गिरिराज बाँस्कोटा । केही वर्षअघि एक मन (४० केजी) अलैँची १ लाख २० हजार रुपैयाँसम्ममा बिक्थ्याे । तर अहिले त्यति नै अलैँचीकाे मूल्य जम्मा २६ हजार रुपैयाँ छ । यो सिजनको सुरुदेखि नै अलैँचीको मूल्य मनकाे ३० हजारभन्दा माथि उक्लिन सकेको छैन ।
गत वर्षको सुरुवाती सिजनमा अलैँचीकाे मूल्य प्रतिमन ५० हजार रुपैँयासम्म थियाे । २०७२ सालदेखि अलैँचीको मूल्य घटेकाे घट्यै गरेकाे इलाम फिदिमका पुराना व्यवसायी नरेन्द्र अधिकारी बताउँछन् ।
बजारमा महँगीसँगै उत्पादन लागत बढिरहे पनि अलैँचीको मूल्य उकालाे नलागेपछि पूर्वी पहाडी क्षेत्रका अलैँची किसान विकल्प खाेज्न थालेका छन् । अलैँचीको मूल्य बढेका बेला अन्य बाली मासेर अलैँची खेतीमा लागेकाहरू अहिले अप्रत्याशित रूपमा मूल्य घटेपछि चिन्तामा परेका हुन् ।
‘विकल्पको खोजी नगरी नहुने स्थिति आयो । लागत नै उठाउन नसक्ने गरी मूल्य घट्दै गएको छ । भाउ बढ्ने आसमा अलैँची थन्काएर राखेका छौँ’, फिदिम-७ रानीटारका प्रताप तामाङले भने, ‘अलैँची उत्पादनमा लाग्ने खर्च नै नउठ्ने अवस्था आइसक्यो । अरु सामानकाे मूल्य बढिरहेकाे छ, यता आफ्नो उत्पादनले भाउ पाउँदैन ।’
प्रदेश १ का पाँचथर, ताप्लेजुङ, संखुवासभा, इलाम, भोजपुर, धनकुटालगाय जिल्लाका अलैँची किसान सबै निराश बनेका छन् । मूल्यमा सुधार हुन नसके यो खेतीबाट बिस्थापित हुने अवस्था आउनसक्ने उनीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले समस्या भएको व्यवसायी बताउँछन् । मसला बालीको रूपमा रहेको अलैँची भारतहुँदै तेस्राे मुलुक पठाइन्छ । यसकाे आन्तरिक खपत खासै धेरै छैन । अलैँचीको माग कम भएकाले मूल्य घटेको नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भटराई बताउँछन् । ‘अलैँचीको मूल्यको गिरावटले उत्पादक किसान, व्यवसायी चिन्तित छौँ । उत्पादन तथा निर्यात बढ्दै छ । तर मूल्यको कारण समस्या देखिन्छ’, भटराईले भने ‘भारत, भुटानमा पनि उत्पादन बढेको छ । जति माग हुनुपर्ने हो त्यति माग नहुँदा पनि समस्या भएको हाे ।’
नेपालका ४३ जिल्लामा अलैँची खेती हुने सरकारी तथ्याङ्कले देखाउँछ । तर, नेपालमा अलैँचीको धेरै उत्पादन प्रदेश १ का पहाडी जिल्लामा हुन्छ । प्रदेश १ को कृषि मन्त्रालयको तथ्याङकअनुसार प्रदेशमा १५ हजार ८ सय ४ हेक्टरमा अलैँची खेती हुने गरेको छ ।
पछिल्लो सिजनमा ७ हजार ७ सय ६३ मेक्ट्रिक टन अलैँची उत्पादन भएको छ । ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची उत्पादन भएको देखिन्छ । ताप्लेजुङमा २ हजार ६ सय ५०, पाँचथरमा १ हजार ४ सय ७७ र इलाममा १ हजार २ सय १५ मेक्ट्रिक टन अलैँची फलेकाे छ ।
अलैँचीको उत्पादनमा बृद्धि भएको देखिन्छ । नेपालका विभिन्न जिल्लामा अलैँची खेतीको बिस्तार हुँदै गएकाले पनि उत्पादन बढेको हाे । उत्पादन बढे पनि निर्यात मूल्य भने घट्दै गएको छ । अलैँची विकास केन्द्र फिक्कलका निमित्त प्रमुख राजन परियारका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २ करोड रुपैँयाको अलैँची विदेश निकासी भएको थियो । तर २०७८/७९ मा घटेर ४ अर्ब ८१ करोड भयाे । अघिल्लो आर्थिक वर्षमा ३१ दशमलव ४६ प्रतिशतले अलैँचीको निकासी मूल्य घटेको छ ।