ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका बासिन्दाले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेका छन् । गाउँलेहरुको आम भेलाले छेतेन वालुङको अध्यक्ष उम्मेदवारमा टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको छ ।
वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरु विरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको भोटेले बताए ।गाउँलेले सहमति जुटाएका सबै उम्मेदवारले स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएको वडाध्यक्ष छेतेनले बताए । ‘सानो ठाउँमा दलगत हिसाबले नजाने र ‘तेरो पार्टी, मेरो पार्टी’ भन्ने भावना हटाउनका लागि सर्वसम्मत रुपमा सहमति गरिएको गाउँका अगुवाहरूले बताएका छन् ।
सदस्यमा मनोनयन दर्ता गराएका टासीका अनुसार वडाबाट निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन जम्मा सात जना मात्रै आएका छन् । उम्मेदवार पाँच जना र दुई जना प्रस्तावक र समर्थक मात्रै आएको टासीले बताए ।सर्वसम्मत हुन लागेका वडाध्यक्ष छेतेन २०७४ को निर्वाचनमा निवर्तमान अध्यक्षसँग एक मतले पराजित भएका थिए । ०७४ को निर्वाचनपछि गाउँमा लामो समय तिक्तता भएको भन्दै यहाँका जनप्रतिनिधि र युवा अवुगाले केही दिनदेखि सर्वसम्मत गराउने प्रयास गरेका हुन् ।
दुई वटा बस्ती रहेको यस वडामा ३ सय ३६ मतदाता रहेका छन् । गोलाको बस्तीमा २ सय ७६ र याङमामा ६० जना मतदाता छन् । एमाले र कांग्रेस दुईवटा मात्रै पार्टीका कार्यकर्ता रहेको वडामा सिट बाँडफाँटको विषयमा छलफल भएको थियो । तर अन्तिम समयमा सबैले स्वतन्त्र उम्मेदवारी दिने र सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेका हुन् ।