केन्जो खबर। हरित नगरी इलाममा जन्मनुभएकी कमला चापागाईंको औपचारिक शिक्षा पाँचथरको फिदिममा भएको हो ।वहाँले २०५७ सालमा मेची इङ्लिस बोर्डिङ स्कुल फिदिमबाट एसएलसि सक्नुभएको हो । २०६२ सालमा फडिन्द्र तिम्सिनासँग बिबाह बन्धनमा बाधिनु भएकी चापागाईंले २०६७ साल मंसिर देखि नेपाल बैक लिमिटेटमा काम गर्न थाल्नु भएको हो ।
त्रिभुवन युनिभर्सिटीबाट एमबिएस शिक्षा हासिल गर्नु भएकी चापागाईंको एक छोरीपनी छन् । अहिले नेपाल बैक लिमिटेड फिदिम शाखा प्रवन्धकका रुपमा कार्यरत हुनुहुन्छ । पारिवारिक भुमिका र प्रबन्धकको भुमिका निर्वाह गरिरहनु भएकी कमला चापागाईंसंग ११३ औं नारी दिवसको अवसरमा केन्जो खबरले गरेको कुराकानि :-
नेपाल बैक लिमिटेडको शाखा प्रबन्धकको जिम्मेवारी सम्हालिरहदा कस्तो अनुभव भएको छ ?
नेपाल बैंक लिमिटेडको शाखा प्रबन्धकको जिम्मेवारी सम्हालिरहदा आफ्नो काँधमा एउटा गहन जिम्मेवारी भएको महसुस हुन्छ । जिम्मेवारी चुनौतिपूर्ण भएपनि संस्थाले यो भूमिकाको लागी मलाई योग्य ठानेकोमा कृतज्ञ महसुस हुन्छ।
महिला भएकै कारण प्रमुख भएर काम गर्दाका चुनौति के के हुन?
कुनैपनि संस्थामा विशेष गरि बैकिङ्ग संस्थाको शाखा प्रमुखको भूमिकामा रहने जो कोहीले पनि संस्थाको आवश्यकता अनुसार समय दिन सक्नुपर्छ । कार्यालयको जिम्मेवारीलाई पूर्ण रुपमा निवार्ह गरेर आफनो पारीवारिक जिम्मेवारीलाइ पनि सँगसँगै पूरा गर्न सक्नु नै ठूलो चुनौती हो जस्तो लाग्छ ।
निर्णायक तहमा रहेर काम हर्दा तपाइँको मुल उद्धेश्य के हुन्छ ?
निर्णायक तहमा रहेर काम गर्दा मेरो प्रमुख उद्देश्य संस्थाको निति नियमको अधिनमा रहेर, संस्थाको हितमा रहेर गर्ने ग्राहक सेवा नै हो ।
यहाँ यो क्षेत्रमा आउनु पुर्व र आइसकेपछी समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन पाउनु भएको छ?
फिदिम शाखामा पदस्थापना भएको करिब २ महिना सम्म ग्राहकहरु शाखा प्रबन्धकको कक्षमा आएर मेनेजर सर’ कँहा हुनुहन्छ भनेर सोध्नुहुन्थ्यो । वहाँहरुले सायद प्रमुख पदमा महिला हुनसक्ने आशा नगरेर हो कि?तर विस्तारै वँहाहरुको धारणामा परिवर्तन आइरहेको महसुस हुन्छ । कतिपय ग्राहकहरुले तपाँई र अरु महिला कर्मचारीहरु को उदारहण दिएर घरमा छोरीहरुलाई पढ्न प्रोत्साहित गर्छौँ भन्नुहुन्छ ।
महिला प्रबन्धकलाई हेर्ने दृष्टिकोण कस्तो छ?
समाजले हेर्ने दृष्टिकोणमा आकाश पाताल जस्तै फरक पाएको छु । अर्थोपार्जनको काममा संलग्न महिलालाई चाही समाजले अलिक सबल ठानेको पाउछु । हाम्रो समाजमा कामकाजी र गृहिणीलाई हेर्ने दृष्टिकोणमा अझै पनि संकीर्ण नै छ । एकातर्फ, आफ्नो लागी नसोची दिनभर घरेलु कामकाजमा व्यस्त हुने महिलालाई सजिलै ‘केही काम गर्दिन घरमै बस्छे’ भन्ने ट्याग लगाइदिने र अर्कातर्फ कामकाजी महिलालाई पनि कार्यलयको कामको साथसाथै घरायसी र सामाजिक जिम्मेवारी पूरा गर्नै पर्ने दोहोरो दवाव छ । सबैभन्दा महत्वपूर्ण कुरा चाही हामीले गरेको काममा अर्थोपार्जन भएरहेको छ कि छैन ले पनि समाजमा हाम्रो स्थान तय गर्ने रहेछ ।
परिवार सहित पदिय जिम्मेवारी कसरी निभाउनु भएको छ?
पदीय जिम्मेवारी पूरा गर्ने क्रममा कहिलेकाही महत्वपूर्ण दिनहरुमा पनि घरमा समय दिन सकिदैन । त्यो बेलामा अलिक नरमाइलो लाग्छ । कर्मचारीहरुको सहुलियतको लागी संस्थाले हामीलाई विभिन्न बिदाहरु दिएको हुन्छ, त्यसैलाई हामीले परिवारसँग बसेर तथा अन्य आवश्यक काम गर्न प्रयोग गर्छौ । केही पाउनको लागी केही त्यागहरु त अवश्यनै गर्नू पर्छ ।
कुन कुन कुराले यहाँसम्म पुग्न सफल भएजस्तो लाग्छ ?
यहाँ सम्म आइपुग्नको लागी पहिलो कुरा वा यसको सफलता भनेको शैक्षिक योग्यता हो । हजारौं शैक्षिक योग्यता भएका मध्ये केही सयौं संख्यामा छानेर सक्षम रहेकालाई छान्ने प्रक्रियालाइ टपार गर्नुपर्छ जसको लागी आफ्नो लक्ष्य प्रति दृढ संकल्प र निरन्तर अभ्यास चाहिन्छ जस्तो लाग्छ मलाई ।
तपाईंको बिचारमा एउटा कम्पनी या संस्थाको प्रगतिका लागि के कुरा जिम्मेवार हुन्छ ?
मेरो विचारमा एउटा संस्थाको प्रगतिको लागी त्यस संस्थाको निति, नियम, योजना, कार्यप्रणाली ले ठूलो भूमिका खेल्छ र सबै भन्दा महत्वपूर्ण पक्ष चाही त्यस संस्थाको मानव संसाधन नै हो जस्तो लाग्छ । सबल र प्रतिबद्घ मानवश्रोत भएको संस्थालाई सफल हुन कसैले रोक्न सक्दैन जस्तो लाग्छ । पहिला कर्मचारीहरुलाई संस्थाको प्रमुख दायित्वको रुपमा हेरिन्थ्यो भने तर अहिले भने कर्मचारीहरुलाई संस्थाको प्रमुख सम्पत्तिको रुपमा लिइन्छ जुन अत्यन्तै सकारात्मक परिवर्तत हो ।
तपाइँलाई कुन कुराले गौरवान्वित बनाउछ ?
मलाई आफनै देशमा रहेर एउटा गौरवशाली इतिहास बोकेको र वर्तमानमा बैकिङ्ग क्षेत्रमा अग्रिम स्थानमा रहेको संस्थामा काम गर्न पाउदा एकदमै गौरव महसुस गर्छु । संस्थाको प्रगति सगँसँगै हाम्रो पनि व्यक्तिगत प्रगति हुने, बौद्घिक क्षमता बढ्ने, आर्थिक तथा सामाजिक स्थिति पनि सुदृढ हुने भएकोले, म नेपालकै पहिलो बैंँक नेपाल बैंक लिमिटेड’ मा काम गर्न पाउदा गौरव लाग्छ ।व्यक्तिगत जिवनमा भने म एउटा छोरीको आमा भएकोले, मातृत्वको त्यो भाव महसुस गर्न पाँएकोमा पनि गौरवान्वित महसुस हुन्छ ।
अन्त्यमा बैकिङ्ग क्षेत्रमा आँउन चाहने महिलालाई के भन्नू हुन्छ?
बैकिङ्ग क्षेत्र महिलाहरुको लागी अत्यन्तै राम्रो प्लेटफर्म हो । महिलाहरुलाई त प्रकृतिले नै व्यवस्थानका धेरै गुणहरु दिएको छ जस्तो लाग्छ मलाई ।घरायसी कामकाज बाटै हामीलाई समय व्यवस्थापन र एकैपटक धेरै कामको अभ्यास भएको हुन्छ जुन सीप चै बैकिङ्ग क्षेत्रमा अनिवार्य चाहिन्छ । महिलाहरुले आर्थिक रुपमा स्वनिर्भर हुनपनि अत्यन्तै आवश्यक छ जसको लागी यो क्षेत्र उर्वर छ ।