सरला रेग्मी,सुनसरी
हिड्नु स्वास्थ्यका लागि अत्यन्तै राम्रो हो । यसलाई रमाउनको लागि हिड्दा त झन छुट्टै आनन्द आउँदो रहेछ । माघ २१ गते शनिबारको दिन चतरा हाइकिङ समुहले समन्वय गरेको तेस्रो हाइकिङ गज्जब भएको थियो । फरक फरक पृष्ठभुमिमा सकृय हाइकिङ प्रेमिहरुलाइ एक्यवद्ध गरेको थियो ।यत्त हाइकिङ्मा वनस्पति अनुभवी, पुर्वखेलाडी,पत्रकार,व्यवसायी तथा कलेज बिद्यार्थी समेत रहेका थिए ।
करिब ३७ जनाको टोलिले चतरा देखि धनकुटा,सुनसरी र भोजपुर जोड्ने त्रिवेणि किनारासम्म पैदल पुगेर फर्कदा पानी जहाजबाट यात्राको अनुभव लिएका थिए । हाइकर्स टोलि सुनसरी र उदयपुर जोड्ने कोशीपुल,धर्तिको पहिलो तिर्थ स्थल बराहक्षेत्र धाम,१७ घुम्तिउकालो, अक्करे भिर,तान्खेवा हुँदै त्रिवेणिमा किराँतिहरुको धार्मिक स्थल खुवालुङ पुगेर दर्शन गरेका थिए ।
करिव १२ किलोमिटरको यात्रा ५ घण्टामा पुगेका थिए । यात्रा निकै रोचक थियो । चतरामा टोलि भेला भएर टोलिले पृथ्वी अनन्त आकाश सागरमा लुप्तभएको बेला भगवान बिष्णुले ब्रम्हाजिको नाक बाट बराह रुप धारणगरि रसातलमा हराएको पृथ्वीको उद्धार गरि शेष भित्र अड्याएर बराह स्वरुप बिष्णु भगवान् ले उद्धार गरेको भुमि बराहक्षेत्रको दर्शन गरेका थिए । उहिले बाबू बाजेले सुनाएको नुन बोकेको बाटो अक्करे भिरको कथा सम्झदै टोलि निकै हौशिएका थिए । अक्करे भिरको कथा नसुनेकाहरु जानकारसँग सोध्दै थिए। पहिलाको चहलपहल सडक सुनसान भएको थियो ।
पहिरोले बाटो बिगारेको रहेछ । सानो बाटो भिर र सप्तकोशिको किनारा किनारै यात्रा जोखिमपनि थियो । तर यो यात्रा बाध्यताको थिएन । पारिपट्टि देखिएको पहाड निकै सुन्दर थियो । पानीमाथी चेफा बनाएर बास व्यवसायिको दृश्यपनी टोलिलाइ यात्राकोलागी उत्साह थप्दै थियो । यो यात्रा धार्मिक मात्र हुँदै थिएन। एकैदिनमा सुनसरी,उदयपुर,धनकुटा र भोजपुर छुदै हिड्दा, हिडाइमा रौनक थियो ।
झोलुङेपुलमा कोहि बालक जस्तापनी भए। त्रिवेणि पुगेर किराँत धर्मको आस्थाको प्रतीक खुवालुङ्लाई नजिकबाट निहाल्न पाए । ढल्किदै गरेको सुर्यको मधुरतामा त्रिवेणिमा आर्चरी खेलाडी युवराज भट्टराईले सहभागिलाई धनुस बिधा सिकाएका थिए । कोशिमा छरिएका ढुङ्गालाई छेलो बनाएर सहभागी मस्त रमाएका थिए । पदयात्रामा सहभागी भएका सबै यात्री प्रसन्न भएका थिए ।
केही वर्ष अगाडिसम्म सुनसान रहने चतराघाट आजकाल पर्यटकले व्यस्त हुने गरेको छ । शनिबार र सार्वजनिक बिदाको दिनमा कोशीपुल घुम्न आउने, आन्तरिक र वाह्य दुवै पर्यटको रोजाइमा पर्न थालेको चतरा ‘टुरिस्ट हब’ का रुपमा विकास भइरहेको छ । कोशीमा जहाज चल्नु यस क्षेत्रको आर्थिक विकास र समृद्धिका लागि कोशेढुंगा सावित भएकोछ ।
पैदल यात्रा सकिएपछी सहभागीहरु पानी जहाजबाट रमाइलो गर्दै चतरासम्मको यात्रा पुर्णविराम गरेका थिए ।