–गिरिराज बाँस्कोटा
पाँचथर– केन्जो (पदमचाल) को सुन्दरताको महिमा धेरैले गर्ने गरेको सुन्न पाईन्छ । घर, अफिसमा केन्जोको तस्विर राखिएको देख्न पाईन्छ । आखिर किन सुन्दर छ केन्जो ?
तिम्बुङ पोखरी पदयात्रामा निस्किनेलाई बाटोका सर्वसाधारणको प्रायः सुझाव सुन्न पाईन्छ केन्जोसँग फोटो खिच्न नभुल्नु है । नेपालका पाँचथर, ताप्लेजुङ, संखुवसभा जिल्लामा केन्जो फूल देख्न पाइएको छ ।
पत्रपत्र भएर फूल्ने केन्जो हेर्दै आकर्षक लाग्छ । यसको पहिलो पल्ट बैज्ञानिक व्याख्या ब्रिटिस बोटानिस्ट सर जेसेफ डाल्टन हुकरले गरेको भेटिन्छ । उनले ‘हिमालयन जर्नलस नोट्स आफ न्याचुरलिस्ट’मा व्याख्या गरेका छन् । यहि किताबको एक भाग कञ्चनजङ्घा जुहार भनेर नेपालीमा समेत अनुवाद भएको छ । सन् १८४९ तिर सिक्किमको लाछेन उपत्यकामा यो वनस्पति देखेको लेखेका छन्।
‘पदमचाललाई मैले पहिलो पल्ट १ माइल टाढाबाट देखें । लाछेन उपत्यकाको १४ हजार फिट उचाईमा अवस्थित कालो पहाडलाई यसले अत्यन्त सुन्दर बनाएको थियो । अप्ठ्यारा ठाउँमा थिए । तीन फिट जति अग्लो यस वनस्पति पिरामिड टावरको रूपमा ठिंग उभिएको थियो,’ उनले लेखेका छन् ।
पदमचाल तीन हजार दुई सयदेखि चार हजार पाँच सय मिटरसम्म उचाइमा पाइने वन्यजन्तू र वनस्पती सम्बन्धी अध्ययेता सोनाम टासि लामा बताउँछन् । नेपाल, भारत र भुटानमा यो वनस्पति भेटिएको छ । यसलाई कृत्रिम तरिकाले युरोपमा पनि उमारिएको छ तथ्य भेट्न सकिन्छ ।
पत्रैपत्र परेको फूल्ने केन्जो (पदमचाल) देखेर मोहित हुनेहरु भेटिन्छन् । कतिपय प्रत्यक्ष देखेर मख्ख पर्छन् भने कतिपय फोटो भिडियो हेरेर लोभिन्छन् ।
केन्जो प्रत्यक्ष देख्नलाई हिमाली क्षेत्र पुग्नु पर्छ । तिम्बुङ पोखरीको भित्तापटि केन्जो देखेर फिदिमबाट त्यहाँ पुगेका सन्दिप केरुङ मख्ख परे । केन्जोको छेउमा उभिनु त्यति सहज थिएन । चट्टान भएको भिरालो पहाडमा फूलेको केन्जोनजिक पुग्न केहि कठिन त हुन्छ नै ।
पोखरी नजिकै हिडेपछि केन्जो नजिकबाट देखेर फोटो खिच्न भ्याएँ । तिम्बु पोखरी जाने धेरैको पोखरीपछि महत्पूर्ण ध्येय केन्जोहेर्ने र तस्वीरे लिने हुन्छ । यस्तै ध्येय राख्ने मध्येका जुगल केरुङ डाँडामै पुगेर केन्जोसँग सेल्फि खिच्न भ्याए ।
बाटोमा जादाँ जादै ताप्लेजुङको कालिखोला निवासी भिम भण्डारीको सल्लाह थियो केन्जोसँग फोटो खिच्न नभुल्नु है ।
पत्रैपत्र परेको पिरामिड जस्तो केन्जो निक्कै सुन्दर छ । साउन फूल्न थाल्ने यो फूलको सौन्दर्यता आर्कषक छ । पाँचथर, ताप्लेजुङ, संखुवसभा जस्ता जिल्लामा केन्जो देख्न पाईन्छ ।
ठुला पात भएको कन्जो फूल्दा पिरामिड जस्तो देखिन्छ । टावरजस्तो फूल । तलमोटो, उचाई बढ्दै जाँदा सानो सानो हुदँै जाने । केन्जोको फोटो धेरैले घरमा, क्यालेण्डरमा सजाएका छन् । कतिपयले डाँडैभरी टावर समेत भन्ने गरेका छन् ।
यतिबेला उच्च पहाडी, हिमाली क्षेत्रमा अनेक किसिमका फूल फुलेका छन् । यि मध्ये विशेषः प्रकारको फूलको रुपमा केन्जो रहेको छ । कतै भित्तामा कतै चउरमा फूलेको देखिन्छ । यो फूलमा औषधीको गुण हुने गरेको बताईन्छ । यो फूल बर्षेनी फूलेको देखिन्छ ।
लेकाली चौर र अग्ला डाँडा निकै आर्कषक देखिएर फूलेको भेटिन्छ । केन्जोलाई नेपालीमा पदमचाल भनिन्छ । पूर्वको चर्चित तिम्बु पोखरी क्षेत्रमा यो भेटिन्छ । टाढाबाट हेर्दा टावरजस्तो सेतो फूलेको वनस्पति लहरै देखिन्छ ।
(सबै तस्विर गिरिराज बाँस्काेटाले खिचेका हुन्)