काठमाडौं । अचेल कुनै अपरिचित नम्बरबाट फोन आउँदा कसको हो भनेर थाहा पाउन अधिकांशले ट्रुकलर एप प्रयोग गर्छन् । यो एपले विभिन्न तरिकाले व्यक्तिको नाम र मोबाइल नम्बर पहिचान गरेर भण्डारण गरेको हुन्छ ।
त्यसै आधारमा ट्रु कलरले कुनै पनि फोन नम्बर कसको हो भन्ने पहिचान गर्न मद्दत गर्छ । जति पनि प्रयोगकर्ताले यो एप आफ्नो मोबाइलमा राखेका हुन्छन्, ती सबै मोबाइलको कन्ट्याक्टमा पहुँच बनाएर ट्रुकलरले उपयुक्त नाम सुझाव दिन्छ ।
फोनमा कसैको नम्बर सेभ गर्नुपर्यो भने हामी आफूले चिन्ने तरिकाको नाम राख्छौं । त्यसले गर्दा लामो समयसम्म कुरा नभए पनि कुनै दिन कल आयो वा कल गर्नुपर्यो भने हामीले चिन्ने तरिकाले राखेको नाम काम लाग्छ ।
त्यस बाहेक कतिपयले आत्मीयता कायम गर्नका लागि पनि प्रिय नाम राखेर सम्पर्क नम्बर सेभ गरेका हुन्छन् । हो, तपाईं हामीले यसरी राखेको लोकप्रिय नाम नै कहिले काहिं ट्रुकलरले व्यक्तिको वास्तविक नाम भन्ने ठान्छ र त्यसै अनुसार सुझाव दिन्छ ।
तर, सबै अवस्थामा यस्तो नाम उपयुक्त हुँदैन । उदाहरणका लागि तपाईंले आफ्नो बाबाको नाम ‘बाबा’ भनेर सेभ गर्नु भएको छ भने कुनै अर्को व्यक्तिले ट्रुकलरमा तपाईंको बाबाको नम्बर सर्च गर्यो भने उक्त नम्बर ‘बाबा’कै नाममा देखिन्छ ।
ट्रुकलको यही विशेषताको फाइदा उठाउँदै केही व्यक्तिले अर्को व्यक्तिसँगको रिसिवी साँध्नका लागि समेत गलत नाम राखिदिने गर्छन् । जसले गर्दा सो नम्बर सर्च गर्दा गलत नाम देखिन्छ । यसले गर्दा तपाईं लज्जित हुनुपर्ने अवस्था समेत आउन सक्छ ।
सबै अवस्थामा ट्रुकलरले यसरी नै नम्बरको भरमा व्यक्तिको नाम पहिचान गर्छ भन्ने हुँदैन । विशेषगरी ट्रुकलरमा अकाउन्ट बनाएर गुगल वा फेसबुक अकाउन्ट भेरिफाई गरेको अवस्थामा सटीक नाम देखा पर्छ ।
आज हामी त्यसरी नै कसैले तपाईंको गलत वा फरक नाम राखेको छ भने कसरी सच्याउन सकिन्छ भन्ने विषयमा बताउँदै छौं ।
ट्रुकलरबाट आफ्नो नाम मेटाउने तरिका
कतिपयलाई ट्रुकलरमा आफ्नो नाम देखाएको कुरा चित्त नबुझ्न सक्छ । अथवा कसैले गलत नाम राखिदिएकाले दिक्क हुनु भएको हुन सक्छ । आफ्नो नाम कुनै पनि रूपमा ट्रुकलरमा नदेखियोस् भन्ने चाहना तपाईंमा हुन सक्छ ।
यसका लागि ट्रुकलर अनलिस्टिङ गर्ने सुविधा दिइएको छ । यो तरिका अपनाएर तपाईं आफ्नो नाम ट्रुकलरबाट हटाउन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।
-
सबैभन्दा पहिला यहाँ क्लिक गरेर ट्रुकलरको ‘अनलिस्टिङ पेज’मा जानुहोस् ।
-
त्यसपछि तल रहेको ‘नो, आई वान्ट टु अनलिस्ट’ (No, I want to unlist) लेखेको बटनमा ट्याप गर्नुहोस् ।
-
यति गरेपछि फोन नम्बरको बक्समा आफ्नो नम्बर राख्नुहोस् । (+977980567*** यो तरिकाबाट राख्नुहोस्)
-
अनि तपाईंले नाम किन अनलिस्ट गर्न खोज्नु भएको भन्ने विकल्प छान्नु पर्ने हुन्छ । (त्यहाँ दिइएका मध्ये उपयुक्त एउटा विकल्प छान्नुहोस् ।)
-
अनि अन्तिममा रहेको ‘अनलिस्ट’को बटनमा ट्याप गर्नुहोस् ।
ट्रुकलरमा रहेको नाम परिवर्तन कसरी गर्ने ?
तपाईं ट्रुकलरमा देखाउने आफ्नो नाम परिवर्तन गर्न चाहनु हुन्छ भने त्यसको समेत सुविधा पाउन सक्नु हुन्छ । यसका लागि तपाईंले सबैभन्दा पहिला आफ्नो मोबाइलमा ट्रुकलर एप इन्स्टल गर्नुपर्ने हुन्छ । एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गरी ट्रुकलर एप इन्स्टल गर्नु होस् ।
-
एप इन्स्टल भइसकेपछि त्यहाँ दिइएको निर्देशन अनुसार आवश्यक जानकारी राखेर सेटअप गर्नुहोस् ।
-
तपाईंले आफूलाई चिनाउने नाम एप इन्स्टल गरेर सेटअप गर्नेबेलामा राख्न सक्नुहुन्छ ।
-
फेसबुक वा ईमेलबाट भेरिफाई गर्नुभयो भने तपाईंको वास्तविक नाम भेरिफाइड नामको रूपमा देखिन्छ । यस्तोमा अर्को व्यक्तिले तपाईंको नाम सर्च गर्दा तपाईंको नाम पछाडि ब्लु टिक पनि देखिन्छ ।
यदि माथि दिइएको तरिका अपनाउँदा पनि तपाईंको नाम अनलिस्ट भएको छैन भने तपाईंले एप इन्स्टल गरेर नै अकाउन्ट डिएक्टिभेट गर्नुपर्ने हुन्छ । त्यसका लागि माथि देखाइएको तरिका अपनाएर अकाउन्ट सेटअप गर्नुहोस् ।
-
एप सेटअप गरिसकेपछि आफ्नो प्रोफाइल देखाइएको आइकनमा ट्याप गर्नुहोस् ।
-
अनि माथि दायाँपट्टि रहेको सेटिङको विकल्पमा ट्याप गर्नुहोस् ।
-
त्यसपछि प्राइभेसी सेन्टरमा जानुहोस् ।
-
अनि डिएक्टिभेट अकाउन्टको अप्सन छान्नुहोस् । र अन्तिममा ‘एस’ को बटन दबाएर अकाउन्ट डिएक्टिभेट गर्न सक्नुहुन्छ ।
टेकपाना