ताप्लेजुङ । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा रहेका १ सय २२ वटा मतदान केन्द्रमध्ये फुङ्लिङ नगरपालिकाका ९ बाहेक सबै केन्द्रका मतदान अधिकृतहरुले मतदान सामग्री बुझेर लगेका छन् । नगरपालिका क्षेत्रका ९ मतदान केन्द्रको सामग्री भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमै राखिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस प्रकाश राउतले जानकारी दिए ।
दुर्गम र बिकट क्षेत्रका मतदान केन्द्रहरुमा मतदान सामग्री सहित मतदान अधिकृत र कर्मचारीहरु पुगी सकेको उनले बताए । यता जिल्लाको दुर्गम क्षेत्रको ४ स्थानका मतपेटिका हेलिकोप्टरबाट ल्याइने तयारी गरिएको छ । जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयमा मतपेटिका हेलिकोप्टबाट ल्याउन ब्यवस्थापनका लागि अनुरोध गरेको थियो
। ओलाङचुङगोला, ग्याब्ला, घुन्सा र याङमाको मतपेटिका ल्याउन हेलिकोप्टरको आवश्कता रहेको बताएको छ । यता गृह मन्त्रालयबाट सकारात्मक सन्देश सहितको लिखित पत्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।
६ सय ८३ जना निर्वाचन कर्मचारी खटिए
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस निर्वाचनमा ६ सय १ जना कर्मचारी परिचालित भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरि त्यतिको संख्यामा परिचालित गरिएको हो । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी जिल्लाभरका १ हजार ४ सय ४ जना सुरक्षाकर्मी खटिएका छन् ।
यसमध्ये नेपाल प्रहरीका ४ सय ४४ जना, म्यादी प्रहरी ६ सय ५५ जना र सशस्त्र प्रहरीका ३ सय ५ जना सुरक्षाकर्मी परिचाालित गरिएको प्रजिअ पोखरेलले बताए । नेपाली सेनाका ३ सय देखि ४ सय जना परिचिालित हुने बताईएको छ ।
यसैविच नेपाली सेनाका ३ वटा बिष्फोटक पदार्थ निश्क्रिय पार्ने टोली तयारी अवस्थामा राखेको छ । प्रजिअ पोखरेलका अनुसार फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा एक, मित्लुङ क्षेत्रमा एक र मेरिङ्देन गाउँपालिका क्षेत्रमा एक गरी ३ वटा निश्कृय टोली तयारी अवस्थामा राखिएको छ ।
यता जिल्लाको दुई पालिकालाई संवेदनशिल क्षेत्रमा राखिएको छ । फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकालाइ संवेदनशिलको सूचीमा राखिएको हो । प्रजिअ पोखरेलले अरु सुरक्षा चुनौती नरहेपनि भौगोलिक विकटतालाइ आधार मानेर संवेदनशिल क्षेत्र निर्धारण गरिएको बताए । यहाँ ९० हजार ९ सय ३४ जना मतदाता रहेका छन् ।