झापा । झापाको मेचीनगर नगरपालिका १० स्थित धुलाबारी बजारमा घाँटीमा लगाएको सुनको सिक्री थुते भाग्ने एक जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० वर्षीय निरज राय रहेका छन् ।
रायले हिजो (शुक्रबार) बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ की ५० वर्षीया गीता अधिकारीले घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाबारे स्थानीय प्रहरी कार्यालयमा खबर गरिएको थियो ।
घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्रीसहित रायलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।