सरला रेग्मी,
पाँचथर । उडिरहेको कुहिरो, तुसारो भित्र लुकामारी खेल्नेडाँडाहरु सुन्दर लाग्छन् । १६ औं राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको नामबाट नामाकरण भएको पालिका हो, फाल्गुनन्द गाउँपालिका ।
१६ राष्ट्रिय बिभुतिसँगको नामाकरणमात्र होइन ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पालिकापनी हो । कृषिकालागी उर्बर भुमी रहेको यो गाँउपालीका पर्यटनकालागी प्रसस्त सम्भावना बोकेको छ । मुन्धुममा उल्लेख गरेको ऐतिहास यहाँ भेट्न सकिन्छ । यहाँ रहेको सेहोनाम्लाङ महत्पूर्ण स्थल रहेको छ । सेहोनाम्लाङ र आसपासमा रहेका गुफा, देविस्थान पर्यटन प्रर्वद्धनका लागि महत्पूर्ण क्षेत्र रहेका छन् ।
सेहोनाम्लाङ र आसपासका क्षेत्रलाई जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ र ७ तथा मिक्लाजुङ गाउँपालिका १ नम्बर वार्ड र कुम्मायक गाउँपालिकाको २ नम्बर वाडसँग सिमा जोडिएका विभिन्न पर्यटकिय स्थलको विकासका लागि पहल गर्नु पर्ने देखिन्छ ।
बरिपरी हरिया जङल, ढुङै ढुङ्गाका पहाड, रातम्बे काफल र ती काफल खान आएका चराको चिर्बिर आवाजले मत्रमुग्द पार्ने शान्त स्थल निक्कै मनमोहक थियो । थेवा युमा युङ्देन गुफा देखि सेहोनाम्लाङसम्मको यात्रा आन्तरिक तथा बाह्र पर्यटकोलागी अत्यन्तै रोमान्चित यात्रा हुन सक्छ ।
इतिहासमा बाघको छाला सुकाएको स्थल सेहोनाम्लाङ सम्मको यात्रा रोचक छ ।
मुन्दुममा उल्लेख गरेअनुसार उक्त ठाउँमा नाम्सामि (जो मानव थिए)ले आफ्नो दाजु केसामि ( जो बाघ थिए) को छाला सुकाएका थिए । नाम्सामी र केसामी ताप्लेजुङ जिल्लाको साविक नाङखोलेङ गा.वि.सको केसाप्लुङ गाउँमा इप्नासो सरङ्थङ्नाका कोखबाट जन्मिएका थिए । हुर्केबढेपछि उनीहरूको झगडा तरुल, भ्याकुर र शिकारलाई लिएर हुन थाल्यो ।
नाङखोल्याङको सुभवा गाउँको विशाल सिमलको रुखमा उनीहरूको युद्ध हुँदा नाम्सामी ले केसामीलाई मारे । त्यसपछि नाम्सामीले केसामीको छाला काढेर सुकाउने ठाउँ खोज्दै हिँड्दा पाँचथर,नाम्सेलिङको सेहोनाम्लाङमा आइपुगेर छाला सुकाए । नाम्सामीले छाला सुकाउँदा गाडेका खुटिका डोबहरू आजसम्म प्रष्ट देखिन्छन् । छाला सुकेको ठाउँ हुँदा यस ठाउँमा अझैसम्म झार उम्रिएको छैन । घाम झुल्कदा पहिले आइपुग्ने र अस्ताउँदा पनि त्यहाँ अन्तिम अवस्थासम्म रहने गर्छ । भने थेवा युमा युङ्देन गुफामा केसामी ( बाघ) बस्ने गरेको गुफा हो सेहोनाम्लाङको मुन्धुम फूल जगाउने संस्कारसँग सम्बन्धित छ ।
विशेषगरी तरुणी–तन्देरीको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ । आमा इप्नासो सरङ्थङ्नाले मनुष्यको प्रतिक स्वरूप सिल्लरी फूल र बाघको प्रतिकस्वरूप बाबरी फूल कलश राखेकी थिइन् । केसामिको पराजयसँगै बाबरीफूल ओइलाउँछ । नाम्सामीले बाघ भएका दाजु केसामीको सर्वनास गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको पाइन्छ । नाम्सामीले छालासँग मानिसलाई आवश्यक कुराहरू साटेर ल्याएको चर्चाले उ बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणालीको पनि सुरु भएको देखिन्छ ।
वास्तवमा सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झझल्को दिन्छ । वास्तवमा मान्छेको जोवानसँग फूललाई दाँजेर हेर्ने लिम्बूको छुट्टै विशेषता हो । यसरी याक्थुङ्बा लिम्बूहरूको सबैभन्दा आस्थाको नजिक साँस्कृतिक धरोहरको रूपमा सेहोनाम्लाङलाई पाउन सकिन्छ । अहिले सेहोनाम्लाङलाई छालासुकुवा डाँडाको रूपमा सीमित गरिएको छ । यो राष्ट्रिय बिभुती फाल्गुनन्दले ध्यान गरेको स्थलपनी हो । उक्त क्षेत्र धार्मिक पर्यटकिय स्थलको सम्भावना रहेकोले डिपिआर गरी गुरू योजना शुरु गर्ने पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताएका छन् ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वधार,खानेपानी सुशासन क्षेत्रको बिकाससँगै धार्मिक तथा पर्यटन प्रवर्द्धनका लागि अध्ययन,प्रवर्धन,प्रचार,संरक्षणका लागि स्थानिय सरकार जुट्नुपर्ने देखिन्छ ।