पाँचथर । नेपाल–भारतको सीमा चिवा भञ्याङ आइपुगेका भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिङ तामाङले चिवा भञ्ज्याङमा नाका खुलाउन पहल गर्ने बताएका छन् । यहाँसम्म सडक आइपुगेकाले यो नाकालाई व्यावसायिक नाकाको रूपमा विकास गर्ने बताए ।
भारत र नेपाललाई फाइदा हुनेगरी यहाँ काम गर्नुपर्ने उनको भनाइ छ । ‘मल्टी कोरिडोर इकोनोमीको रूपमा विकास गर्नका लागि कुरा उठाइरहेको छु । भारत सरकार एकदमै सकारात्मक छ । सडक आइसकेको छ,’ उनले भने, ‘सुनौलो मौका छ । भविष्यमा यो बोर्डरलाई फाइदाजनक बोर्डर बनाउन लागेको छ । त्यही भएर म पहिलोपल्ट यहाँ आएको छु ।’
‘नजिकको नेपालको भूभागबाट पढ्न, स्वास्थ्यका लागि काठमाडौं जानुपर्छ । नजिकै अस्पताल, कलेज खोल्यौँ भने त्यहाँका मान्छे यहाँ आउनुहुन्छ । यसका लागि हामीले बनाएको मार्ग उपयुक्त हुन्छ,’ उनले भनेका छन्, ‘अबको ५० वर्षसम्ममा के के हुन्छ भनेर यो क्षेत्रलाई विकास गर्छौं । नेपाल, भारत आउजाउ हुन्छ । अफिसियली नाका खोल्नुपर्छ ।’
नेपालतर्फ यहीँबाट पुष्पलाल (मध्यपहाडी) लोकमार्ग सुरु हुन्छ । केही वर्ष अगाडि सिक्किम सरकारले पनि सडक बनाएको छ । यो नेपाल र सिक्किम जोड्ने एकमात्र सडक हो । यो नाका सञ्चालन गर्नुपर्ने नेपाल तर्फ पनि माग भइरहेको छ ।
आवागमन बाक्लै हुने भए पनि औपचारिक रूपमा नाका सञ्चालनका लागि पहल गर्नुपर्ने माग भइरहेको छ । सिमाना नजिककैको भारतको उत्तरे भन्ने बजारलाई अन्तर्राष्ट्रिय बजार बनाउने मुख्यमन्त्रीले विगतमा बताउँदै आएका थिए ।
सिक्किमको इतिहासमा यसअघि कुनै पनि मुख्यमन्त्री यस ठाउँमा नआइपुगेको पश्चिम सिक्किमका एक जना पत्रकार मिलन समर्पणले बताए । चिवा भञ्ज्याङबाट सुरु हुने मध्यपहाडी लोकमार्गको ५० किलोमिटर अगाडि थर्पु बजारसम्म कालोपत्रे छ । ५० किलोमिटर खण्ड पनि कालोपत्रेका लागि ठेक्का लगाइएको छ । नाका सञ्चालन गर्दै पर्यटन विकासमा जोड दिनुपर्ने नेपाल तर्फका सरोकारवालको भनाइ रहेको पाइन्छ । सिक्किमले उत्तरेदेखि २२ किलोमीटर सडक बनाएर चिवा भञ्याङ ल्याइपुर्याएको थियो