काठमाडाैं।४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवाहरूको प्रचारप्रचारका लागि सामाजिक सञ्जाल फेसबुक राम्रो माध्यम बन्यो । उम्मेदवारले फेसबुकबाट आफ्ना सामग्री धेरै मतदाताका बीचमा पुर्याउन डलर खर्च गरे ।
शनिबार बिहानसम्म ६ हजार ८ सय ७ वटा सामग्री प्रवर्द्धन गर्दा १ करोड १५ लाख ६९ हजार ४ सय ८० रुपैयाँ अर्थात ८८ हजार ९ सय ९६ डलर फेसबुकले लगेको देखिन्छ । मेटाले नेपालमा ७ सेप्टेम्बरबाट पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सुरु गरेको थियो । यसबाट उम्मेदवारले कतिवटा सामग्री कति डलरमा प्रवर्द्धन गरेको हो, हेर्न सकिन्छ ।
यो अविधिमा सबैभन्दा धेरै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार श्री गुरुङले ३ हजार ८ सय ८० डलर खर्च गरेका छन् । उनले २२ वटा सामग्रीमा विज्ञापन गरेका छन् । नेपालका लागि नेपालका पार्टीका डा. सुरेश बस्नेतले ३१वटा सामग्रीमा २ हजार ७ सय ७० डलर खर्च गरेका छन् ।
त्यसैगरी उम्मेदवारहरू सुशान्त श्रेष्ठले २ हजार २ सय ३७ डलर, किरन पौडेलले २ हजार ३५ डलर, सोमप्रसाद पाण्डेले १ह जार ५ सय ६८ डलर, प्रदीप पौडेलले १ हजार २ सय ६६ डलर, उपेन्द्र यादवले १ हजार २ सय १६ डलर, जगन्नाथ लामिछानेले १ हजार २ सय ३ डलर, गणेश पराजुलीले १ हजार १ सय ७४ डलर, रवीन्द्र मिश्रले १ हजार ९७ डलर खर्च गरेका छन् ।
त्यसैगरी जीवन घिमिरेले ९ सय ८८ डलर, मोहम्मद इस्तियाक राईले ९ सय ३८ डलर, अनुप बोहराले ८ सय ९० डलर, रञ्जु दर्शनाले ८ सय ४२ डलर, शिशिर खनालले ८ सय १३, शिवेन्द्र केसीले ८ सय १ डलर, राजेन्द्र श्रेष्ठले ७ सय ९९ डलर, शैलेन्द्र बस्नेतले ७ सय १३ डलर, रवीन्द्र श्रेष्ठले ५ सय ७६ डलर, योगेन्द्र खनालले ५ सय ३४ डलर, राजकुमार गुप्ताले ५ सय ९ डलर खर्च गरेका छन् ।
त्यसैगरी रमेश खरेलले ४ सय ९३ डलर, कल्पना धमलाले ४ सय ९१ डलर, कुन्ति पोखरेलले ४ सय ७७ डलर, सुरज चन्द्र लामिछानेले ४ सय ३१ डलर, राममणि न्यौपानेले ४ सय १३ डलर, सुनिलकुमार शर्माले ४ सय ९ डलर, रेखा शर्माले ४ सय ३ डलर, प्रकाशमान सिंह ४ सय १ डलर, रकम चेमजोङले ३ सय ९९ डलर, अनिलकुमार झाले ३ सय ९५ डलर, महेश बर्तौलाले ३ सय ९० डलर, विजय मानन्धरले ३ सय ७२ डलर, पम्फा भुसालले ३ सय ३८ डलर, मानुषि यमि भट्टराई ३ सय ३३ डलर, राजेन्द्र पाण्डेले २ सय २६ डलर, सुजाता कोइरालाले २ सय २४ डलर, विराजभक्त श्रेष्ठले २ सय १८ डलर, प्रदीप ज्ञवालीले पनि २ सय १८ डलर, अग्नि खरेलले १ सय ८७ डलर खर्च गरेका छन् ।
त्यसैगरी शेरधन राईले १ सय ७६ डलर, शेखर कोइरालाले १ सय ७३ डलर, दीपेन्द्र झाले १ सय ५७ डलर, प्रचण्डले १ सय ५२ डलर, प्रकाशशरण महतले १ सय ४९ डलर खर्च गरेका छन् ।
उम्मेदवारले धेरैको माझमा पुर्याउन प्रचार सामग्री बुस्ट गर्ने गरेका छन् । तर पैसा हुने र नहुने दुवै उम्मेदवारका लागि समान अवसर दिन आयोगले प्रवर्द्धनका लागि फेसबुकबाट गरेको खर्च पनि आयोगले तोकेको सीमाभित्र गर्नुपर्ने प्रावधान गरेको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउनेछन् । बन्दसूचीमा १ सय १० जना उम्मेदवार भएमा उक्त पार्टीले २ करोड २० लाखसम्म खर्च गर्न सक्नेछन् । प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन् ।
प्रदेशतर्फ २ सय २० सिट रहेकाले सबै उम्मेदवार बन्दसूचीमा रहेको पार्टीले ३ करोड ३ लाख खर्च गर्न पाउनेछन् । दलले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेशसभामा १५ देखि २३ लाख खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ ।
फेसबुकबाट गरिएको खर्च पनि यही सीमाभित्र हुनुपर्ने आयोगले जनाएको छ । ‘सबै उम्मेदवारका लागि बराबर ठाउँ दिनुपर्छ भन्ने आयोगको नीति हो । उम्मेदवारले फेसबुकबाट खर्च गर्न सक्छन् तर सीमाभित्र रहेर गर्न भनिएको हो,’ आयोगका उपसचिव कमल भट्टराईले भने ।अरू कसकसले कति डलर खर्च गरे यहाँ किल्क गरेर हेर्न सकिन्छ ।