काठमाडौं । पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएपछि नेपाल प्रहरीमा १७ डीआईजीको दरबन्दी रिक्त छ । रिक्त १७ पदका लागि २७ एसएसपी प्रतिस्पर्धामा छन् ।
२७ एसएसपीमा चार महिला प्रहरी अधिकृत पनि छन् । एआईजी बढुवाबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि डीआईजी बढुवाको प्रक्रिया अगाडि बढ्नेछ ।
योपटक डीआईजीको प्रतिस्पर्धामा चार महिला एसएसपी पनि छन् । जसलाई इतिहास रच्ने अवसर छ । ०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।
उनीहरू चारैजनाको डीआईजी बन्ने सम्भावना छ । सरकारले चारैजनालाई डीआईजीमा बढुवा गरे नेपाल प्रहरीमा इतिहास कायम हुनेछ ।
प्रहरीमा हालसम्म एकैपटक दुईजना महिला अधिकृत मात्र डीआईजी बनेका छन् । यसअघि, पार्वती थापा र विमला थापा एकसाथ डीआईजी भएका थिए । अहिले चारजना डीआईजी भएमा प्रहरीमा नयाँ इतिहास बन्नेछ । प्रहरीमा हालसम्म महिला आईजीपी नियुक्त भएका छैनन् ।