इलाम । पाँचथर फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार इलामको ठुलो टुडिखेलमा भएको खेलमा एनएसएल टोली बुटबल लुम्बिनी एफसीलाई टाइब्रेकरमा हराउँदै पाँचथरले अन्तिम चारमा स्थान बनाएको हो । पाँचथरको जित सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेका थिए । पाँचथरले सुरुवाती अग्रता बनाएको थियो । पाँचथरका लागि खेल सुरु भएको ४ मिनेटमै कप्तान रोशन आङदेम्बेले गोल गरेर अग्रता दिलाएका थिए ।बुटबल लुम्बिनी खेलमा फर्किन ३६औँ मिनेट पर्खिनु परेको थियो । उसका लागि विदेशी खेलाडी स्टेफनले गोल गरे । तर, पाँचथरका सिमान्त थापाले ३९औँ मिनेटमा गोल गरेर खेल २-१ मा पु्याए । विदेशी खेलाडी मार्टिन्सले बुटबल लुम्बिनीलाई खेलमा फर्काउन ५३औँ मिनेट फ्रिकिकबाट सुन्दर गोल गर्दै खेल बराबरी गरेका थिए । बाँकी समय दुबै टोलीबाट गोल नभए पछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा पाँचथर ४-३ गोलअन्तरमा विजयी बन्यो । पाँचथरका लागि अशोक खवास, सुनिल खड्का, मन्जिल खड्का र रोमन भुजेलको प्रहार गोलमा परिणत हुँदा सिमान्त थापाको प्रहार विपक्षी गोलरक्षक मोस्सीले रोकेका थिए । बुटबल लुम्बिनीका चन्दन दास, विकास लामा र मार्टिन्सको प्रहारमात्र गोलमा परिणत भयो भने जनक कोइरालाको प्रहार पाँचथरका गोलरक्षक प्रमिजय गच्छदारले रोक्दा अनिल महर्जनको प्रहार आकासिएको थियो ।
खेलको म्यान अफ दी म्याच पाँचथरका कप्तान रोशन आङदेम्बे भए । उनलाई नगद पाँच हजारसहित ट्रफी प्रदान गरियो ।
गोल्डकपमा भोलि (बुधबार) काठमाडौँको न्यू रोड टिम (एनआरटी)ले आयोजकसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । गोल्डकपको विजेता टोलीले नगद ५ लाखसहित ट्रफी पाउने छ ।