पाँचथर– थरीथरीका गुराँस फूलेर ढकमक्क देखिएको पाँचथरको सुकेपोखरी रङ्गीचङ्गी बनेको छ । गुराँसको बैगाचामा रमाउनेहरु प्रसस्त भेटिन्छन् । मेची राजमार्गको पौवाभञ्याङदेखि उकालो लागेपछि गुराँस भेटिन्छन् । सुकेपोखरीमा अनेक प्रजातीका गुराँस फूलेर हेरीरहु लागेको छ ।
घरहरुका आगमै गराँस फूलेको छ । ठुलो बनक्षेत्रमा एकैपल्ट अनेक प्रकारका गुराँस फूलेका छन् । यहाँका बासिन्दा फौदमान राईका अनुसार गुराँसमा रमाउन आउनेको संख्या ह्वातै बढेको छ । हुनपनि गराँस फूलेर यो ठाँउ हेरीरहुँ बनेको छ ।
मेची राजमार्गको नजिक पर्ने यो ठाँउमा गुराँसमा रमाउने आन्तरीक पर्यटकका कारण व्यापार व्यवसाय फस्टाएको छ । ठुलो जंगलनै गुराँस फूलेको छ । यहाँबाट छिन्तापुसम्म गुराँस फूलेको राईले बताए ।
यहाँकाे गुराँसकाे तस्विर र भिडियाेले समाजिक सञ्जाल भरीन थालेका छन् ।
पछिल्ला अध्ययन अनुसार नेपालमा ३३ प्रजातीका गुराँस पाईन्छ । ‘कञ्चनजंघा संरक्षण क्षेत्र र आसपासका गुराँसहरु’ नामक अनुसन्धानमुल पुस्तकमा उक्त कुरा उल्लेख छ । प्रदेश १ का जिल्लाहरुमा ३१ प्रजातीका गुराँस पाईने अध्ययनले देखाएको छ । गुराँस फूल्न थालेपछि पहाड र हिमालका डाडाँहरु रङ्गीविरङ्गी बनेका छन् ।
फाल्गुनदेखि जेठसम्म बेसी गुराँस फूल्ने गरेको पाईन्छ । गुराँससँग जोडिएका अनेकन बिम्बहरु छन् ।
बन तथा वातारण मन्त्रालयको बन तथा भु–संरक्षण विभागले प्रकाशित गरेको ‘गुराँस संरक्षण कार्ययोजना २०७५–२०८०’ का अनुसार नेपालका पूर्वदेखि पश्चीमसम्म ४३ जिल्लामा विभिन्न प्रजातीका गुराँस फूल्ने उल्लेख गरीएको छ । नेपालमा गुराँसका प्रजाति पाइने मिश्रित वन सहित ६ लाख ९१ हजार ५ सय ९६ हेक्टर क्षेत्र रहेको वन अनुसन्धान तथा सर्वेक्षण २०७२ मा उल्लेख छ ।
मुख्यरुपमा १ नम्बर प्रदेशमा टिएमजे (तिनजुरे, मिल्के, जलजले), ताप्लेजुङ्को पाथीभारा क्षेत्र, पाँचथरको छिन्तापु–सुकेपोखरी, च्याङ्थापु, इलाम, सोलुखुम्बु, खोटाङ, धनकुटाका गाँउहरु गुराँसका लागि चर्चित छन् । यस्तै बागमती प्रदेशका दामन–सिमभञ्याङ, रसुवा क्षेत्र लगायका क्षेत्र चर्चित छन् ।
यस्तै, गण्डकी प्रदेशका कास्की, घोडेपानी, लमजुङ, म्याग्दी गुराँसकालागि चर्चित छन् । यस्तै कर्णालीको रुकुम, मुगु, हुम्ला, डोल्पा, जुम्ला, दैलेखको गुरासेक्षेत्र चर्चित मानिन्छ । सुदुरपश्चिम प्रदेशका बझाङ्ग, बाजुरा, दार्चुला, डोटी– डडेल्धुरा–बैतडी लगायतका क्षेत्र चर्चित रहेको पाइन्छ ।
फाटाे : लिला बाेहाेरा