पाँचथर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुनका लागि मिक्लाजुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाका अध्यक्षहरुले राजिनामा दिएका छन् ।
पुनः उम्मेदवार हुनका मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिम र फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङले राजिनामा दिएका हुन् ।
नेकपा माओबादी केन्द्रबाट निर्वाचित अध्यक्ष अमरराज माखिमलाई नै पुनः उम्मेदवार बनाउने पार्टीले निणर्य गरिसकेको छ । पार्टीको निणर्य अनुसार नै पुनः मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन राजीनामा दिएको माखिमले बताए ।
२०७६ उपनिर्वाचन मार्फत बिजयी भएका फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिरबहादुर कुरुम्बाङलाई पनि नेकपा एमालले पुनः उम्मेदवार बनाउने भए पछि राजिनामा दिएका हुन् ।
मिक्लाजुङ गाउँपालिकामा वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार राई र वडा नम्वर ५ का अध्यक्ष अविसन लावती सहित ३ जना वडा सदस्यहरुले राजिनामा बुझाएका छन् ।
यस्तै, फाल्गुनन्द गाउँपालिकामा फाल्गुनन्द १ का वडाध्यक्ष होमप्रसाद आङदेम्वे, वडा नम्बर २ का अध्यक्ष बहादुरसिंह नेम्वाङ र वडा नम्वर ४ का अध्यक्ष मनवहादुर चेम्जोङ सहित ४ जना सदस्यले पनि पदवाट राजिनामा दिएका छन ।
यो गाउँपालिकाका विभिन्न वडाबाट निर्वाचित ८ जना सदस्यले पनि राजिनामा दिएको प्रमूख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले वताए ।