इलाम । लामो समयको कसरत पछि इलाममा गठबन्धन दलबीच पालिकामा भागबण्डाको टुंगो लगाइएको छ । जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी र जनता समाजबादी पार्टीबीच पालिका भागबण्डा मिलेसँगै जिल्लामा यि दलहरु मिलेर अघि बढ्ने भएका हुन् ।
समाचार श्रोतका अनुसार जिल्लाका दश पालिकामध्ये सातवटा पालिकाको प्रमुख र पाँचवटा पालिकाको उपप्रमुख काँग्रेसले पाउने भएको छ । त्यस्तै दुईवटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख नेकपा एकिकृत समाजबादील पाउने पक्का भएको छ ।एउटा पालिकाको प्रमुख र दुईवटा पालिकाको उपप्रमुख नेकपा माओबादी केन्द्रले पाउनेगरी सहमति भएको जनाइएको छ । जसमा इलाम नगरपालिका र रोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख पद दुबै नेपाली काँग्रेसले पाउने भएको छ ।
यस्तै देउमाई नगरपालिका, चुलाचुली, सन्दकपुर, फाकफोकथुम र माङसेबुङ्ग गाउँपालिकाको प्रमुख एवं सूर्योदय नगरपालिका, माई नगरपालिका, माइजोगमाई गाउँपालिकाको उपप्रमुख काँग्रेसको भागमा परेको छ । यस्तै ,नेकपा एकिकृत समाजबादीले माइजोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको प्रमुख पद पाउँदा सन्दकपुर गाउँपालिकाको उपप्रमुख पद पाउनेछ ।
यसैगरी नेकपा माओबादी केन्द्रले माई नगरपालिकाको प्रमुख पद पाउँदा फाकफोकथुम, चुलाचुली गाउँपालिका र देउमाई नगरपालिकाको उपप्रमुख पद पाउने भएको छ । जनता समाजबादी पार्टीले माङसेबुङ्ग गाउँपालिकाको उपप्रमुख पद पाउने भएको छ । अब वडाध्यक्ष पदका लागि बाकी छलफलपछि टुंगो लगाउने सहमती भएको छ ।