काठमाडौं । नेपालमा जस्तै भारतमा पनि ठूलो जनसङ्ख्या कृषिमा आबद्ध छ । त्यहाँको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण हिस्सा ओगटेको छ । पछिल्ला वर्षहरूमा भारतले कृषि क्षेत्रमा ठूलो फड्को मारेको छ । यसको मुख्य कारण कृषि क्षेत्रमा भारतले अङ्गालेको नीति नै हो ।
हाल भारतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई कृषि क्षेत्रमा आक्रमक तरिकाले अपनाइरहेको छ । एआईका कारण खेती गर्ने शैली फेरिएको छ । उत्पादन बढेको छ । सम्भावनाका नयाँ ढोकाहरु खुलेका छन् । समग्रमा भारतले कृषिमा एआईको उदाहरणीय अभ्यास गरिरहेको छ ।
भारतमा कृषि क्षेत्रको वर्तमान अवस्था
भारतको आर्थिक सर्वेक्षण २०२०-२१ अनुसार कूल ५४.६ प्रतिशत जनशक्ति कृषि र यससँग सम्बन्धित क्षेत्रका गतिविधिमा संलग्न छ । यसको अर्थ कृषि क्षेत्र भारतीय अर्थतन्त्रको मेरुदण्ड पनि हो ।
देशको कूल जीडीपीमा कृषिले करिब १६.५ प्रतिशत योगदान दिइरहेको छ । औद्योगिक र अन्य क्षेत्रमा तीव्र वृद्धि हुनुलाई यसको कारण मानिएको छ । तथापि भारतमा कृषिलाई छैटौं ठूलो औद्योगिक क्षेत्र मानिन्छ भने उत्पादन, उपभोग, निर्यात र वृद्धिको हिसाबले पाँचौं ठूलो क्षेत्र मान्ने गरिन्छ ।
हाल भारतमा करिब साढे १९ करोड हेक्टर जमिन खेतीयोग्य छ, ती मध्ये पनि ६३ प्रतिशत जमिन वर्षामा आधारित छ । अर्थात् भारतको करिब ४७ प्रतिशत भूभाग खेतीयाेग्य छ । अझ गाउँ तथा दुर्गम क्षेत्रका धेरै परिवार यसैमा पूर्ण निर्भर छन् ।
भारतको निर्यातको १३ प्रतिशत र कूल औद्योगिक लगानीको छ प्रतिशत कृषि क्षेत्रले योगदान गरिरहेको छ । गहुँ, चामल, दाल, उखु, दुध, जुट जस्ता नगदे बालीहरूको शीर्ष उत्पादकहरूमध्ये भारत एक हाे ।
अहिले भारतले जापान, दक्षिणपूर्व एसिया, सार्क क्षेत्र, युरोपेली संघ, अमेरिका लगायत करिब १२० भन्दा बढी देशहरूमा कृषिजन्य उत्पादन निर्यात गरिरहेको छ ।
त्यस्तै भारतले कृषिमा नयाँ कीर्तिमानहरू कायम गरिरहेको छ । यसको उदाहरण २०२१-२२ मा ५०.२ अर्ब डलर बराबरको कृषि उत्पादन निर्यात गर्नु हो, जुन भारतले हासिल गरेको आजसम्मकै सबैभन्दा उच्च आँकडा हो । साथै आर्थिक वर्ष २०२०/२१ को तुलनामा २० प्रतिशतले बढी हो । त्यस वर्ष जम्मा ४१.३ अर्ब डलरको कृषि सामग्री भारतले निर्यात गरेको थियो ।
यद्यपि कृषिको सबै सूचाङ्कमा भारत राम्रो छैन । बालीको उत्पादकत्व कम हुनु, कृषिमा पर्याप्त लगानी नहुनु, उत्पादनको लागत उच्च हुनु, सिँचाइको अभाव हुनु, औद्योगीकरण वृद्धि हुनु भारतका लागि कृषिमा चिन्ताका विषय हुन् ।
भारतमा कृषिका चुनौती
भारतको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेता पनि समस्यामुक्त भने छैन । कृषकका आन्दोलन, सिँचाइ अभाव, उत्पादनमा ह्रास जस्ता कुरा हामीले बेलाबेला सुनिरहेका हुन्छौं ।
माथिल्लो अनुच्छेदमा भारतको कृषिका केही चुनौती संक्षिप्तमा उल्लेख गरिएको छ । तीबाहेक पनि भारतको कृषि क्षेत्रले धेरै चुनौतीहरूको सामना गरिरहेको छ । यस अनुच्छेदमा भने तिनको सविस्तार चर्चा गरिएको छ :
-साना र खण्डित जग्गाजमिन
भारतमा करिब ८५ प्रतिशत कृषियोग्य जमिन दुई हेक्टरभन्दा कम आकारका छन् । यसो हुँदा उत्पादन क्षमता पनि कम हुन्छ । जसको प्रत्यक्ष असर किसानहरूको आयमा हुने गर्छ ।
-सिँचाइको अभाव
कृषिका लागि पानी अति आवश्यक छ । वर्षा, नदिनाला, भूमिगत पानी आदि भारतका लागि सिँचाइको प्रमुख स्रोत हुन् । उच्च जन घनत्व तथा कृषि क्षेत्र ठूलो हुनाले सिँचाइमा समस्या आइरहेको हुन्छ ।
कमजोर सिँचाइ प्रणाली र भूमिगत पानीको द्रुत गतिमा प्रयोग गरिरहेकाले हाल भारतको ९० प्रतिशत पानी प्रयोग भइरहेको बताइन्छ ।
द वाटर रिसोर्सेस ग्रुपले सन् २०३० सम्ममा आफूलाई आवश्यक पर्ने ५० प्रतिशत पानी मात्र भारतसँग हुने अनुमान गरेको छ । यो सङ्कटले भारतीय कृषिमा ठूलो प्रभाव पार्ने बताइन्छ ।
-माटोको क्षयीकरण
भारतमा माटोको क्षयीकरण गम्भीर पर्यावरणीय र कृषि समस्या बन्दै गइरहेको छ । ब्यूरो अफ सोल सर्भे एण्ड ल्यान्ड यूज प्लानिङका अनुसार भारतको करिब ३० प्रतिशत माटोको क्षयीकरणको शिकार भइसकेको छ, जुन करिब १४६.८ मिलियन हेक्टर जमिन हो ।
पानीको अभाव, अम्लीकरण, जलवायु परिवर्तन माटो क्षयीकरणका मुख्य प्राकृतिक कारणहरू हुन् । त्यस्ता जमिनमा गरिएको खेतीको उत्पादन कम हुने र किसान प्रत्यक्ष मारमा पर्ने गर्छन् ।
-बजारमा पहुँचको कमी
नेपालमा जस्तै भारतमा पनि साना किसानहरूको बाहुल्यता थुप्रै छ । जसलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन कठिनाइ हुने गर्छ । बजारमा पहुँच नपाउँदा उनीहरूको आय र आर्थिक वृद्धि सीमित हुने गरेको छ । यो भारतीय किसानहरूको साझा कथा हो ।
-सीमित ज्ञान र पूर्वाधारको कमी
विशेष गरेर ग्रामीण क्षेत्रका किसान यो चुनौतीबाट ग्रसित छन् । आधुनिक कृषि औजार, वैज्ञानिक कृषिको अभ्यास जस्ता कुराको ज्ञान नहुनु धेरै किसानको समस्या बनेको छ ।
त्यस्तै कृषि उत्पादनको भण्डारण, बजार पूर्वाधार अभाव छन् । यसले उत्पादनमा महँगो लागत लाग्नुका साथै कृषिको विकासमा समेत प्रभाव पार्छ ।
-डिजिटल खाडल
भारतका सबै किसानले आधुनिक प्रविधिहरू प्रयोग गरेका छैनन् । अर्थात् किसानहरूले प्रविधि प्रयोग गर्ने परिदृश्यमा पनि भारतमा विभाजन रहेको छ ।
यसले एकातिर किसानहरू परम्परागत खेतीमै रहिरहन्छन् भने उनीहरूको उत्पादकत्व घटेर बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् ।
यी बाहेक पनि बजारको पूर्वाधार नुहुनु, मूल्यमा उतारचढाव भइरहनु, आर्थिक अभाव हुनु, श्रमिकको अभाव हुनु, उत्पादनको लागत उच्च हुनु अन्य चुनौती हुन् ।
भारतीय कृषिमा क्रान्तिको चौंथो लहर
पछिल्लो समय भारतमा कृषिबारे नयाँ क्रान्तिको बहस छेडिसकेको छ । हामीले माथि चर्चा गरेका अनेकन् चुनौतीहरू हल गर्न र कृषिलाई नयाँ उचाइमा पुर्याउन भारतमा कृषिमा क्रान्तिको चौंथो लहरको बहस सुरु भएको हो ।
कृषि क्षेत्रमा प्रविधिको प्रयोग र उत्पादकत्व बढाउन गरिने आधुनिकीकरणसँग भारतको क्रान्तिको चौंथो लहर सम्बन्धित छ । कृषि क्रान्ति भन्नाले आविष्कार, नवप्रवर्तन वा नयाँ प्रविधि लागू हुँदा कृषिमा हुने महत्वपूर्ण परिवर्तन बुझिने गरिन्छ । यस्ता क्रान्तिहरूले खेती गर्ने तरिका बदल्छन् र उत्पादन दर बढाउँछन् ।
विगतमा भारतमा विभिन्न कृषि क्रान्तिहरू भएका छन् । जसले कृषि क्षेत्रमा पूर्ण रूपमा नयाँ युगको सुरुवात गरेका थिए । जस्तै; अण्डा तथा कुखुराको उत्पादन बढाउन सिल्भर क्रान्ति, कपासको उत्पादन बढाउन सिल्भर फाइबर क्रान्ति, मासु तथा टमाटरको उत्पादन बढाउन रेड क्रान्ति, आलुको उत्पादन बढाउन राउन्ड क्रान्ति, दुध उत्पादन बढाउन ह्वाइट क्रान्ति । यी त केही नमूना कृषि क्रान्ति हुन् ।
भारत सरकारले ‘एग्रिकल्चर ४.०’ लाई अघि सार्न कृषि क्षेत्रमा क्रान्तिको चौंथो लहर सुरु गरेको बताइन्छ । यसबाट भारतका १३ करोड बढी साना किसानहरू लाभान्वित हुने वर्ड इकोनोमिक फोरमले एक प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा वित्तीय पहुँच, दिगो कृषि अभ्यास, सप्लाई चेन लगायतका कुराहरू समेटिएका छन् ।
प्रविधि र आधुनिक कृषि अभ्यासको प्रयोगले भारतको कृषि क्षेत्रमा क्रान्तिको चौंथो लहरको सुरुवात गर्न मद्दत गर्ने बताइन्छ । हालै आफ्नो कृषि अर्थतन्त्रलाई थप सुदृढ बनाउन भारतले एआई जस्ता प्रविधिको प्रयोग गर्न थालिसकेको छ । जुन ‘एग्रिकल्चर ४.०’ को महत्त्वपूर्ण हिस्सा हो । यसबाहेक निम्न कुराहरू यस क्रान्तिमा हुने विज्ञहरूले बताएका छन्:
–डिजिटल डिभाइसहरूलाई इन्टरनेटमा जडान गरेर डेटा सङ्कलन तथा साझेदारी गर्न इन्टरनेट अफ थिङ्स (आईओटी) को प्रयोग गर्ने ।
–किसानहरूलाई वर्षाको ढाँचा, सिचाइँ, मल लगायत आवश्यक डेटा प्रदान गर्न बिग डेटाको प्रयोग गर्ने ।
–बालीको उत्पादन, अनुगमन, प्रशोधन र मार्केटिङको सुधार गर्न एआई प्रयोग गर्ने ।
–जोत्ने, बीउ लगाउने, मल हाल्ने र कीटनाशक छर्ने जस्ता कामका लागि रोबोटिक सिस्टम प्रयोग गर्ने ।
सरल तरिकाले बुझ्दा ‘एग्रिकल्चर ४.०’ मा भारतले एग्री-टेकको व्यापाक प्रयोग गर्न खोजिरहेको छ । कृषिसँग सम्बन्धित प्रविधिलाई एकै शब्दमा भन्दा ‘एग्री टेक’ भन्ने गरिन्छ । यसको विस्तारित रुप ‘एग्रिकल्चर टेक्नोलोजी’ हुन्छ । यसले कृषि क्षेत्रको सुधार गर्न, नाफा वृद्धि गर्न अथवा उत्पादकत्व बढाउन सहयोग गर्छ ।
तल्लो अनुच्छेदमा भारतको कृषि क्षेत्रमा प्रयोग भइरहेको एआईबारे चर्चा गरिएको छ:
भारतको कृषिमा एआई
एग्री-टेक भनेर चिनिने प्रविधि र कृषिको एकीकरणले भारतीय कृषिको परिदृश्यलाई परिवर्तन गर्न थालिसकेको छ । खेती गर्ने विभिन्न तरिका परिवर्तन गर्न एग्री-टेकले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । विशेषत: गरेर तीन प्रमुख क्षेत्रहरूमा भारतीय कृषिमा एआईको प्रयाेग भइरहेको छ:
-बाली र माटो अनुगमन
कम्पनीहरूले बाली र माटोको स्वास्थ्य निगरानी गर्न सेन्सर र विभिन्न आईओटीमा आधारित प्रविधि प्रयोग गरिरहेका छन् ।
-कृषि विश्लेषण
बीउ छर्ने उत्तम समय थाहा पाउन होस् वा कीट आक्रमणबाट हुने जोखिमहरू बारे सचेत हुन, सटिक विश्लेषण हुन आवश्यक छ । यसका लागि एआई र मेसिन लर्निङ डिभाइस प्रयोग भइरहेको छ ।
-आपूर्ति श्रृंखला
कम्पनीहरूले आपूर्ति श्रृंखलालाई चुस्तदुरुस्त बनाउन विभिन्न स्रोतहरूबाट आउने डेटालाई विश्लेषणहरू गर्ने काम गरिरहेका छन् ।
भारतका किसानहरूले बाली उत्पादनमा सुधार गर्न विभिन्न प्रकारका एआई टुल प्रयोग गरिरहेका छन् । तीमध्ये केही एआई टुल तल चर्चा गरिएको छ:
-बाली निगरानी गर्ने एआई एकीकृत गरिएको टुल
बाली निगरानी गर्ने टुललाई भारतीय कृषिको धरातल परिवर्तन गर्ने कारक मानिएको छ । माटोको स्वास्थ्य, आद्रताको स्तर र कीटहरूको संक्रमणबारे थाहा पाउन बाली निगरानी टुल अन्तर्गत स्याटेलाइट इमेजरी, ड्रोन र आईओटी सेन्सरहरू प्रयोग गर्ने गरिन्छ ।
यिनबाट वास्तविक समयको डेटा उपलब्ध हुने भएकाले एआई एल्गोरिदमहरूले किसानहरूलाई सही समयमा सूचना दिने गर्छन् ।
-कीट व्यवस्थापन र रोग भविष्यवाणी गर्ने टुल
मसिन लर्निङ मोडेलहरूले कीटको प्रकोप र रोगको सम्भावनाबारे पूर्व सूचना दिन सक्छन् । किनकी यिनीहरूलाई सोही प्रकारको डेटामा तालिम दिइएको हुन्छ । यसले बालीनालीमा रोग लाग्नबाट बचाउने उपाय गर्न किसानहरूलाई सहयोग गर्छ ।
-खेतीका लागि बाली सिफारिस गर्ने प्रणाली
कुन समयमा कुन बाली लगाउनु पर्छ भन्ने थाहा नहुँदा पनि उत्पादनमा कमी हुने गर्छ । यही समस्या समाधान गर्न बाली सिफारिस गर्ने प्रणाली भारतीय किसानहरूले प्रयोग गरिरहेका छन् । माटोको प्रकार, जलवायु र बजारको माग जस्ता विभिन्न कारकहरूलाई ध्यानमा राखेर त्यस्ता टुलले किसानलाई सुझाव दिने गर्छन् ।
-मौसम पूर्वानुमान र जोखिम न्यूनीकरण गर्ने टुल
कृषिमा मौसमको भूमिका महत्त्वपूर्ण हुने गर्छ । एआई एकीकृत गरिएका मौसम पूर्वानुमान गर्ने मोडेलहरूले सही भविष्यवाणी गर्न सक्छन् । त्यसमा आधारित भएर किसानहरूले आफ्नो योजना बनाउने गर्छन् । त्यसो हुँदा मौसमका कारण हुने जोखिम कम हुने गर्छ ।
-बजार र मूल्य भविष्यवाणी गर्ने टुल
कृषिमा प्रयोग हुने एआई टुल खेतीसँग मात्र नभएर बजारसँग पनि सम्बन्धित छन् । त्यस्ता टुलले वास्तविक समयको डेटा विश्लेषण गरेर बजारको अवस्था, मूल्यमा आउन सक्ने उतारचढाव र मागहरूको पूर्वानुमान गर्न सक्छ ।
-साना किसानहरूलाई सशक्तिकरण गर्ने टुल
भारतमा कृषि पेशामा संलग्न धेरै जनाको आय कम हुने गर्छ । आधुनिक कृषिको शिक्षाबाट पनि उनीहरू वञ्चित हुन परिरहेको हुन्छ । यस्ताेमा एआईले ठूलो भूमिका खेलिरहेको छ । कृषि सम्बन्धी सूचना, ज्ञान र स्रोतहरूमा पहुँच प्रदान गर्न त्यस्ता एआई टुल प्रयोग भइरहेका छन् ।
स्टार्टअप र अन्य संस्थाका पहल
उपलब्ध पछिल्लो डेटा अनुसार हाल भारतमा तीन हजार बढी एग्री-टेक स्टार्टअप छन् । माथि उल्लेख गरिएका एआई टुल सञ्चालन गर्न तिनै एग्री-टेकहरू सक्रिय छन् ।
जसमध्ये पनि अधिकांश स्टार्टअप युवाहरूले सुरु गरेका हुन् । भारतले अहिले कृषि क्षेत्रमा जुन सफलता पाइरहेको छ, यसको पछाडिको कारण युवा जनशक्ति कृषि क्षेत्रमा आउनु पनि हो ।
विशेषत: उनीहरूले कृषिमा प्रविधिलाई जोड दिएर यस क्षेत्रमा आइरहेका छन् । निन्जाकार्ट, देहाट, क्रपइन, वेकूल, खेतीगाडी, एब्सोल्युट, अपना गोडम, आइबोनो, एग्रोवेभ, एग्रोस्टार, बिघाट, बिजक, भारत एग्री, क्रोफार्म, फार्म टू फार्म, मेरा किसान केही सफल एग्री-टेक स्टार्टअपका उदाहरण हुन् ।
जसमध्ये बजार मूल्य क्रमशः ८१५, ७७२, ७०० करोड भएको निन्जाकार्ट, वेकूल, देहाट एग्री-टेक युनिकर्न बन्ने बाटोमा छन् । युनिकर्न त्यस्ता स्टार्टअप हुन्, जसको बजार मूल्य एक अर्ब डलर भएको हुन्छ ।
यद्यपि भारतमा एग्री-टेक स्टार्टअपहरूको संख्या उल्लेखनीय रूपमा २०१३ पछि बढेको बताइन्छ । अहिले दिल्ली, हरियाणा, तमिलनाडु, महाराष्ट्र लगायतका राज्यहरूमा यस्ता स्टार्टअपहरू उल्लेख्य मात्रामा छन् । भारत सरकारले समेत त्यस्ता स्टार्टअपहरूलाई मान्यता, लगानी र प्राविधिक सहयोग गरिरहेको छ ।
आजसम्म भारतले ४९० जिल्लाका ३७४ एग्री-टेकलाई उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) मान्यता दिएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत प्रदान गरिने यस मान्यता पाएका स्टार्टअपहरूले सरकारबाट विभिन्न सहयोग र सुविधा पाउने गर्छन् ।
यसबाहेक प्राविधिक र वित्तीय सहायता ‘एग्रि स्टार्टअप डेमो एन्ड फन्डिङ’ (एटम्यान) कार्यक्रम चलाउने गर्छ । यस कार्यक्रममा गत वर्ष २०२३ मा २४ वटा स्टार्टअप परेका थिए ।
यसबाहेक, सरकारले कृषिमा आधारित स्टार्टअपहरूको पहिचान र अभिवृद्धि गर्न टेक्नोलोजी इनोभेसन हबहरू स्थापना गरेको छ । स्टार्टअपहरूको विकास गर्न तिनले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
यसबाहेक विभिन्न बहुराष्ट्रिय कम्पनीहरूले समेत यस क्षेत्रमा उदाएका स्टार्टअपहरूलाई सहयोग गरिरहेका छन् । जस्तै: प्रोसस भेन्चर्सले देहाटमा ३० करोड डलर लगानी गरेको छ । किसानहरूलाई प्रत्यक्ष रूपमा खुद्रा बिक्रेताहरूसँग जोड्ने एग्री-टेक स्टार्टअप निन्जाकार्टमा विश्व बैंकको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले १० करोड डलर लगानी गरेको छ।
त्यस्तै ‘एआई फर एग्रिकल्चर’ कार्यक्रमका लागि भारतीय सरकारले माइक्रोसफ्टसँग सहकार्य गरेको छ । साथै कृषि क्षेत्रका लागि ब्लकचेनमा आधारित आपूर्ति श्रृंखला व्यवस्थापन प्रणाली विकास गर्न सरकारले आईबीएमसँग साझेदारी गरेको छ ।
सरकारी नीति र कार्यक्रम
एआईको माध्यमबाट कृषि क्षेत्रको विकास गर्न भारतीय सरकारले सार्वजनिक, निजी क्षेत्रको साझेदारी र अन्तर्राष्ट्रिय लगानीलाई विशेष जोड दिइरहेको छ । अहिले निजी इक्विटी र भेन्चर क्यापिटल फर्महरूबाट एग्री-टेकमा लगानी भित्र्याउने शीर्ष देशहरू मध्येको एक भारत बनिरहेको छ ।
यसको एउटा उदाहरण- माइक्रोसफ्टको सहकार्यमा कर्नाटक र आन्ध्र प्रदेशमा नमूना परियोजना सञ्चालन गर्नु हो । उक्त परियोजना अन्तर्गत माइक्रोसफ्टले किसानका लागि ‘एआई साेइङ एप’ तयार पारेको थियो ।
उक्त एपले बाली लगाउनेबारे किसानलाई सल्लाह दिने गर्थ्यो । त्यसको परिणामस्वरूप औसत उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको थियो।
बेन एण्ड कम्पनीको प्रतिवेदनले २०२५ सम्ममा भारतको कृषि क्षेत्रको मूल्याङ्कन ३० देखि ३५ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ । यसका लागि भारतले विभिन्न नीति र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
जसमध्ये ड्रोनलाई कृषिमा बढीभन्दा बढी प्रयोग गर्न सन् २०३० सम्म भारतलाई ड्रोनको अन्तर्राष्ट्रिय हब बनाउनु पनि एक हो ।
यसबाहेक किसानहरूलाई सहयोग गर्न र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न कृषि क्षेत्रमा भारतले धेरै पहलहरू लागू गरिससेको अवस्था छ । ती मध्ये केही प्रमुख पहलहरूको संक्षिप्त चर्चा तल गरिएको छ:
-किसान रथ
किसान, एफपीओ (कृषक उत्पादक संस्था) र व्यापारीका लागि उत्पादनको ढुवानी सुविधाको लागि भारतले ‘किसान रथ’ नामक मोबाइल एप बनाएको छ ।
-किसान रेल
कृषि उत्पादनहरू ढुवानी गर्न भारतले देशभर २०० बढी किसान रेलहरू सञ्चालन गरिरहेको छ ।
-कृषि उडान योजना
अति आवश्यक पर्ने कृषि उत्पादनको हवाई मार्गबाट ढुवानी गर्न योजना भारतले सुरु गरिसकेको छ ।
-प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान)
यो त्यस्तो सरकारी योजना हो, जसले साना किसानहरूलाई आर्थिक सहायता प्रदान गर्ने बताइएको छ ।
-डिजिटल कृषि मिसन
कृषिमा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित भारतले ल्याएको मिसन नै डिजिटल कृषि मिसन हो । यसमा भारतले वार्षिक ६०० करोड भारु विनियोजन गरिँदै आएको छ ।
-डिजिटल कृषि मिसन (२०२१-२०२५)
भारतले सेप्टेम्बर २०२१ मा यो योजना अघि सारेको थियो । यसबाट भारतले कृषि क्षेत्रलाई रूपान्तरण गर्न एआई, ब्लकचेन र आईओईटी लगायत अत्याधुनिक डिजिटल प्रविधिमा आधारित परियोजनाहरूलाई प्रोत्साहन र गति दिने लक्ष्य राखेको छ ।
-एम अग्रिकल्चर र एमग्राम बजार
डिजिटल इण्डिया परियोजनाका अन्तर्गतका यी योजनाले कृषिको विस्तार र बजारिकरण गर्न ई-पहुँच दिने भारतले विश्वास गरेको छ । साथै सरकारी सेवाहरू र जीविकोपार्जन सम्बन्धी सेवाहरू प्रदान गर्ने लक्ष्य यी योजना अन्तर्गत रहेका छन् ।
-आईसीटी ई-चौपाल
भौतिक तथा अनलाइन प्लेटफर्महरूको नेटवर्क मार्फत किसानहरूलाई सूचना, ज्ञान र स्रोतहरूमा पहुँच प्रदान गर्ने योजना यसमा राखिएको छ । यसले डिजिटल विभाजन कम गर्ने भारतले लक्ष्य राखेको छ ।
-स्मार्ट ट्रयाक्टर र रोबोटिक्स
कृषि क्षेत्रमा भइरहेको श्रम शक्तिको अभाव टार्न भारतले एआई एकीकृत गरिएको रोबोट र ट्र्याक्टरहरू विकास गरिरहेको छ । यसका लागि स्टार्टअपलाई सहयोग गर्ने जस्ता काम भारतीय सरकारले गरिरहेको छ ।
यी बाहेक पीएम मत्स्य सम्पदा योजना, पूर्वी भारतमा हरित क्रान्ति, परम्परागत कृषि विकास योजना, प्रधानमन्त्री ग्राम सिँचाइ योजना, संसद आदर्श ग्राम योजना, कृषि पूर्वाधार कोष लगायत थुप्रै कार्यक्रमहरू सक्रिय रहेको छ ।
(विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा टेकपानाका लागि सञ्जीवन राईले तयार पारेको सामग्री)
साभार : टेकपाना