पाँचथर । मतदानको दिन वर्षा भयो भने पाँचथरको दक्षिणी क्षेत्रमा पर्ने मिक्लाजुङ गाउँपालिकामा मतपेटिका जम्मा गर्न समस्या हुने चिन्ता जिल्लाका सुरक्षा अधिकारीहरूले गरेका छन् । पानी परेपछि सडक अवरुद्ध हुने र गाउँपालिका केन्द्र रविमा रहेको मतदान अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन समस्या पर्नेमा उनीहरू चिन्तित छन् ।
त्यसो त दैनिकजसो पानी परेका कारण उम्मेदवारलाई घरदैलो गर्न निक्कै समस्या भइरहेको छ । यो गाउँपालिका कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाका कारण क्षतविक्षत् भएको थियो । पानी पर्न थालेकाले पहिरोको जोखिममा रहेका बासिन्दाहरू चिन्तित हुन थालेका छन् । पहिरोका कारण यो गाउँपालिकामा ठूलो क्षति पुगेकाले पुनः निर्माण भइसकेको छैन ।
पहिरोपछिको पुनःनिर्माण दलहरूको प्रमुख चुनावी एजेन्डा छ । निर्वाचित जनप्रतिनिधिले पुनः निर्माणको चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । पहिरोका कारण ठूलो संख्यामा विस्थापित हुनुका साथै सडक, सिँचाइ कुलो, खानेपानी, खेतीयोग्य जमिन बगाएको छ । पहिरोपछि पुनः निर्माण, पीडितलाई सहयोग प्राथमिकतामा राखेको उम्मेदवारहरू बताउँछन् ।
‘पहिरोले पुर्याएको क्षति तथा पीडा मैले राम्रोसँग बुझेको छु । पहिरोपछिको पुनःनिर्माण, सहयोग तथा जोखिमलाई न्यूनीकरण गर्ने विषय प्राथमिकतामा राखेको छु’, सत्तारुढ गठबन्धन (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार अमरराज माखिमले भने, ‘अघिल्लो कार्यकालयमा कृषि, सडक, खानेपानीका क्षेत्रमा धेरै काम भएका थिए । पहिरोले ठूलो क्षति पुर्यायो । फेरि एकपल्ट विकास निर्माण, आयआर्जन तथा पर्यटन प्रवर्द्धन गर्नेसहित योजना लिएर मतदातामाझ गएको छु ।’ माखिम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । उनी चारचक्के गाडी नकिनेर तथा विभिन्न नयाँ कार्यक्रमले चर्चित भएका थिए ।
नेकपा एमालेका उम्मेदवार नरेन्द्र बस्नेतको पनि प्राथमिकतामा पहिरोले पुर्याएको समस्या समाधानतिर केन्द्रित छ । ‘बाढीपहिरोले पारेको असरलाई ख्याल गरेर उत्पन्न समस्यालाई समाधान गर्ने मुख्य लक्ष्य छ । विभिन्न निकायको सहयोगबिना यो काम सम्भव छैन’, बस्नेतले भने, ‘सबै पक्ष, सबै दललाई एकजुट बनाएर काम गर्नेछु ।’ बस्नेत जिल्लाका पुराना कम्युनिस्ट नेता मानिन्छन् ।यो गाउँपालिकामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने आकलन छ । यसअघि माओवादीले अध्यक्ष र एमालेले उपाध्यक्ष जितेको थियो । सत्ता गठबन्धनले उपाध्यक्ष नेपाली कांग्रेसबाट उम्मेदवार बनाएको छ ।
बेमौसमी झरीका कारण गएको बाढीपहिरोका कारण मिक्लाजुङ गाउँपालिकामा २२ जनाको मृत्यु तथा तीन जना बेपत्ता भएका थिए । यहाँका ३ सय ३५ घर पूर्ण रूपमा क्षति भएको थियो भने १ हजार ३ सय ३३ घरमा आंशिक क्षति पुगेको थियो । १४ विद्यालय, छवटा पुल, ३ स्वास्थ्य चौकी र तीनवटा धार्मिकस्थलमा क्षति पुगेको थियो । १ सय ९ खानेपानी आयोजना र ७६ वटा कुलोमा क्षति पुगेको थियो । नयाँ खोलाको किनारमा रहेका ठूलाठूला खेतका फाँट बगाएको थियो । धान, अलैँचीलगायतका बालीमा क्षति पुगेको थियो । २ हजार ६ सय ८६ रोपनीभन्दा बढी खेतीयोग्य जमिन पूर्ण रूपमा क्षति भएको तथ्याङ्क छ ।
यो गाउँपालिका जोड्ने राँके–भेडेटार सडक हरेक वर्षामा अवरुद्ध हुन्छ । बाढीपहिरोका कारण गाउँ जोड्ने सडकहरू बिग्रिएका छन् । निर्वाचित हुने जनप्रतिनिधिको चुनौतीको रूपमा पहिरोका कारण उत्पन्न समस्याहरू छन् । यही भएर एजेण्डामा पहिरोले पारेको समस्या समाधानका विषय परेका छन् । मिक्लाजुङमा १८ हजार ५ सय ४ जना मतदाता छन् ।