पाँचथर । पर्यटकिय नगरी इलाम आजबाट फुटबलमय हुँदैछ छ । २०७६बाट फुटबलको माहोल हराएको इलाममा ४ वर्ष पछि फुटबलप्रेमी दर्शकहरुलाई इलामले आज स्वागत गर्दैछ । एनआरएनए इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आजबाट सुरु भएसँगै इलामको माहोल फुटमय हुने अपेक्षा गरिएको छ । सदरमुकामको ठूलो टुँडिखेलमा प्रतियोगिता सुरु हुन लागेको हो ।
रेडहर्स फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पाहुना टिम भारत दार्जिलिङको एमएफसीबीच खेल हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) , एनएसएल क्लब बुटवल लुम्बिनी एफसी, पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक र मानेभञ्ज्याङले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटनका लागि ठूलो टुँडिखेल सिँगारिएको छ । खेलमैदान मर्मत, बाँसको अस्थायी प्यारापिट निर्माण, मैदान अझ सजिलो बनाउने काम, स्टेजलगायत सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक क्लबका सचिव प्रकाश घिमिरेले प्रतियोगिताको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘मध्याह्न १२ बजेपछि उद्घाटन सत्र सुरु हुनेछ ।’
आजको उद्घाटन समारोहमा भ्वाइस् अफ् नेपाल सिजन ५ विजेता इलामे विनोद राई र इलामकै गायक यम बरालसमेतको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । प्रतियोेगिताको पहिलो चरणका लागि १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा ३ सय रुपैयाँ टिकट दर तोकिएको सचिव घिमिरेले जनाए । गैरआवासीय नेपाली ( एनआरएन) ले प्रतियोगितालाई प्रायोजन गरेको छ ।
माघ १३ गते हुने फाइनलको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ । प्रतियोगिताको एनआरएनएले मुख्य प्रायोजन गरेको छ ।