बिराटनगर । प्रदेश १ सरकारले आगामी जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय भएको बताए ।
यसअघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर सुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरूलाई दिएका थिए ।
मंगलबार प्रदेश १ संसद्का विपक्षी दलका नेताहरूसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसद्मा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए ।
तर, बुधबारको मन्त्रीपरिषद् बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरिरहेका छन्।
यसअघि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुख सम्मलाई भेटेर दबाब दिँदै आएका थिए ।
असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो।