काठमाडौँ । पार्टीकाे चुनावमा अस्वीकृत तर जनमत भएका कांग्रेसका दोस्रो तहका नेताहरू पार्टीभित्र विद्रोह गर्न तयार छन् । तर, विद्रोह कस्तो हुन्छ त्यो भने सार्वजनिक गरेका छैनन् । १४ औँ महाधिवेशनमा प्रदेश १ को सभापतिमा पराजित गुरुराज घिमिरे, बागमती प्रदेश सभापतिमा पराजित जगदीशनरसिंह केसी, कर्णाली प्रदेश सभापतिमा पराजित भुपेन्द्रजंग शाही, केन्द्रीय सदस्यमा पराजित मनाेजमणि आचार्यलगायतका नेताहरू ‘समान अवसर र न्यायका निम्ति’ अभियानमा छन् ।
उनीहरूले शनिबार खबरदारी सभा गरे भने सोमबार बैठक राखेर ‘आक्रोशको कार्यक्रम’ तय गरे । जसमा पार्टी केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, दिनेश कोइराला, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेहीलगायतका नेताहरूको साथ छ । सभापति शेरबहादुर देउवाकाे कार्यशैलीकाे विराेधमा विनम्रताको चरणबाट आक्रोशको चरणमा पुगेको आन्दोलनअन्तर्गत पार्टी कार्यालयदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म घेर्ने तयारी छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सत्ता गठबन्धनसँग सिट बाँड्ने र पार्टीको संसदीय बोर्ड बैठकसमेत राख्दै आएका छन् ।
सोमबार ठमेलस्थित होटल यात्रीमा भएको भेलाले समान हक र न्यायका लागि नेतृत्त्वलाई दबाब दिन विरोधका कार्यक्रम तय गरेको नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरूको नाम समावेश गर्न दबाब दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना दिने कार्यक्रम तय गरेको छ । त्यसको परिणाम हेरेर बालुवाटारमा धर्ना दिने तयारी सो समूहको छ ।
‘पार्टी कार्यालयपछि बालुवाटारमा धर्ना दिने कार्यक्रम तय हुन्छ । सानेपाको कार्यक्रमपछि बालुवाटारमा धर्ना दिने कार्यक्रमको खाका आउँछ,’ नेता शाहीले भने । असोज १३ गते इतर समूहका पहिलो तहका नेताहरूसँग छलफल गर्ने निर्णय भेलाले गरेको छ । पार्टी सभापतिसँग के कुरा भइरहेको छ भन्नेबारे बुझ्न बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा कार्यक्रम गरेर नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका इतर समूहका नेताहरूसँग छलफल गरिनेछ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले मनोमानी गरेको र इतर समूहलाई बेवास्ता गरेको भन्दै शेखर कोइराला समूहले आन्दोलनको घोषणा गरेको हो ।
सो समूहले पार्टीमा सम्मानजनक भाग नपाए ‘बागी’ उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएका छन् । इतर समूहका नेताहरूले बागी उम्मेदवार उठाएर गठबन्धन इतरका दलहरूसँग तालमेल गर्ने समेत चेतावनी नेतृत्वलाई दिएका छन् । समानुपातिक सूची बुझाउँदा आफ्नो समूहलाई १० प्रतिशत मात्र भाग दिएको भन्दै सभापति शेरबहादुर देउवासँग कोइराला समूह रुष्ट छ । १६ असोजसम्म सूची नसच्याए गठबन्धनविरुद्ध अभियान चलाउने भेलाले निर्णय गरेको एक नेताले जानकारी दिए ।
उनका अनुसार टिकट वितरण गर्दा सम्मानजनक भाग नपाए गठबन्धनबाहेकका एमाले, लोसपालगायत दलहरूसँग सहकार्य गरिनेछ । ‘सम्मानजनक भाग नपाए हामीले बागी उम्मेदवार उठाउने र गठबन्धनबाहेक अन्य दलसँग सहकार्य गर्नेसम्मको निर्णय गरेका छौँ । यसबारे इतर समूहका शीर्ष नेताहरूलाई जानकारी गराउँछौँ,’ सो अभियानमा सक्रिय एक नेताले भने, ‘नेतृत्वले सच्चिएर समान व्यवहार गरे ठीक छ, नत्र अब हामी चुप लागेर बस्दैनौँ ।’
पार्टी पंक्तिलाई खबरदारी
दोस्रो तहका नेताको अभियानमा इतर समूहका शीर्ष नेता तथा पदाधिकारी र टिकटका आकांक्षी कोही पनि देखिएका छैनन् । तर, उनीहरूलाई भने जानकारी दिइएको छ । ‘नेता तथा पदाधिकारीलाई हामीले नबोलाएकै हौँ । उहाँहरूलाई पनि जानकारी छ,’ नेता गुरुराज घिमिरेले भने, ‘उहाँहरूलाई पनि खबरदारी हो ।’ सो अभियानमा देखिएकी केन्द्रीय सदस्य प्रतिमा गौतमको धारणा पनि उस्तै सुनियो । ‘हाम्रो खबरदारी संस्थापन समूहलाई मात्र होइन, सम्पूर्ण पार्टी पदाधिकारीलाई हो,’ गौतमले भनिन् ।
देउवाका सात विकल्प
पेलेरै जाने
देउवासँग भएको विकल्पमध्ये सिधा विकल्प भनेको पेलेरै जाने हाे । पेलेरै अघि बढे विद्रोह हुने चेतावनी इतर समूहको छ । उनीहरूले भनेको विद्रोह पार्टीमा देखिन थालिसकेको छ । अहिले विद्रोहको चरणमा प्रवेश गर्दै गरेको आन्दोलनमा टिकटका आकांक्षी छैनन् । जसले गर्दा देउवा दोस्रो तहका नेतालाई सम्बोधन नगरी अघि बढ्न सक्छन् ।
तर, असोज १३ गते गर्ने सो समूहको चियापन कार्यक्रमबाट आउने निष्कर्ष निर्णायक हुने देखिन्छ । सो कार्यक्रममा इतर समूहका शीर्ष नेता, पार्टी पदाधिकारी सहभागी हुनेछन् । गठबन्धन गर्दा धेरै नेताहरूले टिकट पाउँदैनन् ।
‘आधाभन्दा बढी नेताले टिकट पाउँदैनन् । तैपनि कुरा मिल्छ । पार्टी छोडेर जाने भन्ने कुरा पनि रहेन । यत्रो वर्ष लगानी गर्नुभएको छ,’ देउवानिकट केन्द्रीय सदस्य बहादुरसिंह लामाले भने, ‘हिजोको दिनमा पार्टीले अवसर पाएको छ र भोलिका दिनमा पनि पाउँछ । योपटक सबै कुरा सकिने होइन ।’
इतर समूह फुटाउने
देउवासँग भएको अर्को विकल्प भनेको इतर समूह फुटाउने हो । तर, तत्कालका लागि यो प्रयास असम्भव हुन सक्छ । गठबन्धन गर्नेदेखि सरकारका हरेक गतिविधिको औचित्य खोज्ने महामन्त्री गगन थापा इतर समूहमा छन् । शेखर कोइराला र उनको बोन्डिङमा खेल्न देउवालाई त्यसको पनि औचित्य पुष्टि गर्न थापाको चुनौती हुन सक्छ ।
प्रजातान्त्रिक अभ्यास भएकाले पार्टीभित्र संस्थापनको विपक्षमा बलियो इतर समूह हुनपर्ने कुरामा विश्वास राख्छन् महामन्त्री थापा । इतर समूहमा रहेका कार्यकर्ता तान्ने तथा तल्ला तहका नेता आफ्नो समूहमा तान्न देउवा माहिर मानिन्छन् । कृष्णप्रसाद सिटौला समूह, प्रकाशमान सिंह समूह तथा विमलेन्द्र निधि समूह पनि देउवाले आफ्नो समूहमा विलय गराएका छन् । अहिले शेखर समूहलाई कमजोर पार्न मुस्किल पर्नेछ । कांग्रेसको कोइराला विरासत पनि शेखर कोइरालामा छ ।
मुख्यमन्त्री र प्रदेशसभामा भाग दिने
प्रतिनिधिसभाका आकांक्षीलाई मुख्यमन्त्री दिने गरी इतर समूहका नेता व्यवस्थापन गर्ने विकल्प देउवालाई छ । यसो गर्दा कांग्रेसका आकांक्षी पनि व्यवस्थापन हुने र कमजोर प्रदर्शन गरेर मन्त्री भर्तीकेन्द्र बनाएको आरोप लागेको प्रदेशसभालाई बलियो पार्ने विकल्प पनि हुन सक्छ ।
प्रतिनिधिसभाको समानुपातिक तथा प्रत्यक्षको टिकट आकांक्षीलाई प्रदेशसभामा व्यवस्थापन गर्ने विकल्प देउवासँग छ । यसका लागि उनले शेखर–गगनलाई मनाउनुपर्ने छ । त्यस्तै शेखर–गगनले पनि आकांक्षीलाई मनाउन पर्नेछ । केन्द्रका प्रभावशाली नेता मुख्यमन्त्री भएपछि अन्य आकांक्षीलाई पनि प्रदेशको मन्त्रीको उधारो आश्वासन दिन सकिन्छ ।
धेरै सिट कांग्रेसले राख्ने
देउवासँग भएको विकल्प गठबन्धनमा धेरै सिट लिने हो । यसो गर्दा गठबन्धनका अन्य दललाई चिढ्याउनुपर्ने हुन्छ । ‘गठबन्धलाई धोका दिन्न’, ‘कांग्रेस सत्तामा यसै पुगेको होइन’ भनेर देउवाले पार्टीको आन्तरिक बैठकमा भन्दै आएका छन् । यसले कुनै हालतमा गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा देउवा प्रस्ट छन् ।
‘पार्टीले गठबन्धनसँग कम सिट संख्या लियो भने नेताहरूको व्यवस्थापन गर्न गाह्रो हुन्छ । धेरै सिट लिनुस् भन्ने छ त्यो हामीले चाहेर मात्र हुँदैन,’ देउवानिकट केन्द्रीय सदस्य मीन विश्वकर्माले भने, ‘पार्टीभित्र जति सिट हुन्छ ४० प्रतिशत भन्नुभएको छ त्यो सम्भव हुन्छ कि हुँदैन । स्थानीय तहमा लोकप्रिय देखिएको मानिस जुनसुकै समूहको भए पनि कांग्रेसभित्रको रह्यो भने उसैलाई दिनुपर्छ ।’
प्रतिनिधिसभामा धेरै सिट दिने
गठबन्धनबाट धेरै सिट लिन गाह्रो छ । पाएको सिटमा इतर समूहलाई धेरै सिट दिने विकल्प देउवालाई छ । तर, यसो गर्दा आफ्नै समूहको आकांक्षी व्यवस्थापन गर्न गाह्रो हुन्छ । ‘यो पक्ष त्यो पक्ष भनेर भाग लिने दिनेभन्दा पनि सक्षम र इमानदार कार्यकर्ता छुट्नु हुँदैन,’ देउवानिकट सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले भनिन् । कांग्रेसले पाएको सिटमा पनि इतर पक्षलाई भाग दिँदा आफ्नै समूहका उपगुटलाई पनि भाग दिनुपर्छ । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, रामचन्द्र पौडेल र शशांक कोइराला समूहलाई भाग पुर्याउनुपर्ने हुन्छ ।
समानुपातिकमा समेट्ने
निर्वाचन आयोगमा बुझाएको बन्दसूची सार्वजनिक भइसकेकाे छ । समानुपातिक सूचीमा १० प्रतिशतमात्र समेटिएपछि इतर समूह थप सशंकित र आक्रोशित छ । ‘समानुपातिक सूची १६ गतेमात्र टुंगिन्छ, त्यसपछि मात्र थाहा हुन्छ साथीहरू कत्तिको समेटिनुभयो । मेरो मात्र भन्ने कुरा रहेन पार्टी सबैको हो,’ कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले भने । तर, समानुपातिक सूचीमा पनि आफ्ना समूहका आकांंक्षी व्यवस्थापन गर्न देउवालाई चुनौती हुनेछ । यसो गर्दा आफ्नै समूहमा भाग पुर्याउन गाह्रो हुन्छ ।
मिलाएर लैजाने
देउवाले नगरी नहुने र बाध्यकारी विकल्प भनेको सबैलाई मिलाएर लैजाने हो । यसमा गुनासो हुन्छन् त्यसमा पनि सबैलाई न्याय गर्ने मध्यमार्गी बाटो अपनाएर गठबन्धनलाई कम क्षति हुने विकल्प हुन सक्छ । ‘इतर समूहको आवाज पनि सम्बोधन गर्नैपर्छ । फलानाको सिफारिसमा यति प्रतिशत भन्नुभन्दा पनि नेताहरूसँगै बसेर उम्मेदवारका पृष्ठभूमि र सम्भावनालाई हेरेर व्यक्ति निर्धारण गरियो भने प्रतिशतभन्दा माथि पनि हुनसक्छ,’ केन्द्रीय सदस्य विश्वकर्मा भन्छन्, ‘सँगै बसेर संवाद गर्ने फरक बसेर बार्गेनिङ गर्ने होइन ।’
नेता कार्यकर्ताको विरोध गर्न पाउने अधिकारमा रहेर इतर पक्षको विरोध रहेको नेता लामा बताउँछन् । ‘असन्तुष्टि पोख्न पाउने नेता कार्यकर्ताको अधिकार नै छ । उहाँहरूको कुरा कार्यकर्ताको अधिकारभित्र पर्छ । तर, कुन हदसम्म प्रयोग गर्ने भन्ने हो,’ लामाले भने ।
शिलापत्र