सगुन सुसारा
केही उत्साह र चाहाना ः—
म आफुलाई कुनै काम गर्न मन लागेपछि निकै चाखका साथ गर्न मन पराउँछु । त्यसका लागि सहयात्रीहरुको सहयोग र साथ पनि अत्यन्तै आवश्यक हुन्छ । यदि एकआपसमा त्यो भएन भने झन उल्टै खेद्न मन पनि लाग्छ । सायद यो मेरोकमजोरी होला ?या त मसँग नेतृत्व गर्ने क्षमता छैन ?अहिले सम्झन्छु । कुरा आफ्नो जातिय संगठनको हो । जतिखेर मलाई म ‘यो’ जातिको भन्ने थाहा भयो तबदेखि नै मेरो जातिय संगठनको खोज गर्न थालेको थिएँ ।
अर्थात कक्षा छ मा पढ्दाको कुरा रहेछ । हो, २०४६ सालमा रहेछ । सायद सानो फुच्चे केटोलाई माथिका नेतृत्वसँग कसरी चिनाजान गर्ने र कसरी संगठन पहिचान गर्ने भन्ने कुरा नै थाहा नभएर होला त्यो इच्छा पुरा हुन सकेन । त्यसको झण्डै एघार बर्षपछि पाँचथर बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्नका लागि आइपुगेँ । तब मात्र त्यो सपना पुरा भयो ।
हो, मैले आफ्नै जातिय विद्यार्थी संगठनको नेतृत्व गर्न पुगेँ । जुन मैले धेरै समयदेखि खोजी पनि गर्दै आएको कुरा थियो । अर्थात २०५७ साल मंसीर २० गतेको दिन किरात राई विद्यार्थी संघ पाँचथर बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्ष भएँ । किरात राई विद्यार्थी संघ, पाँचथरको जग हालियो, जग बसाइयो ।र मैले खोजेको एउटा संस्था भेटेँ ।जहाँ म काम गर्न चाहन्थेँ । मेरो खुशीको सीमा नै रहेन ।
यात्रा शुरु र गतिविधि ः—
किरात राई विद्यार्थी संघ, पाँचथर बहुमुखी क्याम्पसको इकाई अध्यक्ष भएपछि लगत्तै म केन्द्रीय सदस्यमा निर्वाचित भएँ । २०५७ साल यो मेरो उत्साहको क्षण थियो । यही बेला थाहा भयो किरात राई यायोक्खाको जिल्ला कार्यालय त म जन्मेकै रबिमा पो रहेछ, जुन गाउँमा बस्दासम्म कहिल्यै थाहा पाइन ।दुर्भाग्य मैले आफैंले सोचें जस्तो किराविको काम गर्न सकिन । यस्को दुई बर्षपछि अर्थात २०५९ सालमा पुनः म केन्द्रीय सदस्य नै भएँ । तर मेरो काम उही भयो ।
अर्थात केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्न सकिन । तथापि राई बान्तावा भाषामा कविता र गजल लेखेर त्यसको क्षतिपूर्ति आफैंले दिन थालें । सायद यो गैरजिम्मेवारी पनि भयो होला ? आखिर जताबाट पनि काम गर्नु छ भन्ने सोच्न थालें । र यस्तो भयो । गाउँ फर्केर किरात राई यायोक्खाको प्रारम्भिक गाउँ कार्य समिति, रबिको सह-सचिव भएर २०६१ मा काम गर्न थालें । अनि म भातृ संगठनबाट मातृ संगठनमा आबद्ध भएँ । म प्रा.का.स. मा आबद्ध भए पनि सदरमुकाम(फिदिम) बसाई भएकाले अलि गतिविधि सदरमुकाममै गर्न थालियो ।
खास गरी २०६२ सालमा पाँचथर बहुमुखी क्याम्पस पढ्न आएका उत्साही भाइ बहिनीको साथले पुनः विद्यार्थीमा एक प्रकारको उत्साह, जोश र जाँगर थपियो । यही साल पाँचथरभरका किरात राईहरुको पाछा संकलन गरियो । अनि म आफैं पनि विद्यार्थी र यायोक्खाप्रति अलि बढी नजिक हुन पुगेँ । किरात राई विद्यार्थी संघ, पाँचथर बहुमुखी क्याम्पसका विद्यार्थीहरु र म, गणेश साम्पाङ र राम चाम्लिङको अभिभावकत्वमा पाछा संकलनको काम भएको भन्दा अतियुक्ति नहोला ?यो संकलन मेरो किताब ‘पाँचथरमा राईहरु’ २०७७मा समावेश छ । सायद यही सक्रियताको कारण किरात राई यायोक्खाको आठ बर्षसम्म हुन नसकेको जिल्ला सम्मेलनको व्यवस्थापन गरी आफ्नो संगठनलाई पुनः व्यूँताउने काम गर्यो, गरियो ।
वास्तवमा आठ बर्ष यो संगठन गुमनाम भएकोबाट बचाउने काम गर्यो, गरियो । यसमा विद्यार्थीहरुको भूमिका ठूलो थियो । र मलाई किरात राई यायोक्खाको जिल्ला सचिव २०६४ सालमा साथीहरुले बनाए, भएँ । अर्थात भाइबहिनीहरुले बनाए । लाग्छ, त्यसपछि विभिन्न प्रा.का.स.मा पुग्ने काम राम्रो नै गरियो । अर्थात पाँचथर जिल्लाको २२ प्रा.का.स. गठन, पुनर्गठन गरेर, पुगेर त्यहाँको समस्या बुझ्ने काम गरेको छु । यति हुँदा हुँदै पनि कति ठाउँमा चाहिएको बेला पुग्न सकिएन त्यो कमजोरी भएकै हुन ।
त्यसको बाधक आजको जस्तो यातायातको असुविधा पहिलो हो । म सचिव भएकै कालमा पाँचथर जिल्लाभरिमा १८ वटा प्रा.वि.मा राई बान्तावा भाषाको पठन पाठनको लागि सहयोग गरियो । पाठ्यपुस्तकको व्यवस्था गरियो । तथापि यी सबैलाई निरन्तरता दिन सकिएन । एक, पाठ्यपुस्तकको अभाव, दुई, सबैको यसप्रति सकारात्मक सोच नहुनु,यसका बाधक रहे । खैर केही विद्यालयले यसलाई कनिकुथी निरन्तरता दिई रहेका थिए । ती विद्यालयलाई मेरो सलाम । ती सान्दिवा सान्दिमालाई पनि आलाङ्ने, सावानाम ।
२०६७ सालमा किरात राई यायोक्खाको चौथो जिल्ला अधिवेशनबाट म अध्यक्ष पदमा निर्वाचित भएँ । सायद यो मेरो काम गराईको विश्वास थियो । हो, किरात राई यायोक्खाको अहिलेसम्म नेतृत्वमा चुनाव भएको थिएन । तर मेरो अध्यक्षताका लागि भयो । जसले मलाई काम गर्ने मौकाका लागि मत दिनु भो,र मत नदिएर सहभागी हुनेहरुलाई पनि मेरो हार्दिक धन्यवाद । कम्तिमा हामीले प्रजातान्त्रिक अभ्यासलाई मान्यौ । हाम्रो संस्थामा शुरुवात गर्यौं । भावीलाई पनि यसले यी जम्मै समाजको चरित्र हुन । यही राम्रा र नराम्राबाट नै समाजको विकाश हुन्छ । हामी मानौं ।
यही समयमा लामो समय पुनर्गठन हुन नसकेका गा.वि.स.मा किरात राई यायोक्खाको प्रा.क.स. पुनर्गठन गर्न सकियो । त्यति मात्र होइन प्रत्येक गा.वि.स.मा पुगेर परिषदहरुबाट प्राप्त रकमको विनियोजनका लागि पनि सचेतनाको काम गरेँ । त्यसको प्रतिफल कुनै प्रा.का.स.ले बढीमा एक लाख र कम्तिमा दश हजारसम्म आफ्नो पक्षमा पार्न सफल भए । यसले शीप विकाश र क्षमता अभिवृद्धिका लागि निकै ठूलो काम गरेको थियो ।
२०६२/६३ को शुरुमा हामी साकेन्वा/साकेवा/साकेला मार्फत आफ्ना कुराहरु यसरी राख्थ्यौं ः—
सोइ ढोले साइ
अर्को ढोले खोइ?
यो वास्तवमा हाम्रो आफ्नो परम्परा र पहिचानको कुरा थियो । यसमा ठूलो मिथक पनि लुकेको छ । जो हामी आज पर्यन्त गर्दै र गाउँदै आएका छौं, किरात राईहरु । त्यसपछि यो गीतमा अलिकति परिवर्तन आयो । हाम्रो पहिचानको कुरामा राष्ट्रिय पहिचानलाई अघि बढायौं । सायद त्यसमा आम नेपालीको माग रहेको थियो । र गीत यस्तो हुन थाल्यो ः—
सोइ ढाले सोइ
लोकतन्त्र खोइ?
……………..
सोइ ढोले सोइ
गणतन्त्र खोइ?
वास्तवमा पाँचथरका किरात राईहरुले पनि लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि महत्वपूणर् योगदान गरेका छन् । २०६२/६३ को आन्दोलनमा हाम्रो ढोल फुटेको छ, झ्याम्टा फुटेको छ । कयौंले लाठी खाएको छन् । तर त्यसको क्षतिपूर्ति आज पर्यन्त पाएको छैनौं । यो अनौठो कुरा रहेको छ । वास्तवमा हाम्रो संस्कृतिमाथिको धावा थियो । उपहास थियो । अनि हामीले पुनः बाटो खोज्यौं ः—
सोइ ढोले सोइ
किरातराज्य खोइ?
वास्तवमा अझ हामी हाम्रो पहिचानका लागि अघि बढेका थियौं । आन्दोलनले दिएको उपलब्धि थिए ती । यसलाई संस्थागत गर्न थियो । र हामी आयौं चोक चोकमा । यसका लागि आज पनि आवाज उठाइ रहेका छौं ।
अब आउने यात्राहरु ः—
किरात राई यायोक्खाको छैठौं जिल्ला सम्मेलन २०७५ फागुन ३ गतेका दिन सम्पन्न भइ सकेकोछ भने किरात राई विद्यार्थी संघको नवौं राष्ट्रिय सम्मेलन २०७६ बैशाख २६ खोटाङमा भइसकेको छ। त्यसरी नै किरात राई विद्यार्थी संघ, पाँचरको जिल्ला सम्मेलन २०७५ चैत २७ गते सम्पन्न भएको छ । इ सम्मेलनहरुमा म आफैं पनि प्रत्यक्ष सहभागी थिएँ ।
तर अहिले म इ सबैबाट र जिम्मेवारीको तहबाट अलि टाढा छु । कति सोचेका कामहरु गरौंला भन्दा भन्दै छोड्नु परेको छ । विधिको बारेमा मैले जति दिनु पर्ने कुरा दिन सकेको रहेन छु तीलाई आएको नेतृत्वले पक्कै समेट्ने छ भन्ने आशा छ । भेट भएका विद्यार्थी भाइबहिनीहरुलाई राम्रो ‘गाइड’ गरौंला भन्दा भन्दै अब टाढिनु पर्ने दिन आएको महशुस भएको छ । सायद यो एक पीडाको दिन हो भने अर्को सुखको दिन पनि हो । यसबाट अरु कामको खोजी होला नै ? या त समयले ल्याउने नै छ ।
आखिर कुनै न कुनै दिन यहाँबाट मैले बिदा लिनु नै छ भने त्यो आजै लिन तयार हुनु पर्छ । यही सम्झेको छु । तर, बाँकी दिनमा पनि फरक हिसाबले सहकार्य हुने नै छ । कि त स्रोतव्यक्तिको रुपमा भेट हुने नै छौं ।अग्रजको हिसाबले अनुभव साटासाट गर्न पनि भेट हुन सक्ने छौं । र अब आउने नेतृत्वलाई मागेको खण्डमा सल्लाह, सुझाव दिने नै छु । नेतृत्व छाडे पनि किरात राईहरुको भाषा, साहित्यमा निरन्तर लाग्ने नै छु । त्यसमा पनि अझ अनुसन्धान र खोजको विषयमा बढी रुची छ । त्यस मार्फत पनि भेट हुने नै छ । सामिप्यता अलि कम होला ? तथापि हामी साथ नै रहने छौ । जहाँ, जसरी, जस्तो अवस्थामा रहे पनि यी दिनहरुको याद आइ नै रहने छ । भावी स्थापत्यका लागि सुम्निहाङ सेवा ।
केही स्वाद केही बेस्वाद ः—
किरात राई यायोक्खा जिल्ला कार्य समिति र किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति पाचथरको नेतृत्वमुनि रहेर साकेन्वा/साकेवा/साकेला नाच्न नपाएको पनि निकै लामो समय भइ सकेको रहेछ । झण्डै पाँच बर्ष नै । विश्वव्यापी कोरोना महामारीका कारण होस या संस्थागत समस्याका कारण । यो अप्ठ्यारो परिस्थितिका बिच किरात राई विद्यार्थी संघ, पाँचथरले जुन साहस गर्यो त्यो मक्त कण्ठले प्रशंसा नगरे नेतृत्व तहका राम्रो सन्देश छाड्न सक्छ । त्यसो त नराम्रो पाटा पनि नभएका होइनन् ।
मान्छेलाई लाज हुनु पर्छ । घरभित्रको कैदी जीवन बिताउनुको पिडामा २०७९ को साकेन्वा/साकेवा/साकेला उभौलिले मल्हम लगाइ दिएको छ । निराशामा आशा जगाइ दिएको छ । भातृत्वलाई रक्तसञ्चार गराई दिएको छ । नयाँ पिढीलाई संस्कृति हस्तान्तरण र संरक्षणको कर्तव्य सिकाएको छ । दायित्व बुझाएको छ । सबैले शिर ठाडो पारेर हिड्न सक्ने अदम्य आँट भरि दिएको छ । एति स्वादिलो काम किरात राई विद्यार्थी संघ, पाँचथरले गरेको छ । यसका सारथिहरु अध्यक्ष शोभा इशारा, सहसचिव बिपराज कोयू, सदस्यहरु बर्षा याङमा, अप्सरा इसारा र सक्रिय सदस्य मन्जना थुलुङ, सृष्टि राई हुन ।
यसमा सहभागी हुनेहरु पनि उत्तिकै योग्य सारथिहरु हुनुहुन्छ ।अझ यसलाई हौसला, आँट, जोश, जाँगर साथ र काँध थापिदिने चैं केन्द्रीय कोषाध्यक्ष रमला चाम्लिङ हुन । रमला र शोभाको काम गर्ने ‘केमेस्ट्री’ हेर्दा मलाई साह्रै आरिस लाग्छ । यस्तो काम सधैं सधैं गरिरहनु, दाजुको पनि साथ, सहयोग रहने नै छ । र दाजुलाई पनि सम्झेर यो उभौलिमा निम्ताएको ‘दाजु बहिनीहरुबाट धन्य छ ।बहिनीहरुको दाजु हुन पाउँदा गर्व लाग्छ ।’
यो लामो असहज परिस्थिति बीच शुरु गरिएको हाम्रो संस्कृतिमा, हाम्रो पहिचानमा किरात राई यायोक्खा जिकासका पदाधिकारीहरुको अनुपस्थिति चाँहि अलि खल्लो रहन गयो । त्यसो त स्थानीय निर्वाचनका कारण पनि हुन सक्छ । देशभर आफ्नो पार्टीका उम्मेद्वार जिताउन लागि परेका बेला भए पनि आफ्नो महान चाडमा थोरै समय छुट्याउन पाएको भए जाती नै हुन्थ्यो कि ?यो पनि विचारान्तर नै हो । र मलाई चाँही पार्टी भन्दा जाति माथि लाग्छ । पहिलो लाग्छ । सेवा ।