इलाम । प्रथम एनआरएन इलाम गोल्डकप २०८० को उद्घाटन खेल आयुोजक रेडहर्स फुटबल क्लब र पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङबीच हुने भएको छ । आयोजकले सार्वजनिक गरिएको टाइसिटअनुसार घरेलु टोलीले भारतीय प्रतिद्वन्दी पाएको हो । माघ ६ गतेदेखि इलाम सदरमुकाममा सञ्चालन हुने प्रतियोगितामा एक विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ ।
रेडहर्स क्लब इलामको आयोजनामा हुने लागेको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित एनएसएल क्लब बुटवल लुम्बिनी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेडहर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी हुनेछन् ।
प्रतियोगितको ९० प्रतिशत तयारी पुरा भएको रेडहर्स क्लबका सचिब प्रकाश घिमिरेले जानकारी दिए । खेल हेर्नका लागि मैदानको दाँया र बाँया बाँसको प्याराफिट निर्माण कार्य सकिएको र खेल मैदानमा सम्याउने र मिलाउने काम पनि भइरहेको घिमिरेले बताए। प्रतियोेगितामा दर्शकका लागि प्रवेश शुल्क १ सय रुपैया राखिएको छ । सेमिफाइन खेलमा भने प्रवेश शुल्क २ सय रुपैयाँ र फाइनल खेलको शुल्क ३ सय रुपैयाँ राखिएको जानकारी घिमिरेले गराए । प्रतियोगिता लाई गैरआवासीय नेपाली ( एनआरएन) ले प्रायोजन गर्ने छ ।
माघ १३ गते हुने फाइनल खेलको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउने जनाइएको छ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।