तेह्रथुम । तेह्रथुमकाे चुहानडाँडामा पुरानो र नयाँ बजार रहेको छ । पुरानो सरकारी क्याम्पससमेत रहेको यो बजारमा नजिकिएको चुनावका बारे स्थानीय बासिन्दाका आ–आफ्ना धारणा सुन्न पाइन्थ्यो । बजारका धेरै मान्छेहरू भोट माग्न गाँउतिर गएका थिए । पुष्पलाल –मध्यपहाडी लोकमार्गको कात्रोपत्रे सडकमा गुड्ने गाडीहरूमा विभिन्न पार्टीका झण्डा राखिएको देखिन्थ्यो । गठबन्धनका उम्मेदवारका एउटै गाडीमा विभिन्न पार्टीका झण्डा देखिनु स्वभाविक थियो ।
चुहानडाँडावासिको प्रमुख माग थुम्कीडाँडामा एयरर्पोट बनोस् भन्ने नै सुन्न पाइन्थ्यो । तेह्रथुमको यो आठराई गाउँपालिका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो हाे । यसलाई एमालेको गढ मानिन्छ । साविकका सात गाविस मिलेर बनेको गाउँपालिकामा ०७४ सालकाे स्थानीय निर्वाचनमा पनि एमालेकै वर्चस्व थियो ।
वडा नम्बर २ को अध्यक्ष नेपाली काग्रेस र ६ नम्बरको नेकपा माओवादी केन्द्रले जितको थियो । यसबाहेकका सबै पद एमालेले कब्जा गरेकाे थियाे ।
यसपटक सत्ता गठबन्धन एमालेलाई हराएर नयाँ इतिहास बनाउन चाहन्छ । एमाले भने इतिहासलाई निरन्तरता दिन मिहिनेत गरिरहेको छ । सत्ता गठबन्धनलाई यहाँ लिम्बूवानको साथ छ । तर ६ नम्बर वडामा भने एमाले र माओवादीले तालमेल गरेका छन् ।
इतिहास जोगाउने र नयाँ इतिहास बनाउने भन्दै दलहरू हाेमिएपछि चुनाव सरगर्मी निकै बढेकाे छ । राजमार्ग आसपास तथा बजारमामात्र नभई गाउँगाउँमा पनि नेता, कार्यकर्ता चुनावी अभियान लिएर पुगेका छन् । ‘घरका मान्छेहरू भोट माग्न गाँउ गएका छन् । यहाँका सबैलाई चुनाव लागेको छ’, चुहानडाँडाकी देवकुमारी श्रेष्ठले भनिन् ।
‘राजनीतिक रूपमा आठराई सचेत छ । प्रायः मान्छे राजनीतिक दलमा आबद्ध छन् । चुनावको रौनक त देखिने नै भयो नि’, संक्रान्तिबजारमा भेटिएका पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाकाे भनाइ थियाे । चुहानडाँडा, संक्रान्तिसँगै खाम्लालुङ,ह्वाकू, इँवा, छातेढुङ्गा, थोक्लुङ जस्ता साविकका गाविसमा पनि चुनावी चहलपलह बढेकाे छ । ‘धेरै पटक भोट हालिसकियो । चुनावमा भनेजस्तो काम नगरे पनि भोट त हाल्नैपर्याे’, बाटोमा भेटिएका अमरबहादुर रोकाले भने ‘यसपटक पनि पहिलेकै जस्ता कुराहरू ल्याएका छन् ।’
सत्ता गठबन्धनबाट अध्यक्षमा दिलकुमार पाहिम र एमालेबाट रामचन्द्र थपलिया चुनावी मैदानमा छन् । उपप्रमुखमा गठबन्धनबाट माओवादीका बलिराम इङनाम र एमालेबाट रुपा कन्दङवा उम्मेदवार छन् । कन्दङवा यसअघि पनि उपाध्यक्ष निर्वाचित भएकी थिइन् । यसअघिका गाउँपालिका अध्यक्ष विष्णु विक्रम कन्दङवा नेकपा एकीकृत समाजवादीबाट ७ नम्बर वडाकाे वडा सदस्य उठेका छन् ।
जनताका आ–आफ्नै आवश्यकता छन् । ठाँउ हेरेर फरक माग राखेको भेटिन्छ । संक्रान्तिबजारमा सुँगुरलाई चारो काटिरहेकी कल्पना इङनामले पानीको समस्या समाधानमा जनप्रतनिधिको ध्यान पुग्नु पर्ने बताइन् । छेउछाउमा भेला भएका महिलाहरू उनको कुरामा समर्थन गर्दै थिए । उनको भनाइ थियो, ‘चुनावको दिन भोट हाल्न जाने हो, भोट माग्न आउने–जाने त नेताको काम हो ।’ आठराईमा ठूलो समस्या खानेपानीको छ । तमोर छोएका ठाँउहरूमा खानेपानीको अभाव छ । बसाई सरेर जानेको संख्या पनि निक्कै रहेको स्थानीयवासी बताउँछन् ।
गाउँपालिकाको केन्द्र संक्रान्तिको काया बदलिँदै गएको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रे भएसँगै सुविधा जोडिएको छ । संक्रान्तिदेखि सदरमुकाम म्याङलुङसम्मको सडक पनि कालोपत्रे हुने हो भने यहाँका बासिन्दाले सडक सुविधामा राहत महसुस गर्ने छन् । गाँउहरूमा आयआर्जन सिर्जना, खानेपानी तथा सडक जस्ता सुविधाको आवश्यकता देखिन्छ ।
आठराईमा अध्यक्ष पदमा चार र उपाध्यक्षमा तीन जना प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । यहाँ १४ हजार १ सय ३० जना मतदाता रहेका छन् ।