इलाम । उपाधि जित्नका लागि न्युरोड टिम (एनआरटी) र झापाको बिर्तामोड युनाइटेड आज शनिबार इलाम गोल्डकपको फाइनलमा भिड्दैछन् ।
इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज दिउँसो हुने फाइनल खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ ।
एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लबलाई पन्साउँदै फाइनल यात्रा तय गरेको हो । उसले क्वार्टरफाइनलमा बाग्मती युवा क्लबलाई पराजित गरेको थियो ।
बिर्तामोड युनाइटेड पाँचथरलाई सेमिफाइनलमै रोक्दै फाइनलसम्म आइपुगेको हो । उसले क्वार्टरफाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
दुवै टिमले फाइनल खेलमा विजयी हुने दाबी गरेका छन् । प्रतियोगिताभरिको प्रदर्शनका क्रममा देखिएको एकअर्का टिमको खेल कौशल र रणनीतिअनुसार आफ्नो रणनीति बनाएर मैदानमा उत्रने दुवै टिमको योजना छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यसैगरी, उपविजेता टिमले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिताका हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई पुरस्कार दिइँदै आएको छ । आयोजक रेडहर्स फुटबल क्लब इलामका अनुसार प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरलगायत विभिन्न विधामा पनि खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ ।