सरला रेग्मी ,
धरान । धरानको पुर्वान्चल ज्ञानचक्षु बिद्यालयमा कक्षा १० मा अध्ययनरत रेजिना दृष्टिबिहिन छात्रा हुन् , उनको घर सुन्दर हरैचामा पर्छ । उनले आफ्नी आमालाई हरिया पहेला चुरा ल्याइदिनु भनिन, अनि चुराले हात सजाएकी छन् ।
धरान मन्टेश्वरी नर्सरी पढ्ने अक्षताले पनि रहर गरिन उनकी आमासँग चुरा र मेहन्दि लगाउन उनी बजार आएकी हुन् ।
यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरा र मेहन्दिमा सजिएको देखिन्छ। साउन लाग्नु पुर्व नै प्राय सबै धर्म मान्ने महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। बिशेषत पहेँलो र हरियो चुरा अनि मेहन्दि महिलाहरूको रोजाइमा परेको छ । या भनौ बजारमा फेसन नै देखिन्छ ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।
बिशेषगरि केही समय अगाडि हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्नेगरेको छ ।
४७ बर्षिय देबि खड्का भन्छिन् ‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। हामिहरु आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थ्यौ । हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ ।उनले भनिन आजभोलि सहज छ बजार गयो जता ततै डिजाइनवाला मेहन्दी लगाउन पाइन्छ ।
ज्वोतिष तथा बास्तुशास्त्री प्रदिप शर्माका अनुसार श्रावन शिवको महीना हो । शिवलाई पहेंलो रंग मनपर्छ । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो। खासै हरियो चुरा र मेहन्दी संँग धार्मिक महत्व नरहेपनी हरियो रङ सौभाग्यको प्रतीक मानिएको कारणपनि महिला आकर्षित भएका हुन् । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।
धरान बिजयपुरकी सनिक्षा भन्छिन् साउनमा हरियो चुरारमेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने हजुराआमाहरुले भन्ने गरेको सुनेकी हुन् । तर पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रुपमा पनि चुरारमेहन्दी लगाइएको कतिपयको बुझाइ छ ।शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र श्रीमानको आयू समेत बढने धार्मिक विश्वास गरेको देखिन्छ ।साना बालिका, युवती, अधबैंसे नारी हुन् या बृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। पहेंलो र हरियो चुरापोते र मेहन्दी लगाउन बाटोघाटोमा चहल(पहल निकै देखिन्छ।
नारीमा यो महिना चुरा र मेहन्दी लगाउने सोख र होड चलेपछि चुरा पसको पनि व्यापार फस्टाएको छ। धरानबजारको भानुचोक नजिकका सब्जिमन्डिस्थित बाटोमा असारदेखि नै हरियो चुराको बिक्री बढेको देखिन्छ । एक व्यवसायिले भनिन एकजनालाई मेहन्दी लगाएको १ सय ५० लिन्छौ उनले भने आज करिब ३० जनालाई मेहन्दी लगाए । व्यस्त चुरा पसलकी व्यवसायी भन्छिन चुरा एक दर्जनको ८० रुपैया लिने गरेको छु ।
साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ। यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको बताइन्छ।
चुरापोते र कपडासँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास गर्नेहरु पनि उत्तिकै छन् ।