बिर्तामोड । झापा बिर्तामोडका एक दम्पतिको एक सातामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षिय गणेशबहादुर बस्नेतको गत शनिबार बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको थियो ।
त्यसको एक सातापछि हिजो शनिबार उनकी श्रीमती ५६ वर्षिया संगीता बस्नेतको मृत्यु भएको छ । उपचारका क्रममा दिउँसो उनको मृत्यु भएको बिर्तासिटी हस्पिटलका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले बताए । पहिला श्रीमान गणेशबहादुरलाई संक्रमण देखिएको र श्रीमानलाई स्याहार्ने क्रममा श्रीमतीलाई सरेको उनले जानकारी दिए ।
गणेशबहादुरलाई काठमाडौं जाँदा संक्रमण पुष्टि भएको उनले बताए । बस्नेत दम्पतिका एकजना छोरा र दुई जना छोरी छन् । ती सबैजना अष्ट्रेलियामा रहेको जनाइएको छ ।