पाँचथर । नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने नगदेबालिको रुपमा परिचीत अलैंचीलाई ‘मसलाकी रानी, कालो सुन’ उपनाम दिइन्छ । नेपाली अलैंची भारत हुँदै पाकिस्तान, बंगलादेशलगायत विभिन्न मुलुक पुग्ने गरेको छ । अलैंची कृषिजन्य वस्तुमध्ये सबैभन्दा मंहगोमा भारतीय बजारमा निर्यात हुनेमा पर्छ । अलैंचीको निकासीबाट वार्षिक करोडौं रुपैयाँ नेपाल भित्रने गरेको थियो ।तर, भारतीय बजार निर्भर निर्यातले अलैंची क्षेत्रमा पटक–पटक संकट देखापर्ने गरेको छ । मसलाकी रानीमा आएको संकट हटाउन र विश्व बजारमा अलैँचीलाई प्रवर्द्धनका लागि ‘बीबीसी मास्टरसेफः द प्रोसेनल्स रिम्याच’का विजेता विजेता सेफ सन्तोष साह नेपाली अलैँचीको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ ।
नेपाल अलैँची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एसडीसी.) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा थालेको ‘वाह! अलैँची’ अभियानको प्रवर्धनका लागि साहलाई ब्रान्ड एम्बेसडर घोषणा गरिएको हो ।
“नेपाल विश्वको सबैभन्दा बढी अलैँचीको उत्पादक राष्ट्र भए पनि हाम्रो आफ्नै आन्तरिक बजारमा यसको खपत निकै कम छ,” नेपाल अलैँची व्यवसायी महासंघका पूर्वअध्यक्ष राजकुमार कार्की भन्छन्, “नेपालका ५३ जिल्लाको १७ हजार हेक्टरमा अलैँचीको खेती हुने गरेकोमा १२ हजार ५ सय हेक्टरमा यसको उत्पादन हुन्छ ।”
कार्कीका अनुसार नेपालमा वार्षिक ६ हजार मेट्रिक टन उत्पादन हुने गरेकोमा ९६ प्रतिशत विदेश निर्यात हुन्छ । महासंघले दिएको जानकारीअनुसार नेपालमा ६ हजार ६ सय मेट्रिक टन अलैँची उत्पादन हुन्छ, जुन विश्व बजारको ५५ प्रतिशत हो । अलैँची पूर्व पहाडी जिल्लाका कृषकहरूको आम्दानीको मुख्य स्रोत हो।
पछिल्लो समय अलैँचीको मुल्यमा भएको गिरावट र अलैँचीमा लागेको रोगको कारण पूर्वी पहाडका किसान निरास थिए । पुर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङमा नै बोट मर्ने समस्या देखिएको छ ।
“यहाँ खपत हुने ४ प्रतिशत पनि भरखर बढ्न थालेको हो, नभए केही वर्षअघिसम्म २ प्रतिशतमात्र खपत हुन्थ्यो, ” महासंघका अध्यक्ष निर्मल भट्टराई भन्छन्, आन्तरिक खपत नबढ्नुमा हामी उत्पादक, उपभोक्ता र सरकार सबै जिम्मेवार छौं । हामी ग्वाटेमालादेखि सुकुमेल किनेर खान्छौं तर विश्वकै उत्कृष्ट मानिएको अलैँची भनेर खाने बानी नै बसाउन सकेका छैनौं ।”
अलैँची व्यवसायी महासंघका अनुसार सन् २०२१ मा सुकमेलको आयात ५६४ मेट्रिक टन थियो भने नेपाली ठूलो अलैँचीको आन्तरिक बजारमा खपत १०० टनभन्दा कम थियो । नेपाली उपभोक्ताले एक सय ग्रामको रु. १०० देखि रु. १५० सम्ममा खुद्रा बिक्री हुने नेपाल अलैँचीको मूल्यको तुलनामा अहिले १०० ग्रामको सुकमेलको रु. ४०० देखि र ५०० सम्म ब९ी मूल्य तिरिरहनु परिरहेको महासंघले बताएको छ ।
घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैँचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्न ‘वाह! अलैँची’ अभियान थालिएको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइले बताए। यो अभियानले नेपाली अलैँचीको परम्परागत मूल्य र नेपाली परिकारमा यसको प्रयोगलाई महत्वपूर्ण सामग्रीका रूपमा बढाउने मात्र नभई आर्थिक गतिविधिसमेत बढाउने महासंघद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अभियानको ब्रान्ड एम्बेसडर साहले नेपाली अलैँचीलाई घरेलु बजारमा प्रवर्धन गर्न विशेष परिकार रेसिपी तयार पारेर अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गरिने बताए । “लार्ज कार्डमम, ब्ल्याक कार्डमम हैन, अलैंची भनेको अलैँची हो, यसलाई अलैँचीका रुपमा नै प्रवर्धन गरिनु पर्छ,” सेफ साहले भने, “यसका लागि नेपाली होटल तथा रेष्टुँराका मिनुहरूमा अलैँची हालेका परिकार सामेल गर्न अभियान चलाइएको हो ।”
अलैँचीलाई खानाका सबै परिकारमा स्वादिष्ट रुपमा प्रयोग बढाउने अभियानअन्तर्गत काठमाडौंको गेट कलेजसहित चितवन र विराटनगरका होटल व्यवस्थापन कलेज र सीप विकास शैक्षिक प्रतिष्ठानहरूमा अलैँची हालेका परिकार बनाउन युवा आकांक्षी प्रशिक्षार्थीहरूबीच पहिलो चरणमा स्पर्धा पनि गराइएको थियो । दोस्रो चरणमा सेफहरूबीच स्पर्धा गराइ ‘वाह! अलैँची’ पुस्तक प्रकासित गरिने साहले जानकारी दिए ।
यो प्रतियोगिताले सेफहरूलाई आफ्नो पाक कलामा अभिवृद्धि गर्न र नेपाली अलैँचीलाई नयाँ तरिकाले प्रयोग गर्न मञ्च प्रदान गर्ने महासंघको विश्वास छ ।
कार्यक्रममा बोल्दै होटल एसोसियसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले नेपालका होटलहरूको सेवासत्कार मौलिक हुनुपर्छ भन्दै यसका लागि हानले अलैँचीका परिकार प्रवर्धनका लागि होटलहरूको मिन्युमा राख्न पहल गरिने जानकारी दिइन ।
नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन कप्लरले नेपाल ठूल्ठूला मुलुकका बीचमा रहेको र तिनले सस्ता चिज उत्पादन गरेर नेपालमा बेचिरहेको अवस्थामा नेपालले अलैँची, चिया, गुन्द्रुकजस्ता आफ्नै मौलिक उत्पादन बढाउनेमात्र नभइ तिनको गुणस्तरमा पनि ध्यान दिएमा तुलनात्मक लाभ लिन सक्ने बताइन ।