सरला रेग्मी,
पाँचथर । सटल (ढाका घान लगाउने) र कङि ( ठोक्नेकाम )को ट्याक ट्याक आवाजमा एउटा लामो संघर्ष सुनिन्थ्यो । त्यहाँ पसिनाले पनि छोरा छोरिको भविष्य लेख्न सकिदो रहेछ देखिथ्यो । साँगुरो कोठाभित्र एउटा फराकिलो हौसला र संघर्षको कथा भेटियो,
अनि त्यो कथा लेख्ने एउटि एकल आमा ।
फुलेका कपाल पन्साउदै धागोको लट्टा मिलाउन त्यो चस्माले सहायता गरेको छ । समय र कठिन परिस्थितिमा जुध्नेमान्छेका कथा साच्चै कारुणिक मात्र देखिदैनन, हौसलाका सुगन्ध पनि भेटिन्छन् ।
ढाका बुन्ने लामो तानमा घान लगाउदै थिइन सीता, साडिको अडर जो सक्नु छ उनलाई । १४ बर्षकी थिइन सीता जब उनले पहिलो पटक ढाकाको टोपी बुनेकी थिइन । रहरले उनलाई टोपी बुन्न मात्र सिकायो तर असहज परिस्थितिले साडी, ओड्ने, र चोलोको कपडा बुन्न सिकाएको छ ।
पाँचथरको चोकमागुमा जन्मेकी सीता अर्याल छिमेकी दिदिहरुसँग उनले टोपी बुन्न सिकिन २०४२ सालमा बिबाह गरेर जब उनी गाइघाट पुगिन । तब उनले २०४९ सालमा साडी कुर्ता, ओड्ने बुन्न सिकिन । पहिलो सन्तान छोराको जन्म भयो,परिवार राम्रै चल्दै थियो । दुई सन्तान त चाहिन्छ भन्ने लाग्यो र उनले दोस्रो सन्तान जन्माउन चाहाना राखिन, जब दोस्रो सन्तान आँउनेक्रममा थियो । श्रीमानसँगको जीवन यापन गर्न कठिन भयो र उनले सम्बन्ध बिच्छेद गरिन ।
त्यो पछाडी उनको संघर्षमय जिवन शुरुभयो । शुरुको समय निकै कष्टपुर्ण भयो । उनी भन्छिन् सीप सिकेको थिए र अलि सहज भयो । जब दोस्रो सन्तान छोरीको जन्मभयो, छोरी तीन महिनाकी हुँदा देखि ढाका बुन्न शुरु गरिन । पाँचथरको फिदिममा जहाँ डेरा गरेर बसिन त्यँही बाट ढाका उद्योग संचालन गरिन । छोरा छोरीको पढाइलेखाइ, घर धान्न मुस्किल मुस्किल हुन्थ्यो । एकल आमा हुँदा लाञ्क्षना लाग्लाकी भन्ने उस्तै डर हुने । उनी भन्छिन् ‘कठिन परिस्थितिमा पनि हार खान चै छोडिन’ ।
दुई छोराछोरी सानै हुँदा, श्रीमानसँग एक्लिएर बस्नु पर्यो । बालबच्चा सानो हुँदा गरेको संघर्ष सुनाउदा बेला बेला शब्दलाई विश्राम दिदै लवज रोकिन्थ्यो उनको । उनलाई छोरोलाई इन्जिनियर बनाउने सपना थियो । तर आर्थिक अभावका कारण पढाउन सकिनन। आशावादी मुस्कान सहित उनी भन्छिन् ‘बाचेछु भने नाति नातिनालाइ पढाउने छु इन्जिनियर ‘।
मनिशा सिलाइ बुनाइ ढाका उद्योग तथा प्रशिक्षण सेन्टर, नाममा अहिले उनले आफ्नो ढाका उद्योग खोलेकी छन् । उनकोमा ६ वटा तान छ । ५ जनालाई रोजगारी दिएकी छन् । खर्च कटाएर महिनाको २५/३० हजार कमाइ हुने उनले बताइन् । उनकोमा धेरै प्रकारको ढाकाका सामाग्री पाइदैन, उनले अहिले साडी, ओड्ने र चोलोको कपडा मात्र बुन्ने गरेकी छन् । एउटा साडि बुन्न उनलाई १ हप्ता लाग्छ । त्यस्को मूल्य ४ हजार ५ सय रुपैया लिनेगरेकी छन् । उनले हजारौंलाई यो सीप सिकाएकी छन् ।
गाउँगाउँमा प्रशिक्षक भएर जादा धेरै सङ चिनजान भएर उनले बुनेका साडी, ओड्ने, चोलाका कपडा गाउँतिर नै जाने गरेको उनले बताइन् । काम गर्दामात्र आम्दानी हुने हुँदा बिहान ६ बजेदेखी बेलुका ८ बजे सम्म काम गर्ने उनले बताइन् । अब परिवार बढेको छ । छोरिको बिबाह भएर सन्तान भैसक्यो, फिदिमकै बिद्यालयमा उनी अध्यापन गराउछिन । छोरा बुहारी बिदेश गएर कमाएर काठमाडौमा सानो भिटाकिनेर होटल गर्दै छन् ।
अब त बुढिभैसक्नु भयो छोरा बुहारीसँग किन नबस्नु भएको ?
प्रश्नमा उनी भन्छिन् – ‘यहि पेशाले यत्रो सृष्टि बनाए । छोडेर जान सक्दिन । सकुनजेल गर्ने भनेर हो ‘।
एकल महिलालाई हेर्ने दृष्टि नै समाजको फरक हुन्छ । श्रीमान सँग सम्बन्ध बिच्छेद हुँदा उनी २७ बर्षकी थिइन, उनको पसल बाहिर अधबैंसे लोग्नेमानिस आएर बोल्न खोज्थे, तीन दिन जति धाउथे पनि तर उनले भनिन म आफ्नो काम भन्दा र छोराछोरिको भविष्यभन्दा अरुथोक मैले देखिन । पछि आफै आफै ती लोग्नेमान्छे आउन छाडे ।
उनी आफू जस्तै महिलालाई सीप सिक्न अनुरोध पनी गर्छिन् । दिनभरी घरबसेर अरुसँग १/१ रुपैयाको लागि हात थाप्नु भन्दा काम गर्ने हो भने एक हप्तामा एउटा साडी सकिन्छ । हप्तामा ४ हजार ५ भनेकोपनी थोरै हो त? मुन्टो हल्लाउदै उनले प्रश्न गरिन । अरुले दिएको लाख भन्दा आफ्नु हजार नै ठिक होइन र ? आफुले कमाएको महत्त्व छुट्टै हुन्छ । उनले कमाएर आफै फिदिममा घर पनि बनाएकी छन् ।
उनले स्थानिय सरकार सँग त्यत्रो ठूलो केहि अपेक्षा गरेकी छैनन् । उनी भन्छीन सीप सिक्न महिलाकोलागी एउटा हल बनाइदिनु, सीप सिक्ने बाताबरण बनाइदिनु अनि स्थानिय स्तरमा सिपको मूल्य बन्ने परिस्थिति बनाइदिए राम्रो हुन्थ्यो । उनी भन्छिन म जस्ता एकल महिलाको लागि आत्म निर्भर बन्ने परिस्थिति मात्र बनाइ दिए पुग्छ ।