झापा । बिर्तामोडको एक आयल स्टोर्समा पेट्रोलियम पदार्थमा पानी मिसावट भएको भन्दै पेट्रोल पम्प बन्द गरिएको छ । झापाको बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तर्गत धौला पुलनजिक रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि पम्प बन्द गरिएको हो ।
पेट्रोलमा पानी मिसावट गरी बिक्री वितरण गर्दा उपभोक्ताका सवारी साधनको इन्जिनमा समस्या सिर्जना भएको भन्दै पम्प तोडफोड गर्न खोजेपछि प्रहरी र जनप्रतिनिधिले सो पेट्रोल पम्प बन्द गराएका हुन् । उक्त पम्पको पेट्रोल प्रयोगले दर्जनौं मोटरसाईकल बिग्रिएको सेवाग्राहीहरुको भनाइ छ । पेट्रोल हालेका सवारीसाधनले पिकअप नदिएपछि चालकहरूले पम्पमा आएर विवाद गर्दै पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई नियन्त्रण गरी पेट्रोल पम्प बन्द गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।
पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरू आक्रोशित भएका थिए । पेट्रोलमा मिसावट भए नभएको परीक्षण गर्न आयल निगमको टोली बोलाएको डीएसपी कार्कीले जानकारी दिए । यता बिर्तामोड –३ का डम्बर बस्नेतले पम्पमा तेल हालेर पम्प बाहिर निस्किँदा मोटरसाइकल अकस्मात् बन्द भएपछि डोर्याएर सैनिकमोडस्थित ग्यारेजामा चेकजाँच गर्दा तेल हालेपछि मोटरसाइकलको ब्याट्रीमा समस्या आएको बताए ।
मोटरसाइकल बिग्रिएपछि पम्पमा पुगेर समस्या राख्दा पेट्रोल पम्प सञ्चालकले वास्ता नगरेको उनले बताए । त्यस्तै, हल्दिवारीका देवनारायण चुडालले पेट्रोल पम्पमा पैसा तिरे बराबरको तेल नपाएको बताउदै पम्पहरूमा यस प्रकारको ठगी बढिरहेकोले अनुगमन गर्न आग्रह गरे । बिर्तामोड–३ की शर्मिला लिम्बुले पेट्रोल पम्पमा गएर स्कुटरमा पेट्रोल हालेको र पम्प बाहिर पुग्ने बित्तिकै स्कुटर बन्द भएपछि मिस्त्रीलाई बोलाउन खोज्दा पम्पका स्टाफले हतारपतार भित्र लगेर बनाइदिने भन्दै आलटाल गरेको बताइन् ।
अर्का उपभोक्ता आकाश राजवंशीले फुल ट्याकी तेल हालेर निस्किने बित्तिकै मोटरसाइकल बन्द भएको बताए । मिस्त्री बोलाएर टयांकी खाली गराउँदा पेट्रोलभन्दा पानी धेरै भेटिएको जानकारी दिए । बिर्तामोड–३ का सन्तोष पाठकले पेट्रोल पम्पमा गएर तेल हालेदेखि गाडीको स्टार्ट बन्द हुने समस्या भएको बताए । उनले पम्पमा लगेर गाडी छोडिदिने र समस्याको पहिचान नभएसम्म गाडी फिर्ता नलिने चेतावनी दिए ।
उक्त पम्पमा पेट्रोल प्रयोग गर्ने वित्तिकै १६ जनाले गाडीमा समस्या आएको बताउँदै पम्प सञ्चालकले क्षतिपूर्ति व्यहोर्नुपर्ने माग राखेका छन् । यता, पम्पका सञ्चालक प्रकाश सरियाले पम्पमा नियतवश पानी मिसावट नभएको दाबी गरेका छन् । उनले टंयाकीमा लिकेज भएको शंका गर्दै पेट्रोलमा पानी मिसावट नगरेको बताए । उनले तेलकै खराबीका कारण सवारीहरूमा समस्या भए समाधान गरिदिने प्रतिवद्धता जनाए ।