ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको चुनावमा उमेद्वार बनेका २ जना विरुद्ध बैसाख १३ गते उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बास्तौलाका अनुसार उमेद्वारको वेरुजु फर्छौट नभएको दावीसहित उजुरी परेको छ । सहायक निर्वाचन अधिकृत बास्तौलाले भने,“कुन पद र उमेद्वारको नाम खुलाउन असमर्थ छौ । बैसाख १४ र १५ गते उजुरीमाथि छानविन हुन्छ ।”
उता आठराई त्रिवेणी गाउँपालिकामा २ जना उमेद्वार बैसाख १३ गते उजुरी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पालिका अध्यक्ष र सदस्य पदका उमेद्वार विरुद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत विदुर कोइरालाका अनुसार एक जना उमेदवारको पालिकामै ठेक्कापट्टा र एक जनाको वेरुजु पाइएको उजुरीमा उल्लेख छ ।
यसैगरि सिदिङ गाउँपालिकामा २ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत विनिता भट्टराईका अनुसार १ जना उपाध्यक्षका उमेद्वार र १ जना वडासदस्यका उमेद्वार विरुद्ध बैसाख १३ गते उजुरी परेको छ ।
फक्ताङलुङ गाउँपालिकामा २ जना वडा सदस्यका उमेद्वार विरुद्ध उजुरी परेको छ । निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडा सदस्यको वेरुजु भएको उजुरीमा उल्लेख छ । दलित महिला सदस्य र खुल्ला वडासदस्य पदका उमेदवार विरुद्ध उजुरी परेको निर्वाचन अधिकृत दाहालले बताए ।