ओलाङचुङगोला । पुर्वि नेपालको चीन सिमानामा पर्ने ओलाङचुङगोलाबासीले यसपटक स्थानीय तहको चुनावमा वडाका लागि मतदान गर्नु परेन ।
फक्ताङलुङ गाँउपालीका–७ मा वडाध्यक्षसहित पाँचै जना निर्विरोध निर्वाचित भएका छन् । ओलाङचुङका छेतेन शेर्पा वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
फक्ताङलुङका निर्वाचन अधिकृत राजकुमार दाहालले वाडाका पाँचै जना निर्विरोध निर्वाचित भएको जानकारी दिए । मनोनयनमै छेतेनसहित पाँच जना सर्वसम्मत भएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छ ।
ओलाङचुङगोलाका बासिन्दा छेतेनको नेतृत्वको वार्ड समितिले त्यहाँबाट दुई दिन टाढा रहेको याङनामाका बासिन्दाको पनि प्रतिनिधित्व गर्नुपर्छ । याङ्नामा ४ हजार १ सय मिटिर उँचाइमा रहेको वस्ती हो ।
वडाध्यक्ष नेकपा (एमाले) र चार सदस्य नेपाली कांग्रेस हुनेगरी सहमति गरेर स्वतन्त्र रुपमा मनोनय दर्ता भएको थियो । त्यसो त चुनावप्रति यो क्षेत्रका बासिन्दालाई त्यति धेरै चिन्ता छैन । बरु चीनले कहिले नाका खोल्छ र याक, गलैँचालगायतको व्यापार गर्ने भन्ने चिन्ता छ ।
अघिल्लो स्थानीय तह चुनावमा एक मतले पराजित छेतेनको जिम्मा चीनसँग जोडिएको ओलाङ्चुङगोला र याङनामाको विकास निर्माण तथा सरकारी सेवाको आएको छ । चीनसँग सिमाना जोडिएको यो वडा जनसंख्यामा सानो भए पनि भूगोल ठूलो छ । कञ्चनजंघा संरक्षण क्षेत्र पनि पर्छ ।
‘ओलाङचुङगोलमा सडक पुर्याउनु प्रमुख प्राथमिकताको विषय रहेको छ । ओलाङगोलासम्म सडक पुर्याएर चीनसँग सडकले जोड्नुछ’, छेतेनले भने, ‘सडकले ओलाङचुङगोला हुदैँ चीन जोड्न, यहाँ रहेका रमणीय क्षेत्रमा पर्यटन प्रर्वद्धन तथा याक, गलैँचा, जडिबुटिको व्यापार बढाएर आम्दानीको श्रोत वृद्धि गर्दै लैजानु प्रमुख प्राथमिकता योजना रहेका छन् ।’
‘कठिन भूगोल छिचोलेर सडक ओलाङचुङगोला पुर्याउनका लागि पहल गर्ने छु । सडक पहिलो आवश्यकता बनेको छ’, उनले भने, ‘चीनसँग सडक जोड्न सके सुविधाका साथै पूर्वाधार विकास तथा आर्थिक विकासमा टेवा पुग्छ ।’ उनले पशुपालन यहाँको मुख्य पेसा भएको भन्दै चीनमा याक बेच्न नपाउँदा ठूलो चिन्ता रहेको बताए ।
कंर्किटवाला विकास नभई यहाँका बासिन्दाको आयआर्जनमा बढि जोड दिने योजना रहेको उनले सुनाए ।
वालुङ जातीको बसोबास भएको यो क्षेत्रमा सांस्कृतिक विशिष्ठता रहेको छ । यहाँ रहेको संस्कृतिलाई पुस्तान्तरण गर्ने, सुन्दर ठाँउलाई प्रर्वद्धन गर्ने योजना बनाउने उनले बताए । यो जाती सिमान्तकृत जाती मानिन्छ ।
४ सय ६८ वर्ष पुरानो मानिएको दिकि छ्योलिङ्ग गुम्बा रहेको छ । ‘ओलाङचुङगोलाको आफैमा पहिचान रहको छ । यहाँको भौगोलिक सुन्दरता, संस्कृतिलाई जोडेर पर्यटन विकास गर्ने छौँ’, छेतेनले भने, ‘यसका लागि होमस्टेको विकास गर्ने छौँ । पर्यटनबाट आर्थिक आम्दानी वृद्धि गर्ने योजना रहने छ ।’ आन्तरिक तथा वाह्य पर्यटकलाई यहाँसम्म ल्याउनका लागि आवश्यक पहल हुने उनको भनाइ छ ।
ओलाङचुङगोलाबासीले मुख्य आवश्यता सडकलाई मानेका छन् । नेपाल–चीनको सिमाना टिप्तलाबाट २४ किलोमिटर लामो सडकबाट ओलाङचुङगोलासम्म जोडिएको थियो । चिनिँया मेसिन ल्याएर सडक खनिएका थियो ।
नेपाल सरकारको लगानी नहुनेगरी चीनबाट भाडामा मेसिन ल्याएर सडक खनिएको थियो । विभिन्न क्षेत्रका दाताबाट रकम जुटाइएको थियो । कोभिडपछि यो सडक नचल्दा अहिले धेरै ठाँउ भत्किएको छ । ओलाङचुङगोलादेखि १० किलोमिटरतलसम्म सडक बनेको छ । तमोरको किनारै किनार बनाइएको सडक ठूलो पहरोमा पुगेर रोकिएको छ ।