नेपाल सुपर लिग (एनएसएल) का दौरान खेल भावना विपरित व्यवहार गरेको र अनुशासन तोडेको कारण विराटनगर सिटी एफसीका भारतीय प्रशिक्षक यान लसहितसहित ४ जना कारवाहीमा परेका छन् ।
एनएसएलको आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले ललितपुर सिटी एफसीविरुद्धको खेलमा रेफ्रिको निर्णयमा असहमत रहेको वहानामा खेल नै अवरुद्ध गरेको आरोपमा विराटनगर र त्यसका जिम्मेवारी व्यक्तिहरुलाई कारवाही गरेको हो । जसमा विराटनगरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ ।
टोलीका प्रशिक्षक ललाई एनएसएलको अर्को सिजनमा प्रतिबन्ध लगाउने र ५० हजार रुपैयाँ जरिवाना गरेको छ । विराटनगरलाई खेल भावनाविरुद्ध व्यवहार गर्दै खेलाडीलाई मैदान छाड्ने प्रोत्साहन गरेको ठहर गरेको छ । त्यस्तै ललाई पनि खेलाडीलाई मैदान छाड्न लगाउने मुख्य व्यक्तिका रुपमा लिइएको छ । उनले टचलाइन नाघ्नुका साथै पटक पटक अफिसियललाई अपशब्द र गालीगलौज गरेको म्यानेजमेन्टद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
खेलाडीलाई मैदान छाड्न उक्साएको र अनुशासन तोडेको भन्दै विराटनगरका टेक्निकल डाइरेक्टर सोनम घले, सहायक प्रशिक्षक निशान श्रेष्ठ र सहायक व्यवस्थापक मिलन गुरुङलाई आगामी सिजन एनएसएलको ३ खेलमा प्रतिबन्ध लगाएको छ । त्यसबाहेक आवश्यक देखिएमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले थप कारवाही गर्न सक्ने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
दशरथ रंगशालामा वैशाख २५ गते भएको पहिलो खेलमा ललितपुरले विराटनगरलाई ४–० ले पराजित गरेको थियो । त्यहि खेलका दौरान विराटनगरले रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै ७ मिनेट मैदान छाडेको थियो । दुवै टोलीका लागि प्लेअफमा पुग्नका लागि त्यो खेल जित्नै पर्ने अवस्था थियो । खेलको ६२ औं मिनेटमा लतिलपुरका विमल रानाले टोलीका लागि दोस्रो गोल गरेपछि विराटनगरले खेलाडीलाई मैदान छाड्न लगाएको थियो ।
त्यसबेला स्पेनिस फरवार्ड पेड्रो मान्जी बाहेक सबै खेलाडीले मैदान छाडेका थिए । प्रशिक्षक लसहित अफिसियलहरूले खेलाडीलाई मैदान छाड्न लगाएका थिए । एन्फा र आयोजक अधिकारीको आग्रहपछि मात्रै खेलाडी मैदान प्रवेश गरेका थिए । त्यसपछि ललितपुरले २ गोल थपेको थियो । विजय धिमालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेपछि विराटनगरले अन्तिम ५ मिनेट १० खेलाडीमा खेलेको थियो ।