हिड्न लाई पाइलाहरु उचाले पछि थाहा भो
मेरो खुट्टाहरु बाधिएको
बोल्न लाई ओठ खोल्न खोजेपछि थाहा भो
मेरो मुख बन्द गरीएको
हेर्न लाई दुनियाँ आँखा खोल्न खोजे पछि थाहा भो
मेरो आखामा पट्टी बाधिदिएको
त्यसपछि म
अत्तालिरहेको छु पिंजडा भित्र
खोजीरहेछु उन्मुक्ती यो जंजिर बाट
हानिरहेछु मुक्का पिंजडा लाइ
चिच्याइ रहेको छु पिंजडा भित्र
मेरो मुक्का र चिच्याहटले कहिलेकाही पितृसत्तामा भुकम्प जान्छ
हलचल हुन्छ
मलाई अनेकौं नैतिकता र चरीत्र को जालो देखाइन्छ
तर म
यो सबै जालो लाई भत्काउने प्रतिज्ञा गर्छु
र निरन्तर प्रहार गरिरहन्छु
पितृसत्ताले बनाएको पर्खालमा,जालोमा
अवश्य एकदिन भत्किने छ ।
त्यसपछि म स्वतन्त्र हुनेछु
मेरै लयमा मेरै आवाज बोल्नेछु
आफ्नै आँखाले दुनियाँ नियाल्नेछु
बेफिक्री हिड्नेछु टेक्नेछु हरेक भूगोल बिना बैशाखी ।
.