भवानी तावा ,
पाँचथर । हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाको संगम स्थलमा पर्ने (साविक सुभाङ, एकतिन, भारापा, नागी र थर्पू गाउँ विकास समिति) आगेजुङ गुम्बा महत्वपूर्ण छ । महाभारत लेकको एउटा अग्लो टाकुरामा रहेको आगेजुङ गुम्बा पुग्नै पर्ने गन्तव्य हो । वरिपरि घना जंगलले घेरिएको टाकुराका टुप्पामा रमणीय खुल्ला चउर छ । सोही चउरका एक छेवमा पेगोडा शैलीको साढे २ मिटर अग्लो गुम्बा छ । ढुंगाको गाह्रो, सिमेन्ट प्लाष्टर भएको टिनको छानो र छानाको बीचमा गजुर उठाइएको यो गुम्बाको नाम हो ‘साङ्छ्यो गुम्बा’ । तर गुम्बालाई आफ्नो नामबाट भन्दा ‘आगेजुङ् गुम्बा’ को नामबाट बढ्ता चिनिन्छ । आगेजुङ परापूर्व कालदेखि पशुपालको लागि उपयुक्त रहेको खर्क हो, जुन अहिले जंगलले ढाकिएको छ ।
मानव बस्ती भन्दा टाढा प्राकृतिक वातावरणमा मात्र बुद्वत्वको प्राप्ति सम्भव छ भन्ने विचारले होला, गुरु दोर्जे राङ्टोल लामाले यस ठाउँलाई आध्यात्मिक चिन्तन र अभ्यासको केन्द्र विन्दु बनाउने उद्देश्यले २०१५ सालमा गुम्बाको स्थापना गरेका थिए ।
२०१६ सालमा निर्माण कार्य पुरा गरी २०१८ सालदेखि लामा पढाउन शुरु गरिएको यस गुम्बामा विद्यार्थीहरु गुम्बाकै आवास गृहहरुमा बसेर पढ्थे । तिब्बती लिपिका बौद्द धर्मग्रन्थहरुको पठनपाठन धार्मिक पाठशाला १५ सय विद्यार्थीले उक्त गुम्बाबाट शिक्षा तथा दीक्षा लिइसकेको गुम्बाका गुरु तेन्जिङ लामाले स्मरण गराए । तेन्जिङ २०४९ सालमा स्वर्गबास भएका लामा दोर्जे राङ्टोलका जेठा छोरा हुन् ।
पाँचथर जिल्लाका लिम्बा, रवि, रानीटार, मेमेङ, सिदिन, प्राङबुङ, ओयाम, पौवासारताप लगायतका स्थानमा पनि गुम्बा छन् । यो जिल्लाकै सबै भन्दा पुरानो गुम्बा हो ।
यहाँ वर्षभरिमा दुई पटक विशेष पूजाआजा हुन्छ । साउन चौथी तिथिमा ‘ठुक्पा छेसी’ नामक पर्व मनाइन्छ ।
सबभन्दा ठूलो धार्मिक अनुष्ठान चाहि ल्होसार पर्वको अवसरमा गरिन्छ । गुम्बाको नाममा ३५ रोपनी जग्गा भएता पनि खेती योग्य जमिन कम र वनजंगल बढी भएको हुनाले जग्गाको आम्दानी नगन्य छ । भक्तजनहरुद्वारा छढाइएको दान दक्षिणा नै गुम्बाको मुख्या आर्थिक श्रोत हो ।
तर अहिले गुम्बामा लामा पढाई हुदैन । आर्थिक श्रोतमा कमी रहेकै कारण गुम्बाको शैक्षिक बन्द गर्नु परेको तीतो सत्य गुरु तेन्जिङ स्वीकार्छन ।
गुम्बा पहाडको टाकुरामा भएको हुनाले यहाँ खानेपानी विकराल समस्याको रुपमा रहेको छ । पानीको श्रोत दुई घण्टाको बाटोमा पर्छ । पुस र माघ महिनामा हिउँ पर्दा पानी बनाएर खानु पर्ने बाध्यता छ ।
गुम्बालाई कर्कट पाताको छाना लगाउन २०३० सालमा मेची अञ्चालाधीशको कार्यालयले सहयोग गरेको थियो भने स्व.श्री ५ वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका अवसरमा राजाबाट गुम्बाको लागि गणेशको मुर्ति एक थान, पञ्चाअमृत चढाउने कस्कुराको कचौरा एक थान, करुवा र कलश एक थान तथा झ्याम्टा एक थान प्राप्त भएको थियो । हिलिहाङ गाउँपालिका अध्यक्ष भवानी लिङदेनको अगुवाइमा शहरी विकास कार्यालयबाट कार्यक्रम स्थल ग्राउण्ड बनाउन, बाटोको स्तर सुधार गर्न र खानेपानीको टयाङ्की खरिद गर्ने रकम प्राप्त भइ खरिद तथा निर्माण भइसकेको छ ।
जम्मा दुई तलाको यो गुम्बामा तल्लो तलामा रिम्पोछेको मुर्ति र माथिल्लो तलामा बुद्वको सात फुटको अग्लो मुर्ति रहेकाछन् । गुम्बासित कस्कुटाको दियो एक सय ८ थान, ठूलो दियो ५ थान, विसौली घ्यू जाने दियो दुई थानका अतिरिक्त गुम्बाका संस्थापक लामाले प्रयोग गर्ने गरेको शंख, घण्टा, डम्बरु, तुम, साङ्दुङ् र ग्यातोम्बा रहेकाछन् । कमजोर सुरक्षा व्यवस्थाको कारण २०३६ सालमा मणि र बुद्वको मुर्ति हराएको थियो ।
हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिकाले आ–आफ्नै बजेटबाट तीन पट्टीबाट बाटो जोडेकाछन् । त्यसैले गुम्बा पुग्न सहज भएको छ । बाटो भएकोले पर्यटन र तीर्थाटनको लागि सजिलो भएकोले खुशी लागेको लामा तेन्जिङ बताउँछन् ।
यो क्षेत्र प्राकृतिक रुपमा सुन्दर, धार्मिक रुपमा महत्वपूर्ण छ । यो ठाँउमा आन्तरीक पर्यटकको आवागमन बढाउनका पर्यटकिय पूर्वाधार विकास गर्ने, प्रचारप्रसार लगायतका काम गर्नु आवश्यक छ ।