सरला रेग्मी ,
धरान। साउने संङ्क्रान्तिलाई सिसेक्पा तङ्नाम भनेर बिशेषत किराँती समुदायले आज मनाउँदैछन् । सिसेक्पा तङ्नाम पर्वले अनिकाल भगाउने संकेत भन्ने मान्यता राखिन्छ ।विशेषत मकै थन्क्याउने र धान रोपिसकेपछी हिलो, चिसो बाट सफा सुग्घर भै मीठो मसिनु खाने बेला भयो भन्ने संकेतपनि हो ।
फिदिम बजारमा फेन्सि पसल संचालन गर्ने गुनु नेम्वाङलाई सिसेक्पा तङ्नाम बारे थाहाछैन तर साउने संक्रातिमा भने
आफ्नो इष्टदेवको सम्मानमा बाजे, बजुले नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा भने उनले देखेकी थिइन । सानोमा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्न लगाएको उनलाई खुब सम्झना छ ।
पाँचथर जिल्लाका नेपाली काङ्ग्रेसका पुर्व सभापति नरेन्द्र केरुङ अहिले फिदिम बजारमा बस्छन् । बजारमा मनाउदा अलि अनौठो देखिने रहेछ । अहिले यो पर्व बजारमा नमनाएपनी पहिला गाउँघरना सिसेक्पा तङ्नाम बनाएको सम्झना उनलाइ अझै छ । उनी सम्झन्छन् सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्थ्यो । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । घरमा भएको थोत्रो डोकोमा सिस्नु हालेर एकजनाले बोक्थे अनि घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई खेदाएर निकाल्ने गर्थ्यौ, त्यो बेला दशै भन्दा रमाइलो भएको उनलाई सम्झना छ ।
केरुङ भन्छन् ‘गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र मैझारो भयो भन्ने संकेत पनि हो । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके भन्ने संकेत हो । पौराणिक मान्यतापनी भएको कारण श्रावण महिनाबाट दिनहरु छोटिने र रात लम्बिने हुन्छ र श्रावण संक्रातिबाट सुर्यले दक्षिणतर्फको यात्रा तय गर्ने हुँदा महत्त्व मानिन्छ’ ।
श्रावण महिनामा मकै पाकी थन्क्याउने र धान रोपि सक्ने अवस्था भएको हुँदा अनिकाल खेद्ने भगाउने र यो बर्षभरी खान पाइनेभयो भनी रमाउने दिन मानिन्छ । गाउघरतिर अझै पनि कुरिलो जलाउने, बालुवा र कोदोको पिठो भुट्ने, राको बाल्ने र हरेक घरबाट अगुल्टो निकाल्ने, गाउँभरिका युवायुवती भेला हुने गित गाउदै नाच्दै डोकोमा सिस्नु हालेर घर घरका कुना काप्चामा अनिकाल भगाउने चलनबाट सिसेक्पा तङ्नामको सुरुवात भएको याङ्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपती राजेन्द्र जबेगुले बताएका छन् ।
उनले भने -‘बिशेषगरि ताप्लेजुङ, पाँचथर, इलाम, झापालगायत पूर्वका जिल्लामा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई आवश्यक अन्न, फलफूल र पात सङ्कलन गरी ल्याउने गर्दछन् ।
हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि झुन्ड्याउने चलन छ । त्यसपछि परिवार भेला भएर घरमा जे भएको अन्न, फलफूल र अन्य परिकार खाएर रमाइलो गर्दछन् ।
पूर्वका किराँत, लिम्बू, राईले सिसेक्पा तङ्नाम तराईका थारूले गुलिया पर्व र पश्चिमका मगर आदिले साउने सङ्क्रान्ति भनेर र हिन्दुधर्मावलम्बिले शिवको महिना भनेर श्रावण महिनालाई पबित्र महिना मानिन्छ ।