काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदानबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ पहिलो नम्बरमा रहने उम्मेदवारको नाम टुंगो लगाएको छ। पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच पहिलो नम्बरमा बस्न हानथाप भएपछि मतदान नै गरिएको हो।
विवाद मिलाउन राप्रपाले सोमबार निर्वाचन गरेको थियो। कार्यसम्पादन समिति सदस्यहरूले मतदानमा भाग लिएका थिए। राणाले ११ र लोहनीले ९ मत ल्याएको एक पदाधिकारीले बताए।
‘लोहनीलेभन्दा २ भोट बढी ल्याएपछि राणालाई समानुपातिक उम्मेदवारको खसआर्य सूचीको पहिलो नम्बरमा राखियो। त्यसपछि लोहनीको नाम राखिएको छ,’ ती पदाधिकारीले भने।
सोमबार कार्यसम्पादन समितिमा २४ जनामात्रै उपस्थित रहेकोमा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदानमा भाग लिएका थिएनन्। राणा र लोहनी पनि मतदान हुनुअघि नै बैठकबाट बाहिरिएको ती पदाधिकारीले बताए।
निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फको बन्दसूची पेश गर्न असोज २ र ३ गते समय दिएको थियो। आयोगले अहिले केही संशोधन गर्नपर्ने भए संशोधन गर्न दलहरूलाई समय दिएको छ।
मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ।