पाँचथर– फिदिम नगरपालीका–४ जोरसाल बजारमा पाक्षिक हटिया पुन सञ्चालनमा आएको छ । शुक्रवार हटियाको उद्घाटन गरीएको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र मेची राजमार्ग जोडिने यो स्थानमा निक्कै पुरानो हटियालाई पुनः सञ्चालनमा ल्याएको हो ।
करिब ३६ बर्ष अगाडी बन्द रहेको पुरानो बजार पुनः सञ्चालनमा भएको हो । खोजकर्ता लक्ष्मण लावतीका अनुसार यहाँको हटिया २०४३ सालबाट बन्द भएको हो ।
जोरसाल बारे थप जानकारी यो लिङकमा हेर्नु होला ः इतिहास : त्यस बखतको जोरसाल
औँसी र पूर्णीममा मेला लाग्ने गरी हटिया पुनः स¬¬ञ्चालनमा ल्याईएको वार्ड अध्यक्ष उपेन्द्र लावतीले बताए । हटियाको फिदिम नगरपालीकाका मेयर मित्र प्रसाद काफ्लेले उद्घाटन गरेका थिए । स्थानीय उत्पादनको विक्रि वितरणका लागि यो हटिया महत्पूर्ण हुने मेयर काफ्लेले बताएका थिए ।
वार्डको पहल स्थानीय देउराली युवा क्लबले सञ्चालन गर्ने गरी हटिया पुनः सञ्चालनमा ल्याइएको हो ।
मेची राजमार्ग र पुष्पलाल (मध्यपहाडी) लोकमार्ग यहाँ जोडिएको छ । यहिबाट मध्यपहाडी लोकमार्ग तेह्थुमतर्फ अघि बढ्छ । यो ठाँउ निक्कै पुरानो बजारको रुपमा रहेको छ । यहाँ पाँचथर र तेह्थमुका विभिन्न गाँउको बजारको रुपमा रहेको थियो ।
विगतमा प्रशासकिय अड्डा समेत रहेका थिए । ऐतिहासिक हटियालाई निरन्तरता दिदै स्थानिय उत्पादन विक्रि वितरणका लागि हटिया सञ्चालनमा ल्याइएको वार्ड अध्यक्ष लावतीले बताए ।
हटिया उद्घाटनको अवसरमा रोपाईजात्रा, लाखे प्रर्दशन गरीएको थियो ।