पाँचथर । ‘मध्यराती भएको रहेछ, गड्याङ्ग र गुढुङ गर्यो । के भएछ भनेर हेर्न निस्किएको त बाढि पुलमाथि आईसकेको रहेछ । नानीहरुलाई उठाएर भाग्यौँ । पुल त एकैछिनमा बगाई हाल्यो नी’ कुल बहादुर लावतीले हेवा पुल बगाउँदै गर्दाको दृष्य सुनाउँदै भने ‘पहिले त कहिलेनी यत्रो बाढि आएको थाहा पाएको थिईन । खोला छेउछाउमा बगाउथ्यो, अहिले त पुलनै बगायो ।’
उनी खोला नजिकै २०४३ सालदेखि बस्न थालेका रहेछन् । राती भागभाग भएको उनले सुनाए । खोला छेउछाउमा खेत, बारी गोठमात्र बाढिले बगाएन गिटि कुटेर गुजारा चलाउने ५५ बर्षिय राजकुमार राईलाई समेत बगायो ।मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालीका र हिलिहाङ गाँउपालीकाको सिमानामा हेवा खोलको पुल बाढिले ताप्लेजुङ र पाँचथर तीन स्थानीय तहको सडक आवागमन अवरुद्ध बनाएको छ ।पुल बगाएपछि पारीका पारीनै वारीका वारीनै बनाईदिएो छ । खोलावारी, खोलापरि मान्छेहरु आएर विपत्ति हेरीरहेका छन् । मान्छेहरु खोलावारीपारी हात उठाएर संकेत, अभिवादन गरेको देखिन्छ तर पुल नभएर भेट्न पाएका छैनन् ।
ताप्लेजुङको सडक सम्बन्ध टुटेको छ । यहि पुलभएर दैनिक सयौँ गाडी यो राजमार्गका कुद्थे । ताप्लेजुङ पुगेर फर्किन लागेकाहरु पुल भत्किएपछि उतै थन्किएका छन् भने ताप्लेजुङ हिडेकाहरु पनि बाटोमै रोकिएका छन् । पाँचथरको याङवकर, हिलिहाङ र फालेलुङ गाँउपालीको ६-७ र ८ नम्बर वार्ड बाहेकका गाँउको सडक सम्बन्ध टुटेको छ ।
पाथीभरा देविको दर्शन लगायतका अन्य काममा ताप्लेजुङ पुगेकाहरु बाटोमै रोकिएका छन् । पछिल्लो सयममा सञ्चालनमा रहेको तमोर कोरीडरको पनि हेवा खोलकै बेली ब्रिज भत्किएपछि स्थल यातायात ठप्प भएका छन् । ‘पारीको वारी, पारीको पारी हुने अवस्था आएको छ । मुख्य पुल नै भत्किएकाले ठुलो समस्या आईलाग्यो’ पाँचथरका प्रमुख जिल्ला अधिकारी मेघराज मग्रातीले भने ‘माथिल्लो निकायसँग कुरा गरिरहेको छु । चाडोँ भन्दा चाडो पुल नबन्नेहो भने ठुलो समस्या हुन्छ । विरामीलाई अस्पतालमा लैजाने बाटो समेत रहेन ।’
तत्काल यो पुलको पुनः निर्माण हुन नसक्ने हो भने विपत्त बढ्दै जाँदा राहत उद्ववारमै समस्या हुने देखिन्छ । केहि दशक अगाडी यहाँ पुल बनेको थियो । ताप्लेजुङ जाने मुख्य बाटो मेची राजमार्गनै हो ।
‘बाढि त कस्तो बौलाएर आयो । उ हेर्नु त बाटोसम्मनै बाढि पुग्यो । बाचिदैन कि भनेर भागेर माथि माथि पुग्यौँ’ स्थानीय राजीव विश्वकर्माले भने ‘गलेर सुतिया थियो । घरमा हजुरमा हुनुहन्थ्यो, उहाँले बाढि बाढि आयो भनेपछि हेर्दा खोलामाथि बाढि थियो । हतार हतार मान्छे उठाएर भगायौँ । यत्रो पुल बग्छ भन्ने त कहिलेपनि सोचेको थिएन ।’हेवा खोलाको मुहाना भारतको सिमानजिकै फालेलुङ गाँउपालीकमा पर्छ । विभिन्न खोलाहरु मिसिदै माझिटार भन्ने ठाँउम आएर तमोरमा मिसिन्छ । यो पल्ट तमोरले शिरदेखि मिसिने ठाँउसम्मनै क्षती पुर्याएको छ ।
फालेलुङमा यहि नदिमा रहेका दुईवटा मोटरवेल पुल बगाएको छ । हेवा ए र वि जलविद्युत आयोजनमा पनि यो खोलाले ठुलो क्षती पुर्याएको छ । हेवा ‘ए’ मा कार्यरत दुईजना र माझिटारमा खोला मिसिने ठाँउमा दुई जनालाई बगाएको छ ।खोला किनारमा रहेका खेत बगर भएका छन् । चैतमा रोपिएको धान पाक्ने बेला भएको थियो । मकै फलिसकेका थिए । अहिले हेवा खोला नजिकका धेरै क्षेत्र खण्डहर देखिन्छ ।