ताप्लेजुङ । मैवाखोला गाउँपालिका–४ साँघुको चित्रेमा परेको चट्याङले १० वर्षीय बालकको ज्यान गएको छ । उनका बाबु र आमा घाइते भएका छन् ।
बुधबार बेलुका ८ बजेतिर परेको चट्याङले फुर्वादोर्ची शेर्पाको निधन भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । ४७ वर्षीय बाबु दारिञ्जेन शेर्पा र आमा ङिमाल्हामू शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । शवको पोस्टमार्टम गरेपछि परिवारलाई बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए । अध्यक्ष वनेमका अनुसार घरमा बसिरहेको बेला चट्याङ परेको थियो ।
बिजुलीको वायरिङका सामानसमेत जलेकोले बिजुली सट भएर दुर्घटना भएको हुन सक्ने वनेमले वताए । तीन दिनअघि फुङलिङ नगरपालिका–९ हाङदेवामा परेको चट्याङ बिजुलीको तारबाट प्रवाह हुँदा एउटा घरमा आगलागी भएको रेडक्रस उपशाखा हाङदेवाले बताएको छ ।