सरला रेग्मी ।
धरान । हात्तीपनि मानिस जस्तै सुत्केरी हुँदा सुत्केरी औषधि खान्छ भनेको सुन्दा तपाईंलाई कत्तिको अचम्म लाग्छ ?
अझ हात्तीको सन्तानको न्वारान गरिन्छ र नामाकरणपनी गरिन्छ भन्दा थाहानभएका म जस्ता व्यक्तिलाई अनौठो पनि लाग्ला?
नेपालको एकमात्र हात्ती प्रजनन केन्द्र चितवनको सौराहा पुग्दा हात्तीसार सुनसान थियो । सबै हात्ती चरनका लागि जङ्गल लगिएका थिए । हात्तीसारमा एउटा मात्र ऐश्वर्यकलि नाम गरेकी हात्ती सुत्केरी ओखती (सख्खर र दुधमा पकाएको चामल) खादै थियो । उसले भर्खर एउटा भाले छावालाई जन्म दिएको थियो । जसको न्वारान गरिसकिएको रहेछ ।
जमिनमा पाइने सबैभन्दा ठूलो स्तनधारी प्राणिको रुपमा हात्तीलाई लिइन्छ । हात्तीलाई प्रकृतिमा छाता प्रजातिका रुपमा चिनिन्छ । हात्तीलाई देख्दा जसरी टक्क सबैको आँखा अडिन्छ । उसैगरी यस्को प्रजनन अवधी पनि रोचक लाग्छ ।
हात्तीको करिव २२ देखि २४ महिना गर्वाधारण अवधी हुन्छ । भाले हात्ती १६ बर्ष देखि र ढोइहात्ती ९ देखि १२ बर्षसम्म प्रजननका लागि परिपक्व हुने गर्छन् ।
सुन्दा अचम्म लाग्न सक्ला प्रजनन केन्द्रमा अधिकांश हात्ती जङ्गलका भाले हात्तीबाट गर्भवती हुने गरेका छन् । चितवनमा पालिएका भाले हात्ती नभएका होइनन् तर अधिकांश ढोई चितवनका वनमा हिड्ने जंगलीसँगको संसर्गपछी गर्भवती हुने गरेका चितवन निकुञ्जका कर्मचारीले बताए।
चितवन राष्ट्रिय निकुञ्जले वन तथा वन्यजन्तु व्यवस्थापनसँगै संरक्षणका लागि पनि हात्ती पाल्ने गरेको छ । त्यो क्रम वि.स २०४४ सालबाट सुरु भएको हो । वि.स २०४० कै दशकमा नेपालले भारतलाई चारवटा गैंडा उपहार दियो। त्यसबापत नेपाललाई भारत सरकारले ४ वटा मत्ता र १२ वटा ढोई, म्यान्मार सरकारबाट उपहारकारुपमा प्राप्त एक जोडा( मत्ता र ढोइ) र थाइलैण्ड सरकारबाट उपहार स्वरुप प्राप्त एक जोडि हात्ती गरि कुल २० वटा हात्ती राखी हात्ती प्रजनन केन्द्रको शुरुवात गरिएको थियो । तिनै हात्तीका सन्तान नेपालका विभिन्न आरक्षणमा रहेका छन् ।
हात्ती गस्ती,पेट्रोलिङ, वन्यजन्तु अनुगमन, उद्धार,अनुसन्धानसँगै पर्यटनमा हात्तीको प्रयोग हुने गरेको छ । अन्य जनावर जस्तो हात्ती एकै स्थानमा चरन गर्न सक्दैन ,उम्रीएका बनस्पतिपनि छानेर खाने गर्छ । हात्तीको देख्ने शत्ती अलि कम हुन्छ भने स्मरण क्षमता प्रवल हुन्छ । जस्को कारण बर्षौ पछिपनी राम्रो चरन र पानी खाने ठाउँ पुनः आउने गर्छन् । हात्तीको सुघ्ने क्षमता अत्यन्तै प्रवल हुन्छ । त्यही सुघ्ने क्षमताका कारण जंगली हात्तीले आंरक्षणमा राखिएको हात्ती हिटमा (संभोगको लागि तयारी अवस्था ) आएको थाहापाउछ र जंगली हात्तीले आरक्षणमा बसेको हात्तीलाई रातको समयमा जङ्गल तर्फ लिएर जान्छ । अधिकांश ढोई जङ्गलका हात्तीसँगको संसर्गपछि गर्भवती हुने गरेको कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका प्रकृति संरक्षणकोलागि राष्ट्र ट्रष्ट (एनटिएनसि) कोशि संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले बताएका छन् ।
प्रदेश १ मा हात्तीको अवस्था
चितवनलाई हात्ती प्रजनन केन्द्र भनेर स्थापना गरेपनि । यतिबेला सुनसरिको कोशिटप्पु वन्यजन्तु आंरक्ष पनि प्रदेश १ को हात्ती प्रजनन केन्द्रको रुपमा बिकास गर्न सकिन्छ भन्ने उदाहरण बन्दै गएको छ ।कोशी बन्यन्जन्तु आरक्षण केन्द्र हात्ती प्रजननका लागि स्थापना भएको होइन । कोशी टप्पु वन्यजन्तु आंरक्षणको रेकर्ड हेर्दा २०४४ सालबाट नै हात्ती प्रजनन शुरुभएको देखिन्छ । हाल सम्म ६ वटा छावाले यहाँ जन्म लिइसकेका छन् । जस मध्ये ५ वटा छावाले यहि हुर्किरहेका छन् भने एउटा काजमा चितवनमा रहेको छ । कोशी टप्पु वन्यजन्तु आंरक्षणको दर्वन्दी १० वटा रहेको छ । र माउ हात्ती र छावा हात्ती गरि जम्मा १६ रहेको र हालै काजको लागि ६ वटा चितवन प्रजनन केन्द्रमा पठाइएको गौतमले बताएका छन् । हात्तीको चरित्र मानवसँग मिल्दोजुल्दो हुन्छ ।
स्तनधारी वर्ग अन्तर्गत हात्तीलाई प्रोवोसिडे अर्डर र एलिफ्यान्टी परिवार फेमिली मा राखिएको छ । यस परिवारमा अफृकी र एसियायी हात्ती पर्दछन । हात्ती आफ्ना सन्तानमा संसर्ग गर्दैनन् । एउटा छावा जन्मदा ८० देखि १०० केजि मम्मको हुन्छ भने यस्को उचाई ९०/१०७ सेन्टिमिटर सम्मको हुन्छ । एउटा वयस्क हात्तीले १५ केजि धान र २५ ग्राम नुन खाने गर्छ । हात्तीका झुन्डमा कोहि एक हात्ती फटाहा भए सुधार्न कोसिस गर्छन यदि सुधार्न नसके झुन्डबाट बाहिर निकाल्छन । झुन्डबाट निक्लिएको या झुण्डबाट छुटेको हात्तीले विध्वंश गर्ने गरेको ( एनटिएनसि) कोशि संरक्षण केन्द्रका प्रमुख बिरेन्द्र गौतमले बताएका छन् ।
हात्ती सामाजिक प्राणी भएका कारण प्रायः समुहमा बस्ने गर्छ । झुन्डबाट छुटिएको हात्तीले विध्वंश गर्ने गर्छ । जसबाट नेपालको पूर्वी तराई खासगरी झापा जिल्ला हात्तीबाट बढी पीडित छ । वन्यजन्तुमध्ये हात्तीबाट मानिसले सबैभन्दा बढी मर्का व्यहोर्नुपर्छ । हात्तीबाट हुने नोक्शानी सबैभन्दा बढी छ । बाहुनडाँगीका बासिन्दा हात्तीबाट सबैभन्दा प्रताडित छन् । हात्तीले बालीनाली क्षति गरेको, मानिस घाइते बनाएको र अहिलेसम्म १९ जना को मृत्यु भएको र हालसालै ३ जना पुर्णरुपमा घाइते भएको र १३ वटा हात्तिको मानविय क्रियाकलापले मृत्युभएको मेचिनगर बाहुनडाँगी वाड नम्बर ४ का वाड अध्यक्ष तथा हात्ती संरक्षण र पर्यटनमा सकृय अर्जुन कार्किले बताएका छन् ।
प्राकृतिक तथा सांस्कृतिक रूपमा हात्तीको विशेष महत्त्व छ । नेपालमा हात्ती लोप हुने अवस्थामा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ०२९ ले हात्ती संरक्षित जनावर हो । अन्तर्राष्ट्रिय संरक्षण संघले रातो सूचीको ‘संकटापन्न’ र साइटिसले अनुसूची–१ मा राखेको छ । नेपालको सबैभन्दा ठूलो १००० को नोटमा हात्तीको तस्बिर राखिनुले पनि यसको महत्त्व झल्काउँछ तर पछिल्लो समय जंगली हात्ती संरक्षणमा विभिन्न चुनौती देखा परेको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताएकाछन् ।
हात्ती संरक्षण तथा पर्यटनमा सकृय अर्जुन कार्कि भन्छन् ‘हात्तीको विध्वंश जहाँ बढी छ संरक्षणकालागि विभिन्न काम पनि त्यहिँबाट गर्नुपर्ने बताएका छन्’ । उनले भने– ‘सबै भन्दा पहिला जनचेतना नै जगाउनु पर्ने देखिन्छ’ ।मानिस आफु संबेदनसिल भए स्वयम् पनि बाचिन्छ र जनावरपनी बचाउन सकिन्छ भन्ने बाहुनडाँगि क्षेत्रले अभियान चलाउन थालेको छ । उनले भने ‘हात्तिलाई बोझ होईन मोजको रुपमा लिइनुपर्छ ’। ‘बाहुनडाँगी बासिलाई कमाइखान हात्तीलाई पठाइदिएको हो र यस्लाइ ‘ग्रीन डलरका’े रुप लिएर पर्यटन प्रवर्द्धन र बिकाशको लागि हात्ती आएको भन्ने सोच्न आवस्यक रहेको बताएका छन्’ । हात्ती संरक्षण र पर्यटनको लागि बर्दियाको उज्यालो नेपाल एनटिएनसीसँग मिलेर काम गर्दै गरेको र स्थानिय स्तरमा बालीनाली खाइदिने समस्याबाट मुक्ति पाउन हात्तिले नखाने बालीविरुवा लगाइउन स्थानियलाइ प्रेरित गरेको बताएका छन् ।
हाल एशियामा ४० देखि ५० हजार हात्तीको संख्या अनुमान गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता केन्द्र सौराहा,चितवनले प्रकाशित पुस्तकमा नेपालको तराई चुरे क्षेत्रमा करिब २०० जंगली हात्तीहरु चारवटा झुन्ड कोशिदेखी झापासम्म ७–१५, चितवनदेखी सर्लाहिसम्म ४०–६०,बर्दिया ८०–१२० र शुक्लाफाँटामा १०–१५ बिचरण गर्ने गरेको उल्लेख छ ।
बाघ, गैंडालगायत अन्य धेरै प्रजातिबारे अध्ययन–अनुसन्धान धेरै भएका छन् भने संरक्षणका विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायबाट हुने गरेका छन् तर संरक्षणका हिसाबले उत्तिकै खतरामा परेको भए पनि हात्तीको अध्ययन–अनुसन्धान तथा संरक्षण प्रयास कमै मात्र भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले बताए ।
लामिछाने भन्छन् ‘हालसम्म नेपालमा रहेको हात्तीको संख्या वैज्ञानिक पद्धतिबाट एकिन हुन सकेको छैन । त्यस्तै कति हात्ती रैथाने छन् र कति भारतबाट बसाइँसराइ गरी आउनेजाने गर्छन् भन्नेबारे पनि जानाकारी छैन । हात्तीसँग द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारबार वा अन्य छेकबार निर्माणबाहेक संरक्षणका अन्य प्रयास कमै मात्र भएका छन् ’।