दिपक बोहोरा । मेची पहाडका ३ जिल्ला ताप्लेजुङ, पाँचथर र इलाममा पुःन फुटबलकको माहोल फर्किएको छ । करिब ४ वर्ष अगाडीबाट रोकिएका ठुला प्रतियोगिताहरु आयोजना हुनथाले सँगै यि जिल्लाहरुमा फुटबलको माहोल फर्किएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा फुटबल प्रतियोगिता हुँदै आएको थियो । तर,कोभिड-१९ महामारीलगायतका कारण सो प्रतियोगिता रोकिएको थियो ।
सो प्रतियोगिता दुई वर्ष कोभिड महामारीका कारण खेल रोकियो भने गत वर्ष मैदान नहुँदा प्रतियोगिता भएन । मेची पहाडी जिल्लामा फुटबलको माहोल यहि प्रतियोगिताबाट सुरु भयो । अघिल्लो वर्षहरुमा पाथीभरा गोल्डकपको नामामा आयोजना भएको प्रतियोगिता यसपटकबाट ‘ताप्लेजुङ गोल्डकप’को नामबाट आयोजना भयो । प्रतियोगिता गत भदौ १४ देखि भदौ २० गते आयोजना भयो । प्रतियोगितामा ए डिभिजन क्लब सहित ८ टोलीको सहभागीता थियो । यसपटकको ‘ताप्लेजुङ गोल्डकप’को बिजेता इलामको रेडहर्स क्लब बन्यो ।
प्रतियोगिताको विजेता बनेको रेडहर्सले ट्रफी सहित तीन लाख ११ हजार १११ रुपैँया र उपविजेताले एक लाख ११ हजार १११ रुपैँया पाएका थिए ।
लाखेजात्रासँगैको खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको खोजी गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाइराख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्ने गरेको लाखेजात्रा फुटबल खेल सञ्चालक समिति पत्रकार तथा पूर्वफुटबल खेलाडी देवराज गुरुङले जानकारी दिए ।
सो प्रतियोगितासम्पन्न गर्न ४९ लाख ८७ हजार एक सय ३७ खर्च भएको र प्रतियोगिता आयोजना गर्न रु ७३ लाख २४ हजार सात सय ८५ आय भएको गुरुङले जानकारी दिए । टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगबाट उक्त रकम सङ्कलन भएको हो । सो प्रतियोगितामा खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार छ सय आम्दानी भएको गुरुङले बताए ।
यस्तै, पाँचथरमा पनि सदमरमुकाम फिदिम माविको स्वामित्वमा रहेको खेल मैदानको पर्खाल २०७६ श्रावणमा भत्कियो लगतै कोभिड रोगका कारण पाँचथरमाठूला खेल प्रतियोगिताहरु बन्द भए । स्वभाविक थियो त्यहि कारण फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप हुन सकेन । पाँचथर सदरमुकाम फिदिममा यस अघि दुई ठुला प्रतियोगिता हुने गरेका थिए । फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप । फाल्गुनन्द गोल्डकप १० औं संस्करणमा पुगेर रोकियो । पाँचथर गोल्डकपको चौथो संस्करणमै बेक्र लाग्यो । २०७६ यता फिदिममा ठूला मानिएका फुटलब प्रतियोगिता भएको छैन ।
तर, पाँचथरमा ४ वर्ष पछि फुटबलको माहोल फर्किने देखिएको छ । पाँचथर फुटबल क्लबको आयोजनामा मंसिर १६ गते देखि प्रथम किराँत गोल्डकप हुने भएको छ । प्रतियोगिताको खेल तालीका समेत सार्वजनिक गरिएको छ । फिदिम माविको निर्माणाधिन खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र मितेरी फुटबल क्लब तेह्रथुम बीच प्रतिस्पर्धा हुनेछ ।
ए डिभिजन क्लब हिमालय शेर्पा सहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ प्राप्त गर्नेछ ।
उता, मेचि पहाडकै प्रतिष्ठीत गोल्डकप हो । इलामको माइभ्याली गोल्डकप । इलामको माइभ्याली फुटबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता पनि २०७७ सालबाट रोकिएको थियो । २०७१ सालमा क्लब स्थापनापछि प्रत्येक वर्ष सञ्चालन भइरहेको प्रतियोगिता कोभिड महामारीका कारण ०७७ सालयता सञ्चाल भएको थिएन् ।
माइभ्याली फुटबल क्लबले फागुन २४ देखि चैत ३ सम्म प्रतियोगिता आयोजना गर्ने तयारी आयोजकले गरे पनि अन्तीम समय आएर स्थिगीत गरेका छन् ।
तर, इलामकै रेडहर्स क्लबले इलाममा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ। प्रतियाेिगताकाे विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। यसअघि फागुन-चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ।