पाँचथर– पाँचथर र तेह्थुमका जिल्ला अस्पताललाई ५० शैयामा स्तरउन्नतीगर्ने निर्णय भएको छ । १ नम्बर प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वे (ओ एण्ड एम) स्वीकृत गरी अस्पताललाई ५० शैयामा स्तरउन्नती गर्ने निर्णय भएको हो ।
शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले जानकारी दिए ।
अहिले दुबै अस्पताल १५ शैयाका हुन् । १५ शैयाको अस्पतालबाट स्तरउन्ती गर्नु पर्ने माग भएको धेरै भएको थियो । पाँचथर जिल्ला अस्पतालमा ५० शैयाको भवन निर्माण भईसकेपनि १५ शैयाकोमात्र अस्पताल सञ्चालनमा रहेको छ । तर तेह्थुम जिल्ला अस्पतालमा ५० शैयाको अस्पतालको भवन बनाउने पर्ने हुन्छ ।
डाक्टर, कर्मचारी, उपकरण लगायतका के के आवश्यकता रहेको छुट्याउन ओ एण्ड एममा हुन्छ । संघिय सरकारको मापदण्ड र सहयोगमा प्रदेशको विज्ञ टोलिले यो सर्वे गरेको आङबोले जानकारी दिए । अब मापदण्ड अनुसार दरबन्दी परिपूर्ती र उपकरणको व्यवस्थापन हुने छ ।
लामो समयदेखि पूर्वी पहाडी जिल्लामा ५० शैयाको अस्पताल सञ्चालन हुनु पर्ने माग भईरहेको थियो । पहाडी जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा तराईका नीजि अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको छ । पचास शैयाको अस्पताल बनाउने चर्चा भएको बर्षौ भईसकेको छ ।
‘यि अस्पताल पचास शैया बनाउने अत्यान्त महत्पूर्ण निर्णय गरिएको छ । पूर्वी पहाडी जिल्लाका बासिन्दालाई ठुलो राहत पुग्ने छ’ मन्त्री आङबोले भने ‘दरबन्दी परिपूर्ती र उपकरण व्यवस्थापन भएपछि चाडै पचास शैयाको अस्पताल सञ्चालन हुने छ ।’
‘जिल्ला अस्पताललाई ५० शैया बनाउने विषय प्रमखु प्राथमिकतामा राखेको थिए । ५० शैया सञ्चालन भएपछि विशेषज्ञ डाक्टर र उपकरणको प्रबन्ध हुन्छ, यसले यो क्षेत्रका बासिन्दालाई ठुलो राहत पुग्छ’– आङ्बोले भने ।