सरला रेग्मी,
चैनपुर,गुफापोखरी । चौरिको घन्टिको आवाज, गुराँसको सुगन्ध र हिमालको मनोरम दृश्य काखमा राखेर बाचेको छ,गुफापोखरी । पर्यटनका लागि मात्र होइन धार्मिक महत्वको उचाइमा छ गुफापोखरी । मेन्छ्यायाम डाँडालाई शिरमा राखेर लमतन्न परेको गुफापोखरीले पुर्व देखि पश्चिम सम्म आफ्नो छुट्टै परिचय बनाएको छ । धरानबाट ८७ किलोमीटरको दुरि तय गर्दै बसन्तपुरबाट २४ किलोमीटर कच्ची सडक हुँदै गुराँसको राजधानी तिनजुरेलाई निहाल्दै गुफापोखरी पुग्न सकिन्छ । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका १ मा पर्ने पोखरी निकै आकर्षक छ । मेन्छ्यायाम डाँडामा रहेको गुफा र फेदिमा रहेको पोखरीलाई जोडेर गुफापोखरी नाम हुन गएको बुढापाका बताउछन्। पर्यटनको दृष्टिकोणबाट अत्यन्तै सुन्दर रहेको यो स्थल धार्मिक दृष्टिबाट पनि पबित्र छ । वरिपरि फराकिला डाँडा बिचमा पोखरी रहेको यो स्थल एतिहासिक महत्त्व बोकेको छ । बिचमा रहेको पोखरी निकै सफा छ । यहाँ चिताएको कुरा पूरा हुने र ठुला ठुला बिपत आइलाग्दा पाेखरीले संकेत दिने स्थानिय हरि प्रसाद खनाल बताउछन् । गुफामा झरेको पात पतिङ्गर एउटा चरा आउने र टिपेर लाने पोखरिको बिशेषता हो ।
२ हजार ८ सय ९० मिटर उचाइमा रहेको यस पोखरी निकै आकर्षक देखिन्छ । गुफापोखरी, लामपोखरी, सुकेपोखरी, जोरपोखरी, पाँचपोखरी, खोकिनपोखरीमध्ये सो क्षेत्रका कतिपय पोखरीहरु लोप भइसके । चैनपुर नगरपालिका-१, गुफाबजारमै रहेको गुफापोखरी टीएमजे क्षेत्रको सबैभन्दा ठूलो पोखरी हो ।
पोखरी भित्र सेती नाग भएकोले यस पानीलाई सुक्न नदिएको भन्ने बिश्वास स्थानिय गर्छन् ।
पाँचपोखरी, लाम पोखरी नाघेर अग्लो डाडैडाडा पुर्वतिर लाग्दा माथिबाट नै यो पोखरी देखिन्छ । मेन्छ्यायाम डाँडाबाट देखिएको पोखरिको दृष्य मनमोहक छ । बर्षातको अधिकांश समयमा कुहिरोले छोपिने गुफापोखरी हिउँदको चिसोमा बढी मुस्कुराउँछ । कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमालको दृश्य जब पोखरीमा डुबुल्की मार्छ, हिमाल र पोखरीको सौन्दर्यमा त्यतिबेला देखिने मिलन मनमोहक लाग्छ । यस पोखरीको एक किनारमा चट्टान छ । सोही चट्टानमाथि रहेको गुराँसको बुढो रुखले गुफापोखरीको अलग पहिचान बनाएको छ । हिमाली क्षेत्रको यस पोखरीमा माछापनी देखिनु अर्को आनन्द हो ।
शेर्पा जातिको बाहुल्यता रहेको गुफापोखरी बजारमा राई, लिम्बु तथा क्षेत्रीबाहुनको पनि बसोबास रहेको छ । बिषेशगरी दशै तिहार, चैत बैशाख र हिउँ परेको बेला उल्लेख्य पर्यटक आउने होटल व्यावसायी बताउछन् ।
चिसो सिरेटोले संगीत झै धुन छर्छ, पोखरिमा आफ्नै छाया हेरेर रमाउने, अंगालोभरी गुराँस बोकेर तस्बिर खिच्न, टिकटक पारखिका लागि पहिलो रोजाइ हुन सक्छ । खुल्ला चौरमा लमतन्न सुतेर आकाशतिर हेर्दै थकाइ मार्न यो सबैभन्दा सुन्दर मौका हुन सक्छ । पुर्वका पर्यटकका लागि नयाँ बर्ष, दशै तिहारमा प्रमुख गन्तब्य बनेकाे छ गुफापोखरी ।
नेपालमा पाइने ३३ प्रजातिका गुराँस मध्धे २८ प्रजातिका गुराँस समेत पाइने यस क्षेत्र पर्यटन बिकासका लागि महत्वपूर्ण छ । जैबिक बिबिधता, प्राकृतिक स्रोत तथा सामाजिक- सांस्कृतिक बिबिधताको खानिको रुपमा रहेको यो क्षेत्रमा पुग्ने सडक कच्ची रहेको छ । हरेक दिन १ हजारभन्दा बढी पर्यटक आउने यस क्षेत्रलाई थप बिकास गर्न स्थानिय सरकार र प्रदेश सरकारको ध्यान जान आवस्यक देखिन्छ ।