पाँचथर– दुई खण्डमा ठेक्का लागेको धनकुटाको मुलघाटदेखि पाँचथरको गणेश चोक जोड्ने तमोर करिडोरको १ सय १० किलोमीटर सडक कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ ।
सुनसरीको चतरादेखि मुलघाट हुदैँ गणेश चोक जोड्ने १ सय ५८ किलोमीटर मध्ये मुलघाट– गणेश चोक खण्डको कालोपत्रे गर्ने गरी ठेक्का लागेको थियो । मेची र कोशीराजमार्गलाई छुनेगरीको खण्डमा कालोपत्रेको काम भईरहेको हो ।
पूर्वी पहाडको ‘लाईफ लाईन’को रुपमा लिईएको सडक कालोपत्रे गर्ने काम अघि बढेपछि यो क्षेत्रका बासिन्दा हर्षित छन् । तमोर नदिको किनारै किनार बनेको सडकका विभिन्न खण्डमा कामभईरहेको देखिन्छ । ट्रयाक खुलेसँगै सडक आसपासका क्षेत्रमा चहलपहल बढ्दै गएको छ । तराईबाट पहाडको धनकुटा, पाँचथर, तेह्थमु र ताप्लेजुङका विभिन्न क्षेत्रबाट सजिलै पुग्न सकिने छोटो सडक भएकाले प्राथमिकतामा छ ।
हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख प्रदिप निरौलाले जानकारी दिए ।
कालोपत्रेको काम धमाधम भएपनि आयोजनमा बजेटको अभाव हुने हो कि भन्ने चिन्ता छ । विभिन्न योजनाहरुले आयोजना बजेट अभाव खेपिरहेका बेला तमोर करीडोर पनि अछुतो रहेन । चालु आर्थिक बर्षमा ५८ करोड बजेटमात्र भएकाले काम प्रभावित हुने हो कि भन्ने चिन्ता हुन थालेको छ । तत्कालिन अवस्थामा बजेट अभाव नभएपनि आगामि दिनमा कामलाई तिब्रता दिन समस्या हुन सक्ने देखिन्छ । थप १ अर्ब २० करोड बजेट माग गरिएको आयोजना प्रमुख निरौलाले बताए ।
‘स्टक्चर सहित नालिको काम गरिरहेका छौँ । दुबै खण्ड गरि ३५ किलोमीटर नालीको काम सम्पन्न भईसकेको छौँ । यो आर्थिक बर्षसम्ममा ३५ किलोमीटर कालोपत्रे सम्पन्न गर्ने लक्ष लिएर काम गरिरहेका छौँ’ निरौलाले भने ‘हाम्रोलागि न्यून बजेटमात्र विनियोजित भएको छ । त्यो मध्ये तेश्रो त्रैमासिकसम्मको खर्चगर्ने अधिकार भएको बजेट सकियो । ठेकेदारले भुक्तानीका लिाग विल पेश गरेको करिब २० करोड रकम भुक्तानी गर्न सकिएको छैन् । बजेटका कारण प्रभावित भयो भनेमात्र हो अहिलेसम्मको काम सन्तोषजनक छ ।’
आर्थिक र रणनैतिक महत्वको वपूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकको रुपमा लिईएको छ । यहि तमोरकरिडर पाँचथर सुभाङ खोलाबाट अघि बढेर ताप्लेजुङको ओलाङ्चुङगोला हुदै टिप्तला तर्फ अघि बढ्छ ।
३ अर्ब ६४ करोड लागतको ठेक्का सम्झौता भएको भई काम अघि बढेको थियो । ६६ किलोमीटर रौतहा क्षमादेवि जेवीले २ अर्ब ४० करोडमा र बाँकि खण्डमा एफएक्स कम्पनीले १ अर्ब २४ करोडमा ठेक्का सम्झौता भईक काम अघि बढाइएको थियो ।
यो सडकको ट्याक खुलेसँगै यो क्षेत्रमा चहलपहल बढेको गएको देखिन्छ । घरहरु बन्ने, अन्य संरचना बन्ने कामहरु भईरहेको छ । यो सडकलाई पूर्वी पहाडको ‘लाईफलाईन’ को रुपमा लिईन्छ । गतबर्षमात्र ट्रयाक निर्माण सम्पन्न भएपनि अहिले बाँक्लो गरी गाडी कुद्न थालेका छन् । पाँचथर, ताप्लेजुङ, तेह्थुम र धनकुटाका बासिन्दालाई धरान, प्रदेश राजधानी विराटनगर तथा काठमाण्डौँ लगायतका ठाँउको यात्राका लागि दुरी छोटिएको छ । यो बाटो बनेपछि यताबाट गाडी धेरै कुदिरहेको पाँचथरको कुम्मायकका धनप्रसाद सम्बाहाफेले बताए ।
यो सडक सम्पन्न हुँदा उत्तर–दक्षिण जोड्ने छोटो सडकको रुपमा लिईन्छ । मुलघाट–गणेशचोक खण्ड कालोपत्रे भएपछि यो क्षेत्रमा ठुलो राहत हुने अनुमान गरिएको छ ।
सडक बनेसँग यो क्षेत्रमा उत्साह छ । थोरै समयमा सुविधासम्पन्न सहर पुग्न सकिने यो सडक कालोपत्रेको काम अघि बढेपछि धेरैमा खुसि छाएको छ । पर्याप्त बजेट नहुने हो भने निर्धारीत समयमा काम सकिदैन् । विभिन्न ठाँउमा विकास बजेट खर्च नभईरहेको बजेट महत्वका यस्ता आयोजनामा रकमान्तर गरि कामलाई तिव्रता दिनु पर्ने स्थानियको भनाई छ ।
हेवा खोलमा बनेन् बेलिब्रिज
असारको पहिलो साता आएको बाढिका कारण हेवा खोलको बेलिब्रिज बगाएको थियो । अहिले खोलामा होमपाईप राखेर यातायात सञ्चालन भएको छ । तर बर्खामा होमपाईपबाट गाडी सञ्चालन हुने सम्भावना कम रहेको छ । ताप्लेजुङ सहित विभिन्न क्षेत्र जाने गाडी यहि भएर कुद्छन् । बेलीब्रिज बनाउनका लागि चासो दिएको पाईदैन् ।
तमोर कोरीडरमा आठवटा पुल पर्छन् । कतै ठेक्का लागेका छन् भने कतै तयारीमा छन् । आयोजना कार्यालय र पुल बनाउने कार्यालय फरक फरक रहेकाले आपसि समन्वय र काम गर्न समस्या हुने गरेको छ ।