केन्जो खबर,पाँचथर। नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक धनकुटा नगरपालिका –४, दानाबारीस्थित नुनथला होमस्टेमा पाँच बुँदे धनकुटा घोषणापत्र जारी गदै सम्पन्न भएको छ । प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मिनकुमार नबोदितको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दवाब दिन जोड दिएको छ । त्यस्तै, आम सञ्चारकर्मीको पेसागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गरेको प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौलाले बताउनुभयो ।
त्यस्तै, घोषणापत्रमा धनकुटाको पर्यटन विकासका लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यम मार्फत प्रबर्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मितिभित्र सम्पन्न गर्नेमा जोड दिएको छ ।
प्रेस युनियन कोशी प्रदेशको बैठकले अध्यक्षको संयोजकत्वमा सचिवालय समिति, उपाध्यक्षको संयोजकत्वमा अनुशासन समिति र महिला उपाध्यक्षको संयोजकत्वमा महिला विभाग समिति समेत गठन गरेको छ । त्यस्तै बैठकले महासचिव वाग्लेको संयोजकत्वमा संगठन विभाग पनि गठन गरेको छ ।
उत्त बैठककै क्रममा २०८० सालको भित्ते पात्रोपनि सार्वजनिक गरिएको हो ।
बैठकमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिबडा, उपमहासचिब अभय राई, सल्लाहकार लिला बल्लब घिमिरे, प्रेस युनियन धनकुटा शाखाका अध्यक्ष हिमा चेम्जोङसहित प्रदेशका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक वैशाख ८ र ९ गते सम्पन्न भएको हो ।