैद्य र पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल भयो।
मंगलबार नै अमेरिकी राजदूत र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि भेटवार्ता भयो। उनीहरूको भेटवार्तापछि ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। उनले आफूसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाललाई पनि साथमै लगेका थिए।
एमसीसीबारे सत्ता गठबन्धनमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा ५ फागुनमा बालकोट पुगेका थिए। त्यसयता १० गते फेरि दुई नेताबीच छलफल भएको छ। एमसीसी सदनमा अनुमोदनका लागि मतदान हुँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट धोका पाइने आकलन प्रधानमन्त्रीले गरेको स्रोतको दाबी छ।
त्यही कुरालाई मध्यनजर गर्दै देउवाले एमालेसँगको संवादलाई निरन्तरता दिएका छन्। देउवा सत्ता जोगाउनेभन्दा पनि एमसीसी पास गराउने मनसायमा देखिन्छन्। त्यसैले देउवाले ओलीलाई बालुवाटार बोलाएको बताइएको छ।
छलफलका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी सदनबाट अनुमोदन गर्न ओलीसँग सहयोग मागेको बताइएको छ। ओलीले पनि आफ्नो पार्टीले राखेका माग सम्बोधन गर्दै आफूहरूलाई संसद्मा हुने छलफलमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए।
एमालेले पार्टीको सिफारिसबमोजिम १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ। त्यसका साथै सभामुख अग्निप्रसाद सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने पनि उसको माग छ। यी माग मध्ये कुनै एक माग सम्बोधन हुनुपर्ने अडानमा एमाले छ। तर, देउवा तत्कालै यी मागलाई पनि सम्बोधन गर्न सक्ने अवस्थामा छैनन्।
यद्यपी सत्ता गठबन्धनबाटै असहयोग पाइरहेका देउवा प्रमुख प्रतिपक्षीसँग नजिकिन भने खोजिरहेका छन्। प्रमुख प्रतिपक्षी दलले एमसीसीका विपक्षमा अभिव्यक्ति नदिएका कारण पनि एक ठाउँमा आउन सक्ने संकेत देउवाले देखेको बताइएको छ।
देउवा तत्काल गठबन्धन नभत्कियोस् भन्ने पनि चाहन्छन्। गठबन्धनका दलहरूको सहयोगमै एमसीसी पास गर्ने र निर्वाचनसम्मसँगै जाने योजना देउवाको छ।
‘प्रधानमन्त्रीज्यू गठबन्धन कायमै रहोस्, चुनावसम्म जान सकियोस् भन्नेमा हुनुहुन्छ,’ देउवा निकट नेता मीन विश्वकर्मा भन्छन्, ‘तर, गठबन्धनका दलहरूकै कारण गठबन्धन तोडिने खतरा भने बढेको छ। प्रधानमन्त्रीले साझेदार दलका लागि कम्प्रमाइज गर्नुभएको पनि छ। अब गठबन्धनका दलले प्रधानमन्त्रीका लागि होइन, देशका लागि सहमतिमा आउने बेला भएको छ।’
त्यसो हुन नसकेको अवस्थामा देउवाले एमसीसी पारित गर्नका लागि प्रमुख प्रतिपक्षीको साथ माग्ने देखिएको छ। त्यसका लागि उनले एमालेसँगको संवादलाई निरन्तरता दिएका छन्। दाहाल र नेपालले आफूहरू एमसीसीको विपक्षमा उभिए पनि सत्ता गठबन्धनलाई कुनै फरक नपर्ने बताउँदै आएका छन्।
तर, कांग्रेसले आफ्नै नेतृत्वको सरकारको विपक्षमा उभिएर सरकारको बसिरहनुको औचित्य नहुने बताउँदै आएका छन्। कांग्रेस नेता गगन थापाले सरकारलाई असहयोग पनि गर्ने र सरकारमै बसिरहने चरित्र स्वभनिय नहुने बताएका छन्।