उदयपुर ।उदयपुरमा आफ्नै हजुरआमाको घाँटी थिची हत्या गरेको आरोपमा नातिनी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आर्चायका अनुसार त्रियुगा नगरपालिका १३ बहेडवाकी ६७ वर्षीया सुखनीदेवी चौधरीको घाँटी थिची हत्या गरेको आरोपमो नातिनी २४ वर्षीया ममता चौधरी पक्राउ परेकी हुन् ।
आफ्नै घरमा गत चैत्र २३ गते मृतक सुखनीदेवीको शव शंकास्पद अवस्थामा भेटिएको थियो । प्रहरीले अनुसान्धन गरेर नातिनी ममतालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । मृतको शवको पोष्टमार्टम बिपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरेको थियो ।
प्रहरी नायव उपरीक्षक आर्चायले ममताले रिसइबी (मनमुटाब) का कारण हत्या भएको बताए । ‘टेलिभिजन हेर्ने क्रममा हजुरआमा र नातिनीबीच कुराकानी हुँदै जादाँ विवाद उत्पन्न भएको थियो,’उनले भने,‘नातिनी ममताले मृतक हजुरआमा सुखनीदेवीको छात्तिमा लात्तीले हानी भुईमा लडाई घाँटीमा थिची हत्या गरेको बयान दिएकी छिन् ।’
आर्चायका अनुसार मृतकलाई खाटमा सुताई भागेको भन्ने सूचनाबाट अनुसन्धान गरी गएको वैशाख १८ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ। मृतक सुखनीदेवीको जेठो छोरो स्वर्गीय राम चौधरीकी छोरी ममता भएको प्रहरीको भनाइ छ ।