धनकुटा । चौबिसे गाउँपालिका–१ स्थित छ नम्बर बुधबारे बजारका छविलाल गुरुङको घरको भान्सा कोठा धनकुटामा र सुत्ने कोठा पाँचथरमा पर्छ । घरको धुरीको बीच भागले दुई जिल्लाको सिमाना छुट्याएको छ । वर्षौंदेखि बसोबास गर्दै आएका गुरुङले एउटै घरको तिरो तिर्न भने दुई जिल्ला धाउनुपर्छ । गुरुङको मात्र यो अवस्था होइन ।
बजारका २२ घरको आधा–आधा भाग दुई जिल्लामा पर्छ । स्थानीय हेमन्त श्रेष्ठका अनुसार बजारका एउटा लाइनका सबै घर धनकुटाको चौबिसे–१ र पाँचथरको मिक्लाजुङ–८ मा पर्छन् । यही कारण स्थानीयलाई प्रशासनिक कामका लागि झन्झट हुने गरेको उनले बताए ।
करिब साढे ३ आनामा बनेको विष्णुकुमार श्रेष्ठको घर पनि दुई जिल्लामा पर्छ । २ आना धनकुटा र बाँकी पाँचथरमा रहेको उनले बताए । अधिकांशको घर तथा आँगन र करेसाबारी फरक जिल्लामा रहेको उनको भनाइ छ । बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका श्रेष्ठ व्यावहारिक रूपमा यस प्रकारका समस्याको समाधान खोजिनुपर्ने बताउँछन् । ‘सामान्य कामले पनि दुई जिल्ला धाउनुपरेको छ,’ श्रेष्ठ भन्छन्, ‘यसबारे वर्षौंदेखि हामीले सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन ।’ राज्य पुनःसंरचनाअघि साविक धनकुटाको छ नम्बर बुधबारे र आधा पाँचथरको दुर्दिम्बा गाविसमा पर्थ्यो ।
राज्य पुनःसंरचनापछि स्थानीयले समाधानका लागि पहल गर्दा पनि सुनुवाइ भएको छैन । जसका कारण तिरो तिर्न, बेचबिखन गर्दा नामसारी, जग्गा राजीनामा पास, नापी, मालपोतका काममा समस्या भोग्नुपरेको स्थानीयको भनाइ छ । चौबिसे–१ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार बजारका डेढ सयमध्ये २२ घर पाँचथर र अन्य धनकुटा जिल्लामा छन् । विष्णुकुमार श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, रेवत श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, पुष्पा श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, माला चम्लागाईं, कर्ण लिम्बू, भुवान श्रेष्ठ, तुलसीनारायण श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अर्जुन श्रेष्ठ, ललितबहादुर वारी, जीतबहादुर माखिम, छविलाल गुरुङ, लेलकन माखिम, उत्तमकुमार श्रेष्ठ, रामबहादुर वारी, रामेश्वर वारीलगायतका सिंगो घर दुई जिल्लामा बाँडिएका छन् ।
दुई लाइन रहेको बजारको बीच भाग फराकिलो छ । पश्चिमतिरको भागका सबैजसो घर दुई जिल्लामा पर्छन् । पूर्वको प्रशासनिक थलो रहेको छ नम्बर बुधबारे बजारलाई २०२९ सालमा दुई जिल्लामा समायोजन गरिएको थियो । व्यावहारिक रूपमा कठिनाइ भएपछि एउटै जिल्ला कायम गरिनुपर्ने स्थानीयले माग राख्दै आए पनि सुनुवाइ नभएको हेमकर्ण तुम्साले बताए । ‘भूगोल नहेरी केन्द्रमा बसेर नक्सा बनाउँदा यो समस्या भएको हुनुपर्छ,’ उनले भने ।
उक्त बजार दुई जिल्लाको व्यापारिक केन्द्र हो । व्यावहारिक रूपमा सहज हुने भएकाले धनकुटा जिल्लामै कायम गर्न स्थानीयको माग छ । छ नम्बर बुधबारे बजारबाट धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र पुग्न गाडीबाट डेढ घण्टा र पाँचथरको मिक्लाजुङ केन्द्र पुग्न तीन घण्टा लाग्छ । चौबिसेकी उपाध्यक्ष यज्ञकुमारी रुचालले सिंगो घर नै दुई जिल्लामा पर्दा स्थानीयले सास्ती खेप्ने गुनासो आउने गरेको बताइन् । ‘त्यसबेला एउटै जिल्लामा गाभ्नेबारे बहस चलाइएको हो,’ राज्य पुनःसंरचनाका क्रममा दुई जिल्लाको भूगोल मिलाउन गठन गरिएको अन्तरजिल्ला समन्वय समितिको सचिव रहेकी उनले भनिन्, ‘प्रयास धेरै गरे पनि सफल हुन सकिएन ।’
मिक्लाजुङकी उपाध्यक्ष उर्मिला राईले पनि छ नम्बर बुधबारेवासीले आफूसँग बारम्बार समस्याबारे ध्यानाकर्षण गराएको बताइन् । ‘म निर्वाचित भएलगत्तै माथिल्लो निकायमा त्यहाँको अवस्थाबारे जानकारी गराए पनि कार्यान्वयन हुन सकेन,’ उनले भनिन्, ‘एउटै जिल्ला वा पालिकामा गाभ्न सकेमा व्यावहारिक हुन्छ ।’
इकान्तीपुरबाट